चार महिनापछि ओली–नेपाल संवाद बालुवाटारको निर्णय धुम्बाराहीमा अडान भेला स्थगित



नेपाल समाचारपत्र, काठमाडौं

नेकपा एमालेभित्र चर्किएको आन्तरिक विवादको समाधान गर्न सोमबार एमाले पार्टी कार्यालय धुम्बाराहीमा बसेको बैठकमा दुवै पक्षले आ–आफ्नो अडान नछाडेकाले सहमति जुट्न सकेन। विभाजनको संघारमा पुगिरहेका बेला पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच भएको वार्तामा प्रधानमन्त्री ओलीले फागुन २८ मा बालुवाटारमा राखेको बैठकको निर्णय खारेज गर्न अस्वीकार गर्नुभएपछि बैठकमा सहमति हुन नसकेको हो।झन्डै दुई घण्टा चलेको बैठकमा नेता नेपालले फागुन २८ मा ओलीले राखेको केन्द्रीय कमिटी विशेष बैठकको निर्णय रद्द गर्न आग्रह गर्नुभएको थियो।

उहाँले पार्टीलाई एकताबद्ध बनाएर लैजाने पक्षमा आफूहरू रहेको बताउँदै विधानविपरीत फागुन २८ गते गरिएको निर्णय फिर्ता हुनुपर्ने माग अगाडि सार्नुभएको थियो। नेपालले गुटको बैठकले गरेको निर्णय पार्टीको निर्णय मान्न नसकिने बताएपछि ओलीले त्यो निर्णय कार्यान्वयनको क्रममा गइसकेको भन्दै कुनै पनि हालतमा खारेज नहुने अडान राख्नुभएको थियो। बैठकमा नेपालले त्यो निर्णय खारेज नभएसम्म मंगलबारको चियापान र चैत ७ गते केन्द्रीय कमिटीको बैठकमा आफूहरू सहभागी नहुने जानकारीसमेत गराउनुभएको छ।प्रतिनिधिसभा पुनस्र्थापित भएसँगै ओली र नेपालबीच चार महिनापछि भएको पहिलो बैठक सकारात्मक नभएको बैठकका सहभागीले बताएका छन्। बैठकमा सहभागी नेता घनश्याम भुसालले भन्नुभयो– ‘हामी जुन अपेक्षाका साथ बैठकमा सहभागी भएका थियांै, त्यो अपेक्षा पूरा भएन। ओलीले पार्टीलाई पूर्ववत् अवस्थामा फर्काएर अगाडि बढ्ने चाहना देखाउनुभएन।’

बैठकमा खानल–नेपाल पक्ष सर्वोच्च अदालतले पार्टीलाई पुरानै अवस्थामा फर्काएपछि त्यति बेलाका कमिटी, पदाधिकारी, जनसंगठन र विभागलाई नै पुनर्जीवित गरी अघि बढ्नुपर्ने पक्षमा थिए।ओलीले २८ फागुनमा आफू निकट केन्द्रीय सदस्यहरूको बैठक राखेर विधान संशोधन गर्नुका साथै नेताहरूको जिम्मेवारी हेरफेर गर्नुभएको थियो। त्यति मात्रै होइन, सोही बैठकले माओवादी केन्द्रका गृहमन्त्री रामबहादुर थापालगायत २३ जना नेतालाई केन्द्रीय सदस्यमा मनोनित गर्नेलगायतका निर्णय पनि गरेकोे थियो। खनाल–नेपाल पक्षले आइतबार नै प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीको उक्त निर्णय पार्टीको विधानविपरीत भएको भन्दै उक्त निर्णयलाई मान्यता नदिन पत्राचार गरिसकेको छ।

यसैबीच सोमबार दुवै पक्षबीच औपचारिक वार्ताको शुरुआत भएको छ। तर शुरूको गाँसमै ढुंगा लागेको छ। खनाल–नेपाल पक्षले ओलीको ठाडो जवाफका कारण वार्तामा सहमति बन्न नसकेको बताएका छन् भने ओली पक्षले भने आवश्यक परे फागुन २८ को निर्णयमा संशोधन गर्न सकिने भन्दै लचिलो रूपमा प्रस्तुत भएको जस्तै देखाएका छन्। ओलीनिकट सचिव युवराज ज्ञवालीले २८ फागुनको निर्णयलाई थप सुधार गर्नुपर्ने भए छलफल गर्दै जान सकिने बताउनुभएको छ। उहाँले बैठकमा वार्तालाई सकारात्मक दिशामा लैजान नेपाल समूहले बोलाएको चैत ४ र ५ गतेको राष्ट्रिय कार्यकर्ता भेला स्थगित गर्न आग्रह गरिएको पनि बताउनुभयो।
सर्वोच्च अदालतले पार्टी ब्युँताएको पाँच दिनपछि नै नवांै महाधिवेशनबाट निर्वाचित महासचिवबाहेक सबै पदाधिकारीको जिम्मेवारी खोस्दै अध्यक्ष ओलीले प्रदेशका इन्चार्जमा नयाँ व्यक्तिहरूलाई जिम्मेवारी दिएपछि आक्रोशित बनेको नेपाल समूहले आफूनिकट केन्द्रीय सदस्य र सांसदहरूसँग परामर्श गरेर चैत ४ र ५ गतेका लागि राष्ट्रिय कार्यकर्ता भेलाको आर्‍यान गरेको हो।

प्रतिक्रिया दिनुहोस्