तालढुङ्गा-कामीडाँडा-स्याउरेथली-भन्ज्याङ्ग हुँदै खोपासीसम्मको ६० किलोमिटर पक्कि सडक बन्दै



मोतीराम तिमल्सिना, काभ्रे ।

जिल्लाको विकट क्षेत्र डाँडापारीको खानिखोला गाउँपालिका जोड्ने खोपासी ताल्ढुंगा सडक निर्माणका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय बमागती प्रदेश र खानीखोला गाउँपालिका बीच प्रादेशिक एवम स्थानीय सडक निर्माण तथा सुधार कार्यक्रम कार्यान्वयनका लागि समझलारी पत्रमा हस्ताक्षर गरिएको छ ।

खानीखोला गाउँपालिकाको तालढुङ्गा–कामीडाँडा–स्याउरेथली–भन्ज्याङ्ग हुँदै खोपासी सडक (खोपासी ताल्ढुंगा) आयोजना कार्यान्वयनका लागि तीन पक्ष बीत समझदारी पत्रमा हस्ताक्षर गरिएको हो । चैत्र १ गते गरिएको समझदारी पत्रमा गाउँपालिकाको तर्फबाट अध्यक्ष कृष्णबहादुर खुलाल, प्रदेश सरकारको तर्फबाट यातायात पूर्वाधार निर्देशनालयका निर्देशक डा. सहदेव बहादुर भण्डारी र संघीय सरकारको तर्फबाट स्थानीय पूर्वाधार विकास आयोजना कार्यालयका प्रमुख मोहनराज चापागाईले हस्ताक्षर गर्नु भएको छ । समझदारी पत्रमा तीनै तहले गर्नु पर्ने जिम्मेवारीका बारेमा शर्तहरु राखिएको छ ।

आयोजनाका लागि बार्षिक बजेट सुनिश्चित गर्ने, आयोजना स्वीकृत गर्ने तथा स्वीकृत आयोजना कार्यान्वयन गर्ने, आयोजनाको गुणस्तर कायम गर्न आवश्यक पर्ने मापदण्ड, नम्र्स, स्पेशिफिकेशन तयार गरी लागु गर्ने, कार्यक्रमको नियमित अनुगमन र मुल्यांकन गर्ने, कार्यक्रमको मासिक, चौमासिक, अर्धबार्षिक तथा बार्षिक प्रगति विवरण तयार गर्ने तथा प्रगतिको समीक्षा गर्ने, कार्यक्रमको एकीकृत लेखा तथा आर्थिक विवरण तयार गर्ने लगायतको जिम्मेवारी छ ।

आयोजनाका लागि लागत साझेदारी बापत ब्यहोनुपर्ने रकम कार्यविधि बमोजिम समयमै उपलब्ध गराउने र प्रादेशिक एवं स्थानीय सडक निर्माण सुधार कार्यक्रम संचालन कार्यविधि २०७७ मा नेपाल सरकारले पुरा गर्नु पर्ने भनि तोकिएका कार्य गर्ने समझदारीमा उल्लेख गरिएको छ । प्रदेश सरकार र गाउँपालिकाका बारेमा पनि जिम्मेवारी तोकिएको छ ।

लामो समय पछि ट्रयाक खोलेर वर्षातको समयमा केहि दिन बाहेक निरन्तर सवारी साधन संचालन हुन थालेको उक्त सडक कालोपत्रे सँगै पक्कि बन्ने भए पछि उक्त क्षेत्रको विकास र समृद्धीको सपना पुरा हुने भएको प्रदेश सभा सदस्य चन्द्र लामाले बताउनु भयो । नेपाल सरकारको गाउँपालिका सदरमुकाम जोड़ने मुख्य सडक कालो पत्रे गर्ने योजना अनुसार खोपासी कामिडाडा तालढुङ्गा सडक स्थानीय सरकार, प्रदेश सरकार र सघीय सरकारको (हाललाई साझेदारिमा) पछि (विश्व वैङ्क र एशियाली विकास वैङ्कको )लगानीमा कार्य सम्पन्न हुने गरि ६० किलो मिटर सडक कालोपत्रेको लागि सम्झौता गरिएको प्रदेश सभा सदस्य चन्द्र लामाले बताउनु भयो ।

प्रतिनिधि सभा सदस्य एवम पुर्व मन्त्री गोकुलप्रसाद बासकोटा, बागमती प्रदेश मुख्य मन्त्री डोरमणि पौडेल, पुर्वाधार बिकास मन्त्री रामेस्वर फुँयाल, प्रदेस सभा सदस्य चन्द्र लामा लगायतको अथक प्रयास र खोपासी कामिडाडा ताल्ढुङा सडक निर्माणका लागि पहलकदमी गर्नु भएकोमा खानिखोला गाउँपालिकाले धन्यवाद ब्यक्त गरेको अध्यक्ष कृष्णबहादुर खुलालले बताउनु भयो ।

तत्कालिन नेकपा एमालेको नेतृत्वमा उक्त सडक जिल्ला विकास समिति मार्फत ताल्ढुङ्गा पुर्‍याईएको थियो । नेकपा एमालेले शुरु देखि नै उक्त सडकलाई प्राथमिकतामा राखी कार्य गरिरहेको प्रदेश सभा सदस्य चन्द्र लामाले बताउनु भयो । निर्वाचनको समयमा पनि नागरिकहरुसँग सडक पक्कि बनाउने बाचा गरिएको लामाले बताउनु भयो । सडक पक्कि बनाउन इस्टमेट तथा कुल लागत कति लाग्ने ? भन्ने सर्भे भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्