आयोजकलाई फुटबल उपाधि



हेटौंडा, (नेस) । 

पूर्वी मकवानपुरको बागमती गाउँपालिकामा सम्पन्न खुला नकआउट फुटबल प्रतियोगितामा उपाधि आयोजक ग्रामीण बहुउद्देश्यीय समाज नेपाल ज्यामिरेले जितेको छ ।

बागमती—४, झुरझुरे खेलमैदानमा भएको फाइनलमा करौंचे युवा क्लब बागमतीलाई आयोजकले ५–१ गोलअन्तरले स्तव्ध पार्दै उपाधि चुमेको हो । योसँगै विजेतालाई १ लाख र उपविजेतालाई ५० हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।
पहिलो हाफमा करौंचेका खेलाडीले डीबक्समा बल हातले छुँदा आयोजकले पेनाल्टी पाएको थियो । आयोजकका जनक कार्कीले ३३औं मिनेटमा पोनाल्टीमा गोल गर्दैै खेललाई अगाडि बढाएका थिए । ४५औं मिनेटमा आयोजकका पोपनाले थप गोल गर्दै अग्रता दोब्बर पारेका थिए ।

आयोजककै लुइस बिडारीले ५०औं मिनेटमा तेस्रो गोल गरेका थिए भने आयोजककै पोपनाले ५४औं मिनेट र ५८औं मिनेटमा गोल गर्दै करौंचेलाई ५–१ को भारी गोलअन्तरले हराएको हो । ७२औं मिनेटमा करौंचेले सान्त्वना गोल गरेको थियो ।खेलमा आयोजकका जनक कार्की म्यान अफ दी म्याच घोषित भए । बलिदान शहीद स्मृति युवा क्लबका बुद्ध बल हाइस्कोरर घोषित भए भने आयोजकका प्रभाव पुलामीमगर उदीयमान खेलाडी घोषित भए । करौंचे युवा क्लबका दीपेश घले सर्वोत्कृष्ट घोषित भए ।

प्रतिक्रिया दिनुहोस्