रोनाल्डोले तोडे पेलेको कीर्तिमान



लन्डन, (एजेन्सी)
इटालियन क्लब युभेन्ट्सका सुपरस्टार क्रिस्टियानो रोनाल्डोले ब्राजिलियन महान् खेलाडी पेलेको कीर्तिमान तोडेका छन् ।
इटालियन सिरी ए लिगअन्तर्गत आइतबार राति युभेन्ट्सले अवे मैदानमा क्याग्लिअरीलाई ३–१ ले हराउँदा रोनाल्डोले खेलको ३२औं मिनेटभित्रै उत्कृष्ट ह्याट्रिक गोल गरेपछि पेलेको कीर्तिमानलाई तोड्न सफल भएको हो । रोनाल्डोले खेलको १०औं, २५औं र ३२औं मिनेटमा गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गरेका थिए ।
योसँगै रोनाल्डोले कुल गोलसंख्या ७ सय ७० पु¥याएको छ । पेलेले आफ्नो नाममा रहेको ७ सय ६७ गोलको रेकर्ड रोनाल्डोले भंग गरेपछि सामाजिक सन्जाल इन्स्टाग्रामर्फत् तत्कालै सन्देश दिँदै रोनाल्डोलाई बधाई दिएका थिए । हाल ३६ वर्ष पुगेका रोनाल्डोले शुरूको क्लब स्पोर्टिङ लिस्बनका लागि ५ गोल गरेका थिए । यस्तै, उनले इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका लागि कुल १ सय १८ गोल गरेका थिए ।
स्पेनिस रियल मेड्रिडका लागि ४ सय ५० गोल गरेका उनले युभेन्ट्सका लागि तेस्रो सिजन बिताइरहँदा ९५ गोल गरिसकेका छन् । यता, पोर्चुगलको राष्ट्रिय टोलीका लागि उनले हालसम्म कुल १ सय दुई गोल गरिसकेका छन् ।

युभेन्ट्सको सहज जित
इटालियन सिरी ए लिगमा युभेन्ट्सले सहज जित निकालेको छ । आइतबार भएको खेलमा युभेन्ट्सले क्याग्लिअरीलाई उसैको घरेलु मैदानमा ३–१ गोलअन्तरले सहजै हराएको हो । अवे मैदानमा युभेन्ट्सको जितमा क्रिस्टियानो रोनाल्डोले शानदार ह्याट्रिक गरे । च्याम्पियन्स लिगबाट युभेन्ट्स आउट भएपछि चर्को आलोचना खेपेका रोनाल्डोले त्यसपछिको खेलमा लगत्तै ह्याट्रिक गोल गरेका हुन् । उक्त ३६ वर्षका रोनाल्डोले मात्रै ३२ मिनेटको बीचमा आफ्नो ह्याट्रिक पूरा गर्दा उनले हेडिङ, पेनाल्टी र देब्रे खुट्टाले गोल गरेका थिए ।रोनाल्डोले खेलको नवौं मिनेटमै जुआन काउडराडोको पासमा हेडिङमार्फत् गोल गरेका थिए । त्यसपछि २५औं मिनेटमा रोनाल्डोले पेनाल्टीमार्फत् दोस्रो गोल गरे । डी–बक्समा रोनाल्डोमाथि क्याग्लिअरीका खेलाडीले फाउल गरेपछि युभेन्ट्सलाई रेफ्रीले सोझै पेनाल्टी दिएका थिए, जसमा रोनाल्डो आफैंले प्रहार गर्दै गोल गरे ।

त्यसपछि खेलको ३२औं मिनेटमा रोनाल्डोले देब्रे खुट्टाले दर्शनीय गोल गरेर टिमलाई ३–० को अग्रता दिलाए । फेड्रिको किइजाले मैदानको तल्लो भागबाट लङ रेन्जमा डी–बक्सको माथिल्लो भागमा दिएको पासमा रोनाल्डोले देब्रे खुट्टाले हानेको कडा प्रहारले जाली चुमेको थियो ।
उक्त खेलमा तीन गोलसँगै रोनाल्डोले सिरी ए लिगमा यो सिजन गरेको गोल संख्या पनि २३ पुगेको छ । उनी अहिले लिगको एकल सर्वाधिक गोलकर्ता हुन् । उनले २३ खेलबाट २३ नै गोल र ५ असिस्ट गरेका छन् । उनीपछि इन्टर मिलानका रोमेलु लुकाकु रहेका छन् ।
पहिलो हाफमा तीन गोल गरेको युभेन्ट्सले दोस्रो हाफमा गोल गर्न सकेन । बरु, खेलको ६१औं मिनेटमा क्याग्लिअरीका जिओभानी सिमोनीले गोल गरेपछि युभेन्ट्सको जित ३–१ मा खुम्चिन पुग्यो । यो जितपछि युभेन्ट्सले लिगका २६ खेलबाट कुल ५५ अंक बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्