आफ्ना मन्त्रीलाई फिर्ता हुन माओवादीको निर्देशन



काठमाडौं, (नेस)  ।

नेकपा माओवादी केन्द्रले पार्टीका तर्फबाट सरकारमा मन्त्री भएकाहरूलाई तत्काल फिर्ता हुन निर्देशन दिएको छ । माओवादी केन्द्रले पार्टीले सरकारलाई दिएको समर्थन कायमै राख्दै पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूलाई भने तत्काल फिर्ता हुन निर्देशन दिएको हो ।

शनिबार पार्टी कार्यालय कोटेश्वरमा बसेको स्थायी समिति बैठकले माओवादीको कोटामा मन्त्री बनेका तर पार्टीमा नफर्किएका मन्त्रीहरूलाई तत्काल फिर्ता हुन निर्देशन दिएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो ।उता शनिबार नै बसेको एमालेको केन्द्रीय कमिटी बैठकले माओवादीबाट मन्त्री बनेका गृहमन्त्री रामबहादुर थापा, उद्योग तथा आपूर्तिमन्त्री लेखराज भट्ट, शहरी विकासमन्त्री प्रभु साह, खानेपानीमन्त्री मणि थापा र युवा तथा खेलकुदमन्त्री दाबा लामालाई केन्द्रीय सदस्य बनाउने निर्णय गरिसकेको छ ।

तत्कालीन नेकपामा विवाद हुँदा थापा र भट्ट प्रचण्डको साथ छाडेर ओलीतिर लागेका थिए भने ओलीलाई सहयोग गरेकाले थापा, साह र लामाले मन्त्री बन्ने मौका पाएका थिए ।केपी शर्मा ओली नेतृत्वको सरकारमा माओवादी केन्द्रका नेताहरू गृहमन्त्री थापा, ऊर्जामन्त्री रायमाझी, उद्योग तथा आपूर्तिमन्त्री भट्ट, शहरी विकासमन्त्री साह, खानेपानीमन्त्री थापा, युवा तथा खेलकुदमन्त्री लामा र श्रममन्त्री गौरीशंकर चौधरी छन् । उहाँहरूमध्ये गृहमन्त्री थापा राष्ट्रियसभा सदस्य हुन् भने रायमाझी, साह, भट्ट र चौधरी प्रतिनिधिसभा सदस्य हुन् ।

प्रतिक्रिया दिनुहोस्