विभेदजन्य शब्दले दुखाएका मनहरु



नेपालमा धेरैजसो मानिसले सामान्यरुपमा वा मजाकका रुपमा प्रयोग गरिरहेका शब्दहरु कति पीडादायक र घातक छन् भन्ने हामी अनुमानसमेत लगाउन सक्दैनौँ । यस्ता शब्द झन् धेरै सामाजिक सञ्जालमा भेटिन्छन् । सामाजिक सञ्जालमा पोस्ट गरिएका समाचारमा गरिने कमेन्टहरूको अध्ययन गर्दा सकारात्मक शिक्षा, सुझाव एवं सिर्जनात्मक आलोचनाहरू मात्रै भेटिँदैन, यसमा हाम्रो समाजको सांस्कृतिक स्तर पनि यदाकदा प्रकट हुने गरेको पाइन्छ । नकारात्मक कुराहरू पनि छरपस्ट भएका हुन्छन् ।

सामाजिक सञ्जालमा पहुँच जमाउन सक्ने तपाईं–हामीजस्ता आधुनिक मान्छेले सामन्ती समाजबाट पैंचो ल्याइएको ‘धोती’ भन्ने शब्दको प्रयोग गरेर मधेसी समुदायका हामीजस्तै नेपालीहरूमाथि अपमान गर्नेलाई सरकारले पनि केही गर्न सकेको छैन ।यसले साम्प्रदायिकतामा पनि असर पर्ने समस्या आउन सक्छ । त्यति मात्रै हैन, कसैलाई गाली गर्दा हामी ‘खाते’ भन्छौं भने यो सामन्तवादको अर्को उदाहरण बन्ने गर्छ । हामी कत्ति अमानवीय र दानवजस्ता छौं भन्ने ‘खाते’ शब्दको प्रयोगबाट थाहा हुन्छ । ‘खाते’ भन्ने शब्दको बाहिरी अर्थ सडक बालबालिका भन्ने बुझिन्छ । ती सडक बालबालिका निर्दोष र अबोध छन् । उनीहरू आफ्नो गल्तीले सडकमा पुगेका हैनन्, उनीहरू त्यस्तो हुनुमा प्रौढ मानिसको दोष छ । समाजलाई मानवीय बनाउने हो भने हामीले त खातेलाई माया गर्न सिक्नुपर्छ तर हामी उल्टो व्यवहार गरेर त्यो शब्दलाई अपमान गरिरहेका छौं ।

अहिलेको आधुनिक र सभ्य मानिसले ‘खाते’लाई माया गर्छ । सडकमा भेट्टायो भने केही खानेकुरा दिन्छ । कतिपयले उनीहरूलाई उद्धार गर्ने संस्था नै खोलेका छन् । गरिबलाई र मैलाधैला मान्छेलाई, पैसा नभएका मान्छेलाई खाते भनेर गाली गर्ने चलन चलचित्र कलाकार, नेता र सभ्य भनिएका मानिसहरू नै बढी प्रयोग गरेको पाइन्छ ।त्यति मात्रै होइन, महिलालाई गाली गर्दा प्रयोग हुने अर्को शब्द व्यापक चलेको छ । महिलालाई कुनै कमेन्ट गर्नुप¥यो भने केही पाठकले यो ‘आइमाई भालु हो’ भन्ने शब्द प्रयोग गर्ने गरेको बढी पाइन्छ । यो पदावलीमार्फत कुनै महिलालाई ‘वेश्या’ भन्न खोजिएको हो । त्यो मर्द भनाउँदो पुरुषले के विचार गर्नुपर्छ भने, एकजना महिला ‘वेश्या’ हुनका लागि दुई वा दुईभन्दा बढी पुरुषहरू ‘वेश्या’ हुनै पर्छ । पुरुषविना महिला मात्रै एक्लै ‘वेश्या’ हुन सक्दिनन् । त्यसैले महिलालाई आलोचना गर्दा प्रयोग गरिने यस्तो शब्दले ती महिलालाई हैन, कमेन्ट गर्ने पुरुषको सांस्कृतिक स्तर कति दरिद्र छ भन्ने प्रस्ट हुन्छ । यो शब्द लिंगीय विभेदजन्य हो । यस्ता शब्द प्रयोग गर्नेलाई रोक्न सरकारले पनि दण्डको व्यवस्था गर्नु जरुरी छ ।

सामन्तवादी संस्कृतिले गरिब, दुब्लो, कालो र पिछडिएको मानिसलाई हेप्छ । यो पहिलेदेखि चल्दै आएको हो । यसलाई रोक्न हामी सचेत नागरिक लाग्नुपर्छ । सामन्तवादले उनीहरूलाई गाली र उपमाको विषय बनाउँछ । गरिबहरूलाई खाते भन्ने र ‘राजाको काम छाडी कामीको देवाली’ भन्नेजस्ता दलितलाई हेप्ने नियतले उखान टुक्काहरू सिर्जना गर्ने काम सामन्तवादी साहित्यले पनि गरिरहेको छ । अब हामी सामन्तवादबाट पुँजीवादी सभ्यतातिर उक्लन लागेका बेला यस्ता जातीय, क्षेत्रीय, लिंगीय एवं वर्गीय विभेदजन्य शब्दहरूको प्रयोगबाट पनि बाहिर निस्कनु जरुरी छ ।
– सुरक्षा थापा, पोखरा ।

प्रतिक्रिया दिनुहोस्