कांग्रेसकै नेतृत्वमा नयाँ सरकार:आङदेम्बे



लीला सुनुवार, ओखलढुंगा ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा अनुशासन समितिका संयोजक भिष्मराज आङदेम्बेले नयाँ सरकार बन्ने परिस्थिति निर्माण हुँदा कांग्रेसले नै नेतृत्व गर्ने बताउनुभएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली उत्तर कोरियाका किम जोन जस्तो तानाशाह बन्ने बाटोमा लागेकाले विस्थापन अत्यावश्यक भएको उहाँको भनाइ छ । प्रेस युनियन ओखलढुंगाले सदरमुकाम ओखलढुंगामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले प्रधानमन्त्री ओली लोकतन्त्रको आडमा एक दलीय तानाशाह बन्ने अभ्यासमा लागेको आरोप लगाउनुभयो ।उहाँले भन्नुभयो– ‘संविधानमाथि अतिक्रमण गरेर एमाले पार्टी घरभित्रै सकाउन खोज्ने ओलि प्रवृत्ति एक दलीय तानाशाही हो ।’सरकार बनाउन कांग्रेसले अरुलाई साथ दिन नहुने भन्दै प्रमुख प्रतिपक्षी दल भएकाले देउवा प्रधानमन्त्री हुने स्पष्ट भए मात्रै सत्ता समीकरणमा सहभागी हुने प्रस्ट पार्नुभयो । कांग्रेसले मात्रै अहिले भत्किएको स्थिति सही बाटोमा ल्याउने उहाँको दाबी छ ।

नेता आङदेम्बेले नेकपा विवाद निरुपणमा निर्वाचन आयोगको भूमिकाप्रति लक्षित गर्दै आयोग कम्युनिस्ट पार्टीको स्कुल विभागजस्तो बनेको आरोप पनि लगाउनुभयो । ओली प्रवृत्तिले लोकतन्त्र र लोकतान्त्रिक संरचनाहरु धरापमा परेकाले ओलीको विकल्पमा नयाँ सरकार आवश्यक रहेको उहाँको तर्क छ । जनता समाजवादी पार्टीको नागरिकता, रेशम चौधरी रिहाइलगायतका माग सत्ता समीकरणमा शर्तका रुपमा स्वीकार गर्न नहुने भन्दै आङदेम्बेले कांग्रेस सत्ता समीकरणमा सहयोगी होइन, नेतृत्व गर्ने अवस्थामा मात्रै सरकार चलाउन तयार हुने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्