ग्लोबल आइएमई बैंकद्वारा डिबेन्चर जारी



काठमाडौं, (नेस) ।

ग्लोबल आइएमई बैंकले चैत १ गतेदेखि ८ दशमलव ५ प्रतिशतको ग्लोबल आइएमई बैंक डिबेन्चर २०८६-८७ निष्काशन गरी बिक्री खुला गरेकोे छ ।बैंकले ३ अर्ब रुपियाँबराबरको एक हजार रुपियाँ प्रतिऋणपत्र अंकित मूल्यका ३० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो ।निष्काशन गरिएको कुल ऋणपत्रमध्ये १ अर्ब ८० करोड रुपियाँ बराबरको १८ लाख कित्ता ऋणपत्र सर्वसाधारण व्यक्तिगत तवरबाट बिक्री गर्नेछ भने बाँकी १ अर्ब २० करोड रुपियाँ बराबरको १२ लाख कित्ता ऋणपत्र सर्वसाधारणलाई बिक्री गर्न लागिएको हो । सर्वसाधारणलाई निष्काशन गरिएको ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ६० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ ।

बैंकद्वारा जारी गरिएको ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम १० लाख कित्तासम्म आवेदन दिन सकिने छ । ऋणपत्र निष्काशन तथा बिक्री छिटोमा चैत ४ गते र ढिलोमा चैत १६ गतेसम्म बन्द हुने गरी तोकिएको छ ।ग्लोबल आइएमई बैंकको यस ऋणपत्रको अवधि १० वर्षको रहेको छ । वार्षिक ८ दशमलव ५ प्रतिशतका दरले अर्धवार्षिक रुपमा ब्याज भुक्तानी गरिने छ । बैंकहरुले मुद्दती निक्षेपमा प्रदान गर्ने ब्याजदर भन्दा प्रस्तावित क्रणपत्रको ब्याजदर अधिक रहेकाले आकर्षक तथा सजिलै बिक्रि हुने अवस्थामा रहेको बैंकले जनाएको छ ।बैंकले ऋणपत्र निष्काशनका लागि गराएको रेटिङमा इक्रा नेपालले बैंकलाई औसत कर्जा जोखिम जनाउने इक्रा इस्युअर रेटिङ ए माइनस प्रदान गरेको छ ।

त्यसैगरी, ऋणपत्रलाई भने कम जोखिम जनाउने इक्रा एलए माइनस रेटिङ प्रदान गरेको छ । सो रेटिङ प्राप्त वित्तीय उपकरणलाई समयमा नै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा पर्याप्त मात्रामा सुरक्षित मानिन्छ ।बैंकले ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा सेञ्चुरी क्यापिटल मार्केट्स लिमिटेडलाई तोेकेको छ । लगानीकर्ताले मेरो शेयरमार्फत अनलाइन र नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त सि आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु एवंम् तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्