सुदूरपश्चिममा डेढ लाख जनालाई कोरोनाविरुद्धको खोप



महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशमा बितेको दुई महिनामा झण्डै डेढ लाख जनालाई कोरोनाविरुद्धको खोप लगाइएको छ । सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार गत माघ र फागुन महिनामा यहाँका नौवटै जिल्लामा एक लाख ४९ हजार ५७९ लाई कोरोनाविरुद्धको खोप लगाइएको हो । पहिलो चरणमा यहाँ कारोना नियन्त्रणमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, शव बाहन र एम्बुलेन्समा खटिने कर्मचारी गरी गत माघ १४ गतेदेखि २४ गतेसम्म १४ हजार ८८५ लाई खोप लगाइएको मन्त्रालयद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

त्यसैगरी फागुन २ देखि १० गतेसम्म सञ्चालन गरिएको खोप अभियानअन्तर्गत यहाँका नौवटै जिल्लाका २३ हजार ४१७ लाई कोरोना विरुद्धको खोप लगाइएको प्रदेश सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्रसिंह कार्कीद्धारा जारी विज्ञप्तीमार्फत जानकारी गराइएको छ । फागु्न २३ देखि २९ गतेसम्म सञ्चालन गरिएको खोप अभियानमा एक लाख ११ हजार २७७ जनालाई खोप लगाएको छ । यहाँ सबैभन्दा बढी कैलालीमा ४० हजार ३०१ जना, कञ्चनपुरमा २४ हजार ८६४, डोटीमा १४ हजार ३५७, बैतडीमा १४ हजार ९६ जनालाई खोप लगाइएको छ ।

त्यसैगरी अछाममा १३ हजार ८०५, बझाङमा १३ हजार ७३५, डडेल्लधुरामा १० हजार ३४०, दार्चुलामा नौ हजार ८८६ र बाजुरामा आठ हजार १९५ लाई खोप लगाइएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका किट नियन्त्रण अधिकृत हेमराज जोशीले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट उपलब्ध खोप यहाँका सबै जिल्लामा लगाइएको बताउनुभयो । “पछिल्लो चरणमा ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई लगाइएको छ” उहाँले भन्नुभयो, “अहिले लगाइएका सबैलाई आगामी वैशाखमा दोस्रो डोज लगाउने भनिएको छ ।”

त्यसैगरी निर्देशनालयले कैलाली, कञ्चनपुर, डोटी र अछाममा कोभिड–१९ को नमूना सङ्कलन सञ्चालन भइरहेको उहाँले जानकारी दिनुभयो । नमूना सङ्कलन गर्दा कैलालीमा तीन र कञ्चनपुरमा आइतबार एक जनालाई कोरोना पोजेटिभ देखिएको जोशीले जानकारी दिनुभयो । “अछाम र डोटीमा नमूना सङ्कलन चलिरहेको छ”, उहाँले भन्नुभयो, “निर्देशनालयले स्वास्थ्यसम्बन्धी अरु नियमित कार्यक्रम पनि अघि बढाएको छ ।”

प्रतिक्रिया दिनुहोस्