कांग्रेस र माओवादीसँग सघन छलफलमा जसपा जनता समाजवादीको आफ्नै दाउ



मधुसूदन रायमाझी, काठमाडौं ।

सत्तारुढ दल नेकपा एमालेभित्रको विवाद उत्कर्षमा पुगिरहेको बेला तीन दलबीच नयाँ सरकार गठनको गृहकार्य पनि अगाडि छ । नेकपा एमालेका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीसँग एक चरण छलफलअगाडि बढाएको जनता समाजवादी पार्टीले तीन दिनयता प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रसँगको संवादलाई संघनरुपमा अगाडि बढाएको छ ।

नेकपा एमाले र जसपाबीच सत्ता साझेदारीका लागि चार सदस्यीय कार्यदल गठन गरे पनि जसपाका नेताहरु भने कांग्रेस र माओवादी केन्द्रसँग नजिक बनेका छन् । जसपाका नेताहरुले पहिलो आफ्नै नेतृत्वमा सरकार गठन गर्नुपर्ने सर्त अगाडि सारेका छन् । जसपाका अध्यक्ष महन्त ठाकुर प्रधानमन्त्री केपी शर्मा ओलीसँग सहकार्य गरेर अगाडि बढ्ने पक्षमा रहे पनि अर्को अध्यक्ष डा. बाबुराम भट्टराई र उपेन्द्र यादव भने कांग्रेस र माओवादी केन्द्रसँग मिलेर सरकार गठन गर्नुपर्ने पक्षमा लागेका छन् ।केपी ओली नेतृत्वको सरकारलाई नै निरन्तरता दिनका लागि एमालेले पनि जसपाका नेताहरुसँगको संवादलाई निरन्तरता दिँदै आएको छ । नेकपाका एक नेताले जसपाले राखेको माग यही सरकारले मात्र पूरा गर्न सक्ने भएकाले सरकारमा सहभागी हुने दाबी गरे ।

उनले भने– ‘जसपाको अधिकांश माग पूरा गर्न प्रधानमन्त्री ओली सकारात्मक हुनुहुन्छ, माग पूरा भएपछि जसपा सरकारमा सहभागी हुन्छ, यही सरकारले निरन्तरता पाउँछ ।’जसपाले सांसद रेशम चौधरीसहितका नेताकार्यकर्ताको रिहा, झुटा मुद्दा फिर्ता, संविधान संशोधनलगायतको सर्त अगाडि सारेको छ । सत्तारुढ दल एमाले र सरकारबाहिर रहेको कांग्रेस र माओवादीसँग निरन्तर परामर्श गरे पनि कसलाई समर्थन गर्ने भन्ने विषयमा जसपाभित्र नै दुई धार देखिएको छ । महन्त ठाकुर ओलीलाई साथ दिने नीतिमा रहनुभएको छ भने भट्टराई र यादव कांग्रेस र माओवादीसँग मिलेर अगाडि जानुपर्ने नीतिमा रहनुभएको छ । जसपाले एमालेले साथ नदिएको अवस्थामा कांग्रेस र माओवादीसहितको सरकार गठन गर्न जसपा नै निर्णायक शक्ति हुनेछ ।

जसपाका नेता महेन्द्र राय यादव एमालेसँग भन्दा पनि नयाँ सरकार गठनका लागि कांग्रेस र माओवादी केन्द्रसँग सघनरुपमा छलफल अगाडि बढेको बताउनुहुन्छ । उहाँले भन्नुभयो– ‘प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री ओलीलाई साथ दिन सकिँदैन, यसपटक सके हाम्रो नेतृत्वमा सरकार बनाउँछौं, नसके कांग्रेस र माओवादीसँग मिलेरै संयुक्त सरकार बन्छ ।’जसपा र एमालेबीच गठन गरिएको वार्ता टोलीको कुनै औचित्य नभएको बताउँदै जसपालाई एकपटक सरकारको मौका दिन कांग्रेस र माओवादीसँग आग्रह गरेको बताउनुभयो । ‘कांग्रेस र माओवादीसँग मिलेर सरकार बनाउने अहिलेको जनादेश हो, तीन दलबीच संयुक्त बैठकको तयारी भइरहेको छ, अब बस्ने तीन दलको बैठकले एउटा निष्कर्ष निकाल्छ, त्यहीअनुसार सरकार गठनको प्रक्रिया अगाडि बढछ।’ –उहाँले भन्नुभयो । उहाँका अनुसार एक साताभित्र राष्ट्रिय राजनीति कतातिर जाने टुंगो लाग्नेछ ।

प्रतिक्रिया दिनुहोस्