सिन्धुली अस्पतालको २१ करोड लागतमा सुविधायुक्त भवन धमाधम निर्माण हुँदै



बुद्ध नेपाली, सिन्धुली ।

कुल एक सय शैयाँ क्षमताको सिन्धुली अस्पतालको नयाँ अत्याधुनिक सुविधा सम्पन्न भवन धमाधम निर्माण भईरहेको छ । संघिय सरकारको भ्याट बाहेक कुल २१ करोड ७० लाख २५ हजार रुपैयाँ लागतमा निर्माण सुरु भएको भवन निर्माण कम्पनी हुनमान कन्ट्रक्सन ललितपुरले भ्याट सहित २६ करोडमा ठेक्का लिएर धमाधम निर्माण गरिरहेको छ ।

साढे दुई बर्षमा निर्माण सम्पन्न गर्ने गरी हुनमान कन्ट्रक्सनले २०७६ साल चैत ७ गते सम्झौता गरेपनि कोरोना भाईरस(कोभिड १९)का कारण २०७७ भदौंबाट मात्रै भवन निर्माणको काम सुरु भएको हो । चार वटा ब्लकमा निर्माण हुने साढे दुई तालाको भवनको जग निर्माणको काम करिब ४० प्रतिशत सकिएको हुनमान कन्ट्रक्सनका साईड ईन्जिनियर सनम बिष्टले जानकारी दिनुभयो ।‘ चार वटा भवन मध्ये अहिले तीन वटा भवनको काम भईरहेको छ । यो तीन वटाको फाउण्डेशनको काम लगभग ४० प्रतिशत सकिएको छ ।’ उहाँले भन्नुभयो ।

दुई हजार बर्गमिटरमा फैलिने अस्पताल भवन निर्माण सम्पन्न पश्चात दुई वटा लिफ्ट, सबै कोठाहरुमा अक्सिजन पाईप, मिनी अपरेशन थेटर, मेजर अपरेशन थेटर, माईनर सर्जरी, मेजर सर्जरी सहितको सुविधा उपलब्ध हुने सिन्धुली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रलाद पोखरेलले बताउनुभयो ।‘ अवको दुई बर्ष पछाडी सिन्धुली जिल्लाले स्वास्थ्य क्षेत्रमा कायपलट नै गर्छ ।

स्वास्थ्य उपचारकै लागि सिन्धुलीका कुनै पनि नागरिकहरुले काठमाडौं लगाएत अन्यत्र ठाउँ धाउनै पदैन ।’ उहाँले भन्नुभयो । अस्पतालको पुरानो संरचनाहरु भत्काएर धमाधम नयाँ भवन निर्माण भईरहेको छ । नयाँ भवन बनाउन पुरानो भवन भत्काए पछि अस्पतालको सेवा अहिले ट्रष्टको भवन बनाएर त्यहीबाट नागरिकलाई सेवा दिईएको छ ।

‘ठाउँ अभावमा छुट्टाछुट्टै ठाउँमा साना साना ट्रष्टको भवन बनाएर नागरिकलाई सेवा दिईरहेका छौं । ल्याब, ओपिडी, एमरजेन्र्सी लगाएतका सेवाहरु छुट्टाछुट्टै ठाउँबाट दिनुपर्दा विरामीलाई केही झन्झट भएको छ । तर यो समस्या पनि केही दिनमा अर्को भवन निर्माण सकिएपछि हल हुनेछ ।’ अध्यक्ष पोखरेलले भन्नुभयो ।

२०३५ सालमा १५ शैयाबाट सेवा दिन सुरु भएको सिन्धुली अस्पतालमा अहिले १८ जना डाक्टरहरुले विषेशज्ञ सेवा दिईरहेको उहाँले बताउनुभयो । सिन्धुली अस्पतालमा अहिले छाला, आखाँ, बच्चा, महिला, एमडीजीपी, हड्डी लगाएतका विषेशज्ञ डाक्टरहरुले सेवा दिईरहेको उहाँको भनाई छ । सिन्धुली अस्पताल निकट भबिष्यमै जर्नल अस्पतालको रुपमा विकास गर्नका लागि सिफारिस भईसकेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्