देवीस्थानमा पृथ्वीनाराण शाहको सालिक अनावरण

यात्रा स्वाभिमानको, इतिहास एकीकरणको 



भगवती तिमल्सिना, काभ्रे ।

पर्यटकीय नगर धुलिखेल शनिबार बिहानैदेखि दुलहीझंै सिँगारिएको थियो । बाजागाजासहित धुलिखेल नगरपालिकामा रहेको नेपाली सेनाको कालीजंग गण धुलिखेलबाट प्रधानसेनापति पूर्णचन्द्र थापाले रिबन काटेर शुरु गर्नुभयो ।पदयात्रामा सयौंको संख्यामा सरकारी तथा गैरसरकारी निकायका व्यक्तिहरुसमेतको सहभागिता रहेको छ । धुलिखेलबाट शुरु भएको पदयात्रा पनौती नगरपालिकामा पुगी धार्मिक तथा पुरातात्विकस्थलको अवलोकनसहित सामूहिक फोटो खिचाउँदै यात्राको समापन गरियो ।

शनिबार बिहान शुरु भएको पदयात्रामा स्थानीय विभिन्न झाँकी बाजागाजासहित कोटको देवीस्थान मन्दिर परिसरमा पुगेको थियो । उक्त स्थानमा धुलिखेल नगरपालिकाद्वारा निर्मित पृथ्वीनारायण शाहको पूर्णकदको सालिक प्रधानसेनापति पूर्णचन्द्र थापा र धुलिखेल नगरपालिकाका मेयर अशोक व्याञ्जुले संयुक्तरुपमा अनावरण गर्नुभयो । सोही अवसरमा नेपालको झण्डोतोलनसमेत गरिएको थियो ।धार्मिक पर्यटकीय देवीस्थानको स्वरुपलाई व्यवस्थित र मर्यादित बनाउने क्रममा धुलिखेल नगरपालिकाले २ करोड लगानीमा पृथ्वीनारायण शाहको सालिक निर्माणस्थललाई व्यवस्थित गरेको र अझै ७ करोड बजेट छुट्याइसकेको मेयर ब्याञ्जुले बताउनुभयो । बिहान ८ बजे कालिजंगगण धुलिखेलबाट शुरु भएको यात्रा देवीस्थान, बलभद्र कुँवर पार्क, बतासे, शारदाकोट, इन्द्रेश्वर मन्दिर, पनौती हुँदै पनौती बसपार्कमा पुगी दिउँसो ४ बजे समापनसभामा परिणत भएको थियो ।यो ‘यात्रा स्वाभिमानको, इतिहास एकीकरणको’ भन्ने अभियान बोकेर नेपाली सेना कालीजंग गण धुलिखेलले शुरु गरेको एकीकरण पदयात्रा हो । यो कार्यक्रम एक वर्षअघि फागुन २४ गते पर्यटन वर्षलाई लक्षित गरी तय गरिएको भए पनि कोरोना संक्रमणका कारण स्थगित भएको थियो ।नेपाली सेनाको तत्कालीन विष्णु दल गणले काभ्रेपलाञ्चोक जिल्लामा विक्रम संवत् १८०३ देखि १८२० सम्म पृथ्वीनारायण शाहले काभ्रेपलाञ्चोक जिल्ला र काठमाडौं उपत्यकामा विजय हासिल गर्न प्रयोग गरेका पदमार्गहरुलाई नेपाली सेनाले एकीकरण पदमार्गका रुपमा पहिचान, संरक्षण, संवद्धंन र सैनिक इतिहासलाई प्रवद्र्धन गर्ने गरी ६ वटा पदमार्ग पहिचान गरेको थियो ।

तत्कालीन समयमा विष्णु दल गणमा गणपति एवं प्रमुख सेनानी सुवास खड्का हुनुुहुन्थ्यो । विष्णु दल गण रसुवा जिल्लामा सरुवा भई रसुवा जिल्लाबाट कालिजंग गण धुलिखेलमा आएलगत्तै गणपति एवं प्रमुख सेनानी मिलन थापाले समन्वयात्मक बैठक आयोजना गरी पदमार्ग र पदयात्राका बारेमा जानकारी गराउनुभएको थियो ।‘ऐतिहासिक गढी, किल्ला, एकीकरण मार्ग र कोटहरुको पहिचान, संरक्षण, संवद्र्धन र सैनिक इतिहासलाई प्रवद्र्धन गर्ने उद्देश्यले पदमार्गको पहिचान र पदयात्रा आयोजना गरिएको हो’, प्रमुख सेनानी गणपति मिलन थापाले भन्नुभयो– ‘सोही दिन नेपाली सेनाले धुलिखेल, देवीस्थान काभ्रेकोट, चौकोट, शारदाकोट, गोरखनाथ, पनौती इन्द्रेश्वर मन्दिर हुँदै पनौती गेटसम्मको १० किलोमिटर यात्रा तय गरिएको थियो ।’पृथ्वीनारायण शाहले १८०३ मा नगरकोट कब्जा गरी १८१६ मा पलाञ्चोक कब्जा गर्न प्रयोग गरिएको रुट, १८१८ असार ३० गते चौकोट विजयीको बेला प्रयोग गरिएको भमरकोट काभ्रेकोट सडक, १८१९ असोज २ गते तेमाल कब्जाको समयमा प्रयोग गरिएको सडक, १८२० कात्तिक १० गते पुनः चौकोट विजय र सोही दिन कोटखेल हुँदै धुलिखेल विजय हुँदा प्रयोग गरिएको रुट, १८२० कात्तिक ११ गते पनौती कब्जा गर्दा प्रयोग गरिएको सडक, १८२० कात्तिक १४ गते बनेपा साँगा नाला कब्जा गर्दा प्रयोग गरिएका सडकलाई ६ वटा पदमार्ग तय गरिएको छ । फागुन २९ गते पाँचौं नम्बरको रुट धुलिखेलदेखी पनौतीसम्मको पदमार्गमा पदयात्रा शुभारम्भ गरिएको हो ।

प्रमुख सेनानी सुवास खड्काले नेपाली सेनाले देशभर पदमार्गहरुको पहिचान गरिरहेको सन्दर्भमा काभ्रेपलाञ्चोक जिल्लाको ऐतिहासिक ६ वटा किल्ला कब्जाको क्रममा प्रयोग गरिएका सडकहरुलाई पदमार्गका रुपमा पहिचान गरी त्यसको संरक्षण तथा प्रवद्र्धनका लागि स्थानीय सरकारसँग समन्वय गरिरहेको बताउनुभयो ।पद यात्रामा काभे्र जिल्लाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल, जिल्ला प्रहरी प्रमुख एसपी भूपेन्द्र खत्री, जिल्ला समन्वय समितिका अध्यक्ष उद्धव केसी, काठमाडौं विश्वविद्यालयका उपकुलपति प्राडा भोला थापा, श्री नं २६ बाहिनी अड्डाका बाहिनीपति, स्टाफ अधिकृत, वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र तथा अन्तर्गतका कमान्डेन्ट, गणपति तथा प्र.सू.हरु, जिल्लास्थित सरकारी कार्यालयका प्रमुखहरु, जिल्लाका केन्द्रीय तथा स्थानीय जनप्रतिनिधिहरुको सहभागिता रहेको छ ।त्यसैगरी जिल्लामा रहेका विभिन्न महासंघ, संघसंस्था तथा संगठनका अध्यक्षहरु, जिल्लाका नेपाली सेनाका अधिकृतहरु, मठमन्दिर, गुम्बा र क्षेत्र विकास समिति, राजनीतिक दल, सञ्चारकर्मीहरु, वडाध्यक्षहरु, सुरक्षा निकायका प्रतिनिधिहरु, होटल तथा पर्यटन व्यवसायी, उद्योग वाणिज्य संघलगायतका संघसंस्थाका प्रतिनिधिहरुसमेत झन्डै ३ सयको हाराहारीमा पत्रयात्रामा सहभागिता रहेको कालीजंग गण धुलिखेलले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्