ओली सरकारको विस्थापन माओवादीको मुख्य एजेन्डा पार्टी ब्युँतिएपछि संगठनको लेखाजोखा



काठमाडौं, (नेस) ।

नेकपा माओवादीले केपी शर्मा ओली नेतृत्वको सरकार प्रतिगामी भएकाले विस्थापित गर्नुपर्ने निष्कर्ष निकालेको छ । माओवादीले ओली नेतृत्वको सरकार विस्थापित गरेर नयाँ सरकार बनाउन राजनीतिक दलहरुसँग परामर्श गर्ने निर्णय गरेको हो ।

माओवादीले संयुक्त सरकार गठन गरेर अगाडि बढ्नुको विकल्प नभएको बताउँदै प्रतिनिधिसभा विघटन गर्ने प्रतिगामी सरकार हटाउन पार्टीले भूमिका खेल्ने बताएको छ । बैठकले संविधान निर्माण भएदेखि नै नेपालको संविधान, गणतन्त्र, समावेशी समानुपातिक, धर्मनिरपेक्षता लगायतप्रति असन्तुष्ट विदेशी पक्षले खेलेका कारण नेकपा एकताले पूर्णता नपाउँदै विभाजन हुन पुगेको निष्कर्ष निकालेको छ । बैठकको शुरुमै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान राजनीतिक अवस्थाबारे आफ्नो धारणा राख्नुभएको थियो ।

माओवादी केन्द्रका केन्द्रीय सदस्य श्यामकुमार श्रेष्ठले पार्टीको पहिलो राजनीतिक कार्यभार केपी ओलीको सरकार ढालेर नयाँ सरकार बनाउनेतर्फ पार्टी लाग्नुपर्ने धारणा आएको बताउनुभयो । सरकार गठनमा पार्टीले मात्र कोसिस गरेर नपुग्ने भएकाले प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस जनता समाजवादी पार्टीसँग सहकार्य गरेर अगाडि बढ्नुपर्नेमा जोड दिएको छ ।बैठकमा ५ हजारभन्दा बढीको जम्बो केन्द्रीय कमिटी आवश्यक नरहेकोमा जोड दिँदै नेताहरुले नेताहरुले विधि, पद्धति पालना गर्ने पार्टी बनाउनुपर्ने सुझाव दिएका थिए ।

बैठकमा प्रदेश इन्चार्जहरुले पूर्ववत् पार्टीमा फर्किँदा संगठनमा क्षति पुगेको प्रारम्भिक रिपोर्ट पेस गरेका छन् । आइतबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकमा नेताहरुले गरेको रिपोर्टिङअनुसार लुम्बिनी र प्रदेश २ मा बढी क्षति भएको तथ्यांक पेस गरेका छन् । बैठकमा नेताहरुले नेता बलियो भए पनि संस्थागत संरचना लथालिंग हुने हालको अवस्था सुधार गर्न नेतृत्वलाई सुझाव दिएका छन् । साविकको एकीकृत नेकपा माओवादीको हेटौंडा महाधिवेशनको निष्कर्षलाई अहिलेको सन्दर्भमा थप व्याख्या गरेर अगाडि बढ्नुपर्नेमा नेताहरुले जोड दिएका छन् ।

पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले केन्द्रीय कार्यालय र प्रदेशकातर्फबाट रिपोर्टिङ भएको बताउँदै संगठनात्मक काम, पार्टीको विधान परिमार्जन, राष्ट्रिय भेला र विविधअन्तर्गतको कार्यसूचीअनुसार छलफल शुरु भएको जानकारी दिनुभयो । आइतबारको बैठक प्रदेशका इन्चार्जहरुले प्रदेशको अवस्थाको बारेमा रिपोटिङ गरेका थिए । प्रवक्ता श्रेष्ठका अनुसार आजबाट केन्द्रीय सदस्यहरुले आफ्नो धारणा राख्ने कार्यसूची रहेको छ ।

प्रतिक्रिया दिनुहोस्