कलाकारिता अवार्ड र सर्जक सम्मान



हेटौंडा, (नेस)।

कला-संस्कृति हाम्रो पहिचान–यसको संवद्र्धन हाम्रो अभियान भन्ने मूल नाराका साथ थाहा कला केन्द्र मकवानपुर र सिआन पुनस्र्थापना केन्द्रको संयुक्त आयोजनामा सिआन मकवानपुर कलाकारिता अवार्ड तथा सर्जक सम्मान हुने भएको छ।

हेटौंडामा पत्रकार सम्मेलन गर्दै कला केन्द्रको स्थापना दिवसको अवसरमा कार्यक्रम गरिने जानकारी दिइएको हो। कोरोनाका कारण स्थगन भएको अवार्ड जेठ ९ गते प्रदान गरिने आयोजकले जानकारी गराए। कलाकारिताको विकासमा निरन्तर लागिरहेको थाहा कला केन्द्रले मकवानपुरका कलाकारलाई प्रोत्साहन गर्ने उद्देश्यले अवार्ड प्रदान गर्न लागेको केन्द्रका अध्यक्ष सानोबाबु मुक्तानले बताए। उनले कलाकारलाई हौसला प्रदान गर्ने प्रयासस्वरुप ३१ विधामा कलाकारिता अवार्ड र ११ विधामा रिकभरी अवार्ड प्रदान गर्न लागिएको बताए।मकवानपुरमा जन्मिएर राष्ट्रियरूपमा ख्यातिप्राप्त गर्न सफल कलाकारहरु केदार घिमिरे (माग्नेबुढा), विष्णु सापकोटा (हर्केहल्दार), चेतन सापकोटा, राजेन्द्र खड्गी, निता ढुंगाना, लक्ष्मण शेषलगायत कलाकार सम्मानित हुनेछन् भने निष्पक्ष पत्रकारितामा रहेका १२ पत्रकार पनि सम्मानित हुनेछन्।

सिआन पुनस्र्थापना केन्द्र प्रमुख सौजन डीसीले भने– ‘असल समाज निर्माण गर्न युवाको हात छ। तर, युवाहरु लागूऔषध दुव्र्यसनमा फसेका छन्। यस विषयमा जानकारी गराउने उद्देश्यले सेमिनार पनि गर्नेछौं।’कार्यक्रममा तीन क्षेत्रका विधाहरु सम्मानित हुने जनाइएको छ। मकवानपुरमा करिब ५ सयभन्दा बढी कलाकार छन्। उनीहरु अघि बढिरहेको परिप्रेक्ष्यमा कार्यक्रमले कलाकारमा प्रोत्साहन मिल्ने आयोजकको भनाइ छ। कार्यक्रम थाहा नगरपालिकाको पालुङ जेसिज हलमा हुनेछ।

प्रतिक्रिया दिनुहोस्