अब कस्तो सरकार छान्ने जनताले ?



बालकृष्ण मैनाली

देशमा दलीय राजनीतिले जब–जब वर्चश्व कायम गर्न खोज्छ तब–तब समय र परिस्थितिजन्य अवस्था अथवा ‘कम्फर्टेबल’ सरकारको खोजी गर्ने विधिअनुसार विविध विशेषताहरुले घर गर्दै जानु देशको नियति बन्न पुगेको छ । यो आलेखकर्ता आईए पढ्दाको अवस्थामा नेपाल परिचय भन्ने किताब पढ्नुपथ्र्यो । त्यो किताबमा बहुदलीय व्यवस्था असफल हुनाका महत्वपूर्ण कारणहरुमध्ये दलीय स्वार्थ हाबी भएको भनेर एउटा कारण झुन्ड्याइको थियो । यो विषय पढाउने प्राध्यापकलाई अति महत्वका साथ पढाउन निर्देशन गरिन्थ्यो । प्रत्येक परीक्षामा नेपालमा बहुदलीय व्यवस्था असफल हुनुको कारण के हो ? प्रश्न अनिवार्य सोधिन्थ्यो । यससम्बन्धी प्रश्न साँच्चै भन्ने हो भने परीक्षा हुनु एक वर्षअगाडि नै विद्यार्थीहरुका हात–हातमा पुगिसक्थ्यो भन्दा फरक पर्दैनथ्यो ।

प्रायः राजनीतिमा सहभागी भैरहने विद्यार्थीले यसलाई कण्ठै पारेका हुन्थे । किनभने सोधिने पाँचवटा प्रश्नहरुमध्ये बहुदल असफल हुनुका कारण के–के हुन् भन्ने प्रश्न अनिवार्य सोधिन्थ्यो । २० नम्बरको यो प्रश्नमा १५ देखि १८ नम्बरसम्म प्रायः विद्यार्थीले प्राप्त गर्दथे । बहुदलीय व्यवस्था पुनरागमन नहोस् भनेर त्यति बेलाका शासकहरुद्वारा नजानिदो किसिमले चालिएको रणनीति थियो त्यो ।वर्तमानमा देशको अवस्थालाई मध्यनजर राख्दा देशमा यस्तै अवस्था केही अवधि कायम रहिरहने हो भने भविष्यमा देशमा संघीयता असफल हुनुका कारणहरु, बामएकताले काम गर्न नसक्नाका कारणहरु, एकता भएको तीन वर्षपछि टुक्रिनाका कारणहरु, एकता टुक्र्याउनका लागि त्यति बेलाका न्यायपालिका, कार्यपालिका र व्यवस्थापिकाको भूमिका आदि सहायक शीर्षकहरु समावेश गरी नेपालमा कम्युनिस्ट आन्दोलनको पछिल्लो विफलता भन्ने मूल शीर्षकको किताब कलेजको पाठ्यक्रममा समावेश भएको परिस्थिति निम्तिन अब धेरै समय कुर्नुपर्दैन ।
देशका प्रधानमन्त्रीदेखि लिएर जिम्मेवार मन्त्रीहरुसम्ममा अनि सहोदर राजनीतिक अंशियारहरुका सदस्यहरु के बोल्न हुन्छ वा के बोल्न हुँदैन भन्नेसम्म नसोची मनमौजी किसिमले जे बोल्न पायो त्यही बोलिरहेका छन् । विद्यार्थीको दीक्षान्त समारोहमा विश्वविद्यायलकै गाउन पहिरिएर प्रमुख अतिथि बनी पुगेका शिक्षामन्त्रीले देशमा शिक्षाको प्रगति र विकासबारे कुरा गर्छन् होला, निःशुल्क शिक्षाको लागि आपूmले गरेको प्रगति सुनाउने होलान् भन्ने लागेको थियो ।

तर विश्वविद्यालयको गाउनमा सुशोभित भएर दीक्षान्त समारोह मनाइरहेका प्राध्यापक र विद्यार्थीमाझ शिक्षामन्त्रीले भाषण गरे, ‘ढुक्क हुनुहोस्, प्रधानमन्त्रीले राजीनामा दिँदैनन्, कसैले राजीनामा दे भनेर दिने हो ? अदालतले बनाएको सरकार हो ? केपी ओली इज द केपी ओली, पेलेजस्तै हो प्रधानमन्त्री ।’ उनले आफ्नो राजनीतिक भाषणलाई नै मुढेबलद्वारा स्थापित गर्न खोजेको परिदृश्यले भविष्यको सुन्दर सपना बोकेर अगाडि छलाङ मार्दै गरेका विद्यार्थी र तिनलाई प्रशिक्षित गर्ने शिक्षक तथा प्राध्यापकहरुले के अनुभूति गरे होलान् ? आयोजक स्वयंले नै पनि कति लज्जाबोध गरे होलान् ? जनजनले सकेसम्म सबै मिलेर सरकार चलाऊ भनी सबैलाई सरकार चलाउने सुविधा पनि दिए । सबै मिलेर सरकार चलाउन गाह्रो भयो भनेर बहुमतको सरकार माग्दा बहुमतको सरकार पनि दिए । बहुमतको भएन, दुई तिहाइको लेऊ भने, त्यो इच्छा पनि पु¥याइदिए । अब कस्तो सरकार चाहिएको हो ? अब बोल्ने क्रममा जुन नेताले बोले पनि अब कस्तो सरकार चाहियो, को–को प्रधानमन्त्री र राष्ट्रपति हुने वा बनाउन सक्ने सरकार चाहियो ? अबदेखि आफ्नो भाषण र बोल्ने क्रममा त्यो पनि भन्ने गर, किनकि जे गरे पनि जनजन हाम्रै मुठीभित्रका हुन् भन्ने भ्रमको निरन्तरता अभैm तिमीहरुमा छ भन्ने जनजनको व्यङ्ग्यात्मक आक्रोश सतहीमा देखा पर्न थालिसकेको छ ।देशमा बेथितिका डङ्गुर यति छन् कि त्यसलाई सफा गर्न मात्र कम्तीमा एक वा दुई कार्यकाल कांग्रेस, कम्युनिस्ट वा अन्य कुनै दलीय नाम भिरेको सरकार नभई ‘बेथितिका डङ्गुर सफाइ गर्ने सरकार’ नामको स्वतन्त्र सरकारको आवश्यकता परिसकेको छ । यसको आगि ‘मतदातालाई सम्झाऊ र बुझाऊ’ नामको आन्दोलनको आवश्यकता छ । शहरमा मात्रै होइन, गाउँगाउँ, घरघर पुग्नुपर्छ यो आन्दोलन ।

आफ्नो घर हुँदाहुँदै पनि घर नभएको देखाई राज्यकोषबाट घरभाडा असुल्ने मन्त्रीहरु र सांसदहरु अनि सम्बन्धित मन्त्रालय वा विभाग वा सरकारी कार्यालयको कुपनबाट गाडीमा तेल पनि भर्ने अनि तेलबापतको रकम बुझी खल्तीमा पनि हाल्नेदेखि लिएर ओम्नी, यती, वाइडबडीलगायत अन्य ठूला–ठूला घोटाला काण्डहरुको वास्तविकता जनसमक्ष ल्याई दोषीलाई कानुनी कठघरामा उभ्याएर राज्यको अपचलन भएको स्रोत असुलउपर गर्नमा एक वा दुई कार्यकाल लाग्छ । यस्तो कार्य गर्न चाहने सरकारको आवश्यकता देशमा छ । यस्तो सरकार बनाउन भूमिका खेल्नको लागि मतदातालाई जागरुक बनाउने खालको आन्दोलनको औचित्य र आवश्यकता छ । देशलाई आजको यो दूरवस्थासम्म ल्याइपुर्‍याउन भूमिका खेल्ने तर केही लाज–सरमचाहिँ भएका कर्मचारी र जनप्रतिनिधिहरुले कम्तीमा आपूmमाथि आरोप लागेपछि लाजले भुतुक्क हुँदा राजीनामा दिएर युवा पुस्तालाई स्थान छोडी, राजनीति वा आफ्नो सेवाबाट संन्यास लिई, राजनीति शुद्धीकरणतिर पाइला चल्लान् भन्ने केही–केही जनको विश्वास थियो, जुन कल्पना गर्न नहुने विश्वास थियो । किनभने त्यस किसिमका आरोपितबाट विभुषित हुँदा आरोपितहरु कसैलाई पनि लज्जा, ग्लानी भएको बोध भएन । ती आरोप लागेका समाचारहरु अरु जनको घरघरमा पुगेजस्तै आरोपितहरुको घरघरमा, डेराडेरामा, क्वाटर–क्वाटरमा बिहान सखारै नपुगेकाचाहिँ होइनन्, पुगेका थिए । तर बिहानीको निद्रा नपुगेको बहानामा ती समाचारहरुको सिरानी बनाएर आरोपीहरुबाट लाज पचाएरै भए पनि सुत्ने काम भयो ।

विभिन्न कालखण्डमा कठोर संघर्षहरुबाट खारिएका नेताहरु निर्वाचनमार्पmत राष्ट्रको महत्वपूर्ण पदमा आसीन भएपछि कम्तीमा आफ्ना संघर्षका ती दिनहरुलाई सम्झेर संघर्षका बेला अपनाइएका आचरण, अनुशासन पद्धति, चाडपर्वप्रति लक्षित व्यवहार अनि राजा–रजौटाले अपनाएका ढर्राहरुका विपक्षमा आपूmले दर्शाएका विरोधी भावनाहरुलाई कायमै राखी राजनीतिक परिवर्तनका संवाहककै रुपमा व्यवहारहरु प्रदर्शित हुने अपेक्षा गरिएको थियो । दुर्भाग्य नै मान्नुपर्दछ, जनमतले अपेक्षा गरेभन्दा धेरै नै फरक शैलीमा नेताहरु तथा मन्त्रीहरुको व्यवहार प्रस्तुत हुन पुग्यो, जुन धेरै विषय नचाहँदा नचाहँदै पनि आलोच्यको विषय बन्न पुग्यो । भ्रष्टाचार र पद खोसाखोसको प्रतिस्पर्धामा बिताइएको अनमोल तीन वर्षको अवधि सित्तै खेर गयो । खेर फालिएको तीन वर्षभित्र भएका फरक–फरक सार्वजनिक सभा–समारोहमा पूर्व–दुई तिहाइवाला नेता तथा मन्त्रीहरुले ‘देशको गाडीलाई विभिन्न गियरमा राखी दौडाउँदै विकासको गन्तव्यमा पुर्‍याएर छाड्ने’ भनी गरेको अठोट र प्रतिबद्धता ढोंग मात्रै थियो भन्ने कुरा आज आएर आफैले प्रमाणित गरिदिए ।

पूर्व दुई तिहाइधारीहरुलार्ई त्यति बेलै केही सुझावहरु आएका थिए । तीमध्ये केही सुझाव यस्ता थिए– ‘कुनै पनि गियरलाई राम्रो र चिल्लो बनाउँदैमा त्यो मजबुत हुँदैन । गियर परिवर्तन गर्ने क्रममा गियर बक्समा रहेका धमिराहरुले अवरोध गरिदिए भने त्यो गियर कहिल्यै परिवर्तन हुँदैन र त्यसले रफ्तार लिन सक्दैन । कहिलेकाहीँ आक्कलझुक्कलमा गियर परिवर्तन भैहाले पनि गाडी वा हवाईजहाज गन्तव्य स्थानमा पुग्न सोचेभन्दा धेरै समय लाग्छ । गाडी मात्र चलाउन खोजेको हो भने बाटोमा धोका दिएर हैरान पार्दछ । साहु र चालकलाई नै डुबाउने नियतले प्रवेश गरेको सहचालकले गियर परिवर्तन गर्नेबारे प्रस्ताव गर्नासाथ चालकले गियर बक्सको अवस्था नहेरी, नबुझीकन गियर परिवर्तन गर्न थाल्यो भने गियर र गियर बक्स मात्र बिग्रने होइन, गाडी नै दुर्घटनामा पर्न सक्छ । गाडी नभई हवाईजहाज नै उडाएको हो भने क्र्यास नै हुन्छ भन्ने कुरा त्यति बेलै सुझाइएको थियो । असल सुझाव नमान्नुको परिणति हो यो वर्तमान राजनीतिक दुर्घटना ।

कथित वामएकताको घोषणासभामा पाँच पूर्वप्रधानमन्त्रीहरुको एकै स्थानमा जमघट भएर पूर्वप्रधानमन्त्रीहरुको दशवटै हातहरुले एकले अर्कालाई दह्रोसँग समाई दुइ किसिमका प्रतिबद्धता जाहेर गरेका थिए । पहिलो आ–आफ्नो मुखारविन्दबाट बोली नै फुटाएर सबैले सुन्ने गरी हामी जनताका आकांक्षाहरु सबै पूरा गर्छौं भनेका थिए । दोस्रोचाहिँ अरुले नसुन्ने गरी मनमनै हामी सबै आ–आफ्नो रुचि र अभिष्ट पूरा गर्न आ–आफ्ना स्थानहरुबाट प्रतिबद्ध रहनेछौं भन्ने सन्देश प्रवाह गरेका थिए । अन्ततः दोस्रोलाई प्राथमिकतामा राख्दै एकतामा सम्मिलित सबैले आ–आफ्ना स्थानबाट भूमिका निभाइछाडे । एकता घोषणा सभामा भेला भएकाहरु वर्तमान प्रधानमन्त्रीसमेत पूर्वप्रधानमन्त्रीहरु डा. बाबुराम भट्टराई, पुष्पकमल दाहाल (प्रचण्ड), झलनाथ खनाल र माधवकुमार नेपालसमेत सबैले सुन्ने गरी जे–जस्तो भाषण र प्रतिबद्धताहरु जनाएका थिए, त्यति बेला सबैले सुन्ने गरी बोलेका प्रतिबद्धताहरुलाई अन्ततः आ–आफ्नो स्थानबाट धोती लगाउँदै हामी नाटक र नौटंकी गर्ने पात्र मात्र हौं भन्ने कुरालाई थप प्रमाणित गरिदिए ।

राजनीतिक दृष्टिकोण, सिद्धान्त, व्यवहार र अपनाइने रणनीतिहरु दल र सरकारपिच्छे फरक–फरक हुन सक्लान् । रोजगारी, शिक्षा, स्वास्थ्य बाटोघाटो आदिलाई पहिलो प्राथमिकतामा राख्नु प्रत्येक सरकारको कर्तव्य र दायित्व हो । नेपाली राजनीतिले यहाँसम्म फड्को मारेर आइपुगेको अवस्थामा पनि देशको सरकारले आफ्नो राजनीतिक र आन्तरिक द्वन्द्व जे भए पनि यी मामिलामा दृढतापूर्वक जुध्न सक्नुपर्दथ्यो । प्रत्येक जनले यति न्यून अपेक्षा गर्नु कुनै ठूलो अपेक्षा होइन । बिर्सेर पनि चाटुककार र बिचौलियाहरुको अपेक्षाहरुलाई सामान्य जनताको अपेक्षा ठानी कार्य हुन गएमा छोटै अवधिमा सरकारमाथिको विश्वास जनस्तरबाट खस्किन थाल्छ । यसैको परिणति हो आजको अवस्था । जनताबाट विश्वास खस्किन थाल्नु भनेको सरकार मात्र असफल हुने होइन, जुन दलको हैसियत बोकेर सरकारमा प्रतिनिधित्व गरेको हो सो दलको हैसियत पनि खस्किनु हो । नेकपा, एमाले, माओवादी, जसपा, कांग्रेस वा अन्य नयाँ दल नै किन नहुन्, जनताको मतलाई धोका दिनेबित्तिकै पुग्ने बाटो यही नै हो ।
(लेखक मैनाली अधिवक्ता हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्