स्याउको बिरुवाले बजार पाएन



मुगु, (नेस) । 

जिल्लामा स्याउका बिरुवा उत्पादन बढे पनि माग कम हुँदा कृषकले बिरुवा बारीमै थन्क्याउनु परेको छ ।मुगुको स्याउ पकेट क्षेत्र ताल्चा, बाम, रोवा, कालापाल्तका कृषकले यो वर्ष उत्पादन गरेको रेड डेलिसियस, इटालियन फुजी, रोयल डेलिसियस, रोयल गोल्डेन, जोनाथन काले, पोलिनाइजर भाले जातका स्याउका बिरुवा बिक्री नहुँदा लाखौं मूल्यका बिरुवा खेर जाने अवस्थामा पुगेका छन् ।

वर्षभरिको लगानी र मेहेनत खेर जाने अवस्था आएपछि किसानले कृषिमा सहुलियत र अनुदानका कार्यक्रम ल्याउन सरकारसँग माग गरेका छन् । गत वर्ष बिरुवा कम थिए, माग बढी भयो । यो वर्ष स्याउका बिरुवा वितरण गर्ने कार्यक्रम कम हुँदा बारीमा बिरुवा बढी छन् । स्थानीय छायाँनाथ रारा नगरपालिका–५ मा रहेको रितु नर्सरी फार्मका सञ्चालक मणिचन्द्र भामका अनुसार सयपटक १ लाख ७० हजार रुपियाँका बिरुवा मात्रै बिक्री भएका छन् । तीन वटै तहका कृषिसम्बन्धी काम गर्ने योजना कृषकमुखी नभएका र पार्टीका कार्यकर्तामुखी योजना कार्यान्वयन गरिँदा गरिखाने कृषकलाई समस्या परेको भामको गुनासो छ ।यस वर्ष जिल्ला कृषि विकास कार्यालय मुगुले स्याउका बिरुवा उत्पादन गर्ने कृषकको सूचीकृतका लागि माग गर्दा स्याउ बिरुवा उत्पादन गर्ने ७ वटा नर्सरीबाट मात्र उत्पादन गरिएका ७२ हजार १ सय ६० बिरुवा उत्पादन भएका छन् ।

मुगुमा रहेका कृषिसम्बन्धी काम गर्ने सरकारी, गैरसरकारी निकायका वार्षिक कार्यक्रमअनुसार आरसिडिसी मुगुको २६ हजार स्याउका बिरुवा र कृषि विकास कार्यालयले ६ हजार ५ सय गरी ३२ हजार ५ सय बिरुवा मात्र खपत हुनेछन् । बाँकी ३९ हजार ६ सय ६० बिरुवा खेर जाने अवस्था रहेको जिल्ला कृषि विकास कार्यालयको तथ्यांकले देखाएको छ ।मुगुमा स्याउका बिरुवा उत्पादन बढी भए पनि कृषकले सरकारले तोकेअनुसारको मूल्य पाएका छैनन् । सरकारी मूल्यअनुसार प्रत्येक बिरुवाको रकम ७० रुपियाँ रहे पनि कृषि विकास कार्यालयको तथ्यांकमा ६० रुपियाँ मात्र निर्धारण गरिएको छ ।सरकारले एकातर्फ कम मूल्य निर्धारण गरिदिएको छ भने अर्कोतर्फ कृषकले त्यो मूल्य पनि नपाउने अवस्था देखिएको सागर हिउँदे फलफूल नर्सरी फार्मका सञ्चालक बाचे कामीले बताउनुभयो । उहाँका अनुसार मुगुका नागरिकको मुख्य पेसा कृषि हो ।

तर, सरकारी कार्यालयले आफ्नै तवरबाट स्याउका बिरुवाको दररेट निर्धारण गर्दा नबिकेर कृषकका बिरुवा नर्सरीमै थन्किएका छन् । कृषि कार्यालयले आफैं दररेट तोकेपछि स्याउ कृषकका लाखँंै मूल्य बराबरका स्याउका बिरुवा खेर गएका छन् ।कृषि विकास कार्यालय मुगुका बागवानी शाखा प्रमुख दुर्गाबहादुर शाहीका अनुसार विगतका वर्षमा स्याउका बिरुवा उत्पादन गर्ने कृषक न्यून थिए । स्याउका बिरुवाको माग पनि बढी हुने र खपत पनि बढी हुने गरेको थियो,’ उहाँले भन्नुभयो–‘यस वर्ष स्थानीय सरकार र अन्य संघसंस्थाको स्याउका बिरुवा बिक्री वितरण कार्यक्रम कम भएको हुँदा उत्पादन बढी भएपछि प्रतिस्पर्धा हुँदा कृषकले सरकारी दररेट अनुसारको मूल्य नपाएका हुन् ।’

प्रतिक्रिया दिनुहोस्