सत्ता समीकरणका लागि दलहरूको दौडधूप



मधुसूदन रायमाझी, काठमाडौं ।

नयाँ सरकार गठनका लागि सत्तारुढ दल नेकपा एमाले बाहेकका तीन राजनीतिक दलहरूले गृहकार्य अगाडि बढाएका छन् । एमालेले जनता समाजवादी पार्टीलाई साथ लिएर अहिलेकै सरकारलाई निरन्तरता दिने तयारी गरिरहेको बेला प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपाबीच भेटघाट बाक्लिएको छ । सत्ता साझेदारीका लागि वार्ता टोली नै गठन गरेर एक चरण प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरेलगत्तै जसपाले कांग्रेस र माओवादी केन्द्रसँग पनि छुट्टाछुट्टै छलफल गरेको छ ।

शुक्रबार कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठ पुगेका जसपाका नेताहरूले शनिबार माओवादी केन्द्रसँग छलफल गरेको छ । माओवादीको कार्यालय पेरिसडाँडामा बसेको बैठकमा ओली सरकारको विकल्पमा कांग्रेस, माओवादी केन्द्र र जसपाबीच संयुक्त छलफल गरेर निर्णयमा पुग्ने विषयमा समझदारी भएको छ । बैठकपछि जसपा अध्यक्ष उपेन्द्र यादवले बैठकले ओली सरकार घातक रहेको भन्दै तीन दलको गठबन्धन उपयुक्त हुने निष्कर्ष निकालेको बताउनुभयो । उहाँले केपी ओलीसँग कुनै पनि हालतमा सहकार्य हुन नसक्ने जिकिर गर्दै भन्नुभयो– ‘कसको दिमाग बिग्रिएको छ र केपी ओलीको सरकारमा जानु? ओलीको सर्वसत्तावादलाई परास्त पार्ने र ओलीलाई सरकारबाट बाहिर निकाल्ने विषयमा छलफल भयो ।’प्रधानमन्त्री केपी शर्मा ओलीसँग सहकार्यका लागि दौडधूप गर्दै आउनुभएका जसपाका अर्का अध्यक्ष महन्त ठाकुरले सत्ता समीकरणबारे माओवादी केन्द्रसँग सकारात्मक कुराकानी भएको बताउनुभयो ।

उहाँले सरकारमा सहभागिताको विषयमा ओली नेतृत्वको सरकारसँग सहमति नभएको जानकारी दिँदै थुनामा रहेका सांसद रेशम चौधरीलाई रिहा गरिदिए सरकारलाई धन्यवाद दिने बताउनुभयो ।माओवादीका प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकमा रेशम चौधरीको रिहाइ, मधेस आन्दोलनमा संलग्नमाथि दर्ता भएका मुद्दा फिर्तालगायतका जसपाको मागका विषयमा सकारात्मक कुराकानी भएको बताउनुभयो ।नयाँ सरकार गठनका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र जसपाका शीर्ष नेताहरूबीच एक चरण छलफल गरिसक्नुभएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेसलाई आगामी सरकारको नेतृत्व लिन आग्रह गरिसक्नुभएको छ ।

प्रचण्डसँगै जसपाले पनि दलहरूसँगको छलफल अगाडि बढाएको छ । सर्वोच्च अदालतको फैसलासँगै एमाले र माओवादी केन्द्र ब्युँतिएपछि कांग्रेसले पनि सरकारको नेतृत्वमा चासो दिएको छ । कांग्रेसको पदाधिकारी बैठकले पनि सरकारको नेतृत्व गर्नका लागि गृहकार्य अगाडि बढाउनुपर्ने निष्कर्ष निकालेको छ ।

प्रतिक्रिया दिनुहोस्