म्यान्मारमा सुरक्षाफौजको गोली लागि ३८ प्रदर्शनकारीको मृत्यु



एजेन्सी । म्यान्मारमा सैन्य ‘कु’ विरूद्धको प्रदर्शनमा सहभागीमाथि सुरक्षाफौजले गोली चलाउँदा एकै दिन कम्तीमा ३८ जनाको मृत्यु भएको छ । आइतबार भएको प्रदर्शनमा सुरक्षा फौजले गोली चलाउँदा कम्तीमा ३८ जना प्रदर्शनकारीहरू मारिएको त्यहाँका अभियानकर्मीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

आइतबारको यो घटना फेब्रुअरी १ मा सैन्य ‘कु’ भएयताकै सबैभन्दा घातक भएको एसिस्टेन्स एशोसिएसन फर पोलिटिकल प्रिजनर्स ‘एएपीपी’ले जनाएको छ । एएपीपीका अनुसार मुख्य शहर याङ्गुनको एउटा औद्योगिक क्षेत्रमा भएको झडपमा कम्तीमा २१ प्रदर्शनकारीहरू मारिएका छन् भने अन्यको देशका विभिन्न भागमा मृत्यु भएको छ ।याङ्गुनमा प्रदर्शनकारीहरूले लाठी र छुरीको प्रयोग गरेपछि सुरक्षा फौजले गोली चलाएको दाबी गरिएको छ । प्रदर्शनकारीहरूले एक औद्योगिक क्षेत्रमा चिनियाँ व्यवसायमाथि पनि हमला गरेका छन् । चीनले म्यान्मारको सेनालाई सहयोग गरिरहेको आरोप लगाउँदै प्रदर्शनकारीहरूले चिनियाँ व्यवसायीमाथि हमला गरेका हुन् ।

बेइजिङले फलामे डन्डी, बन्चरो र पेट्रोल बोकेका मानिसहरूले १० वटा चिनियाँ कारखानामा आगो लगाइदिएको जनाएको छ । क्षति पुग्नेमा धेरैजसो लुगा उत्पादन गर्ने कम्पनी र तिनका भण्डारणहरू रहेको जनाइएको छ। एउटा चिनियाँ होटलमा समेत हमला भएको छ । चिनियाँ दूतावासले ‘केही उद्योगहरूमा लुटपाट गर्दै क्षति पुर्‍याइएको र चिनियाँ कामदारहरू घाइते हुनुका साथै त्यहाँ अड्किएको’ जनाएको छ ।दूतावासले म्यान्मारमा रहेका चिनियाँ नागरिक एवम् सम्पत्तिको सुरक्षा सुनिश्चित गर्न’ आग्रह गरेको छ । गत फेब्रुअरी १ मा सेनाले सत्ता हातमा लिएर एक वर्ष संकटकाल लगाए पनि म्यान्मारभरी सामूहिक प्रदर्शन जारी छन् ।

प्रदर्शनकारीहरूले सेनाले सत्ता हातमा लिएपछि नियन्त्रणमा लिइएकी नेत्री आङ सान सू चीसहित निर्वाचित सरकारका नेताहरूलाई रिहाइ र सैनिक शासनको अन्त्यको माग गरिरहेका छन् । गत नोभेम्बर महिनामा भएको चुनावमा धाँधली भएको भन्दै त्यहाँको सेनाले शक्ति हातमा लिएको हो । सो चुनावमा सू चीको दल न्याश्नल डेमोक्र्याटिक पार्टी बिजयी भएको थियो ।

प्रतिक्रिया दिनुहोस्