रियलको संघर्षपूर्ण जित



लन्डन, (एजेन्सी) ।

स्पेनिस ला लिगा फुटबलमा रियल मेड्रिडले संघर्षपूर्ण पुनरागमन जित निकालेको छ ।शनिबार राति भएको जारी सिजनको ला लिगाको २७औं साताको खेलमा रियलले आफ्नो घरेलु मैदानमा पाहुना टोली इल्चेमाथि २–१ को कमब्याक जित निकाल्न सफल भएको हो । रियलको जितमा फ्रेन्च फरवार्ड करिम बेन्जेमा नायक बने । खेलको ६१औं मिनेटमा एक गोलले पछि परेको स्थितिमा बेन्जेमाले दुई गोल गर्दै रियललाई तीन अंक दिलाए ।

पाहुना टोली इल्चेले पहिलो हाफमा घरेलु टोलीविरुद्ध पूरै रक्षात्मक खेलेको थियो । तर, खेलको ६१औं मिनेटमा इल्चेका लागि ड्यानी काल्भोले हेडिङमार्फत् दर्शनीय गोल गरेर घरेलु टोलीलाई ठूलो झट्का दिएका थिए । कर्नर किकबाट आएको बलमा काल्भोले गरेको हेडिङ बारमा लागेर गोलपोस्टको जाली चुमेको थियो ।त्यसपछि, ठूलै दबाबमा परेको रियलका लागि ७३औं मिनेटमा लुका मोड्रिचको पास सदुपयोग गर्दै बेन्जेमाले हेडिङमार्फत् गोल गरेर खेल १–१ बनाए । थपिएको इन्ज्यूरी समयको पहिलो मिनेटमा रियलका लागि बेन्जेमाले नै व्यक्तिगत दोस्रो गोल गरेपछि खेल रियलले २–१ ले जित्यो । रोड्रिगोले दिएको पासमा १६ यार्डबाट बेन्जेमाले लो भलीमा शानदार गोल गरेका थिए । उक्त गोलसँगै बेन्जेमाले ला लिगामा जारी सिजन १५ गोल पूरा गरेका छन् । यो जितपछि रियलले २७ खेलबाट कुल ५७ अंक जोडेको छ । यता, पराजित इल्चे २४ अंक रहेको छ ।

स्पेनिस ला लिगाअन्तर्गत शनिबारै भएको अर्को खेलमा भने एथ्लेटिको मेड्रिड लिगको २७औं साताको खेलमा बराबरीमा रोकियो । एथ्लेटिकोलाई घरेलु टोली गेटाफेले गोलरहित बराबरीमा रोकेको हो । पाहुना टोली एथ्लेटिकोले पहिलो रोजाइका खेलाडी उतारे पनि घरेलु टोलीको रक्षात्मक रणनीतिले सबै आक्रमण विफल बनाइदिएको थियो ।गेटाफे खेलको ७०औं मिनेटमा १० खेलाडीमा सीमित भएको थियो । तर, एथ्लेटिकोले त्यसको फाइदा भने उठाउन असफल रह्यो । गेटाफेका डिफेन्डर अलान नियोनले एथ्लेटिकोका रेनान लोडीमाथि खराब फाउल गरेपछि रेफ्रीले सुरुमा पहेंलो कार्ड देखाएका थिए ।

तर, पछि भिएआरमार्फत् समीक्षा गरेपछि उनको पहेंलो कार्डलाई रद्द गरेर सोझै रातो कार्ड देखाएर मैदानबाट निकालेका थिए । एथ्लेटिकोलाई रोक्नका लागि गेटाफेका गोलकिपरले उत्कृष्ट प्रदर्शन गर्दै चार सशक्त प्रहार रोकेर पाहुना टोलीलाई निराश बनाइदिएका थिए । यो बराबरीपछि एथ्लेटिकोको खातामा २७ खेलपछि कुल ६३ अंक भएको छ ।

प्रतिक्रिया दिनुहोस्