चेम्बर अफ कमर्सको तदर्थ समिति गठन



काठमाडौं, नेस। 

वीरगन्जमा चेम्बर अफ कमर्सको तदर्थ समिति गठन भएको छ । मनोज उपाध्यायको संयोजकत्वमा नौ सदस्यीय तदर्थ समिति गठन गरिएको हो । समितिका सदस्यहरूमा मुकेश अग्रवाल, विकास अग्रवाल, रविकुमार, विशाल कर्नानी, पारस अग्रवाल, शम्भु अग्रवाल, विशाल पटवारी, अमित मस्कारा रहनुभएको छ ।नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले व्यावसायिक हकहित तथा आर्थिक समृद्धिका लागि एकजुट भएर लाग्न व्यवसायीलाई आग्रह गर्नुभयो ।

नेपाल चेम्बर अफ कमर्सले ७०औं वार्षिकोत्सव मनाइरहेको सन्दर्भमा मुलुकको आर्थिक विकासमा निजी क्षेत्रको भूमिका उल्लेखनीय रहेको उहाँले बताउनुभयो । ‘सरकारले अघि सारेको समृद्ध नेपाल सुखी नेपाली’ अभियानको हामी सारथी हौं,’ अध्यक्ष श्रेष्ठले भन्नुभयो–‘यो यात्रामा हातेमालो गर्दै अघि बढ्न चाहान्छौं ।’त्यस्तै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले हरिवन चेम्बर अफ कमर्स, सर्लाहीको भवन शिलान्यास गर्नुभएको छ । श्रेष्ठले चार आना जग्गामा बन्न लागेको हरिवन चेम्बरको भवन शिलान्यास गर्नुभएको हो ।

हरिवन चेम्बरका महासचिव टिआर लुइँटेलले चन्दा संकलनलगायतबाट भवन निर्माण सम्पन्न गरिने बताउनुभयो । हरिवन चेम्बरले प्रथम साधारण सभाबाट नयाँ कार्यसमिति चयन गरी पदस्थापन तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न गरेको छ । हरिवन चेम्बरले ३६ सदस्यीय कार्यसमिति चयन गरेको छ । हाल यसमा २८४ जना सदस्य छन् ।यस्तै महोत्तरी चेम्बर अफ कमर्सको नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई अध्यक्ष श्रेष्ठले प्रमाणपत्र वितरण गर्नुभयो । बर्दिवासमा आयोजित कार्यक्रममा नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई उहाँले प्रमाणपत्र वितरण गर्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस्