मकवानपुरमा कलाकारिता अवार्ड



न्युज अफ नेपाल,हेटौंडा ।

‘कला सँस्कृति हाम्रो पहिचान–यसको सम्बद्र्धन हाम्रो अभियान’ मूल नारा बोकेको थाहा कलाकेन्द्र मकवानपुर र सिआन पुनस्र्थापना केन्द्रको संयुक्त आयोजनामा ‘सिआन मकवानपुर कलाकारिता अवार्ड’ तथा सर्जक सम्मान हुने भएको छ । हेटौंडामा पत्रकार सम्मेलन गर्दै कलाकेन्द्रको स्थापना दिवसको अवसरमा कार्यक्रम गरिने जानकारी दिइएको हो । कोरोनाका कारण स्थगन भएको अवार्ड जेठ ९ गते प्रदान गरिने छ ।

कलाकारिताको विकासमा निरन्तर लागिरहेको थाहा कलाकेन्द्रले मकवानपुरका कलाकारलाई प्रोत्साहन गर्ने उद्धेश्यले अवार्ड प्रदान गर्न लागेको कलाकेन्द्र अध्यक्ष सानोबाबु मुक्तानले बताए । उनले कलाकारलाई हौसला प्रदान गर्ने प्रयासस्वरुप ३१ बिधामा कलाकारिता अवार्ड र ११ विधामा रिकभरी अवार्ड प्रदान गर्न लागिएको बताए ।

मकवानपुरमा जन्म भएर राष्ट्रियरुपमा ख्यातिप्राप्त गर्न सफल कलाकारहरु केदार घिमिरे (माग्नेबुढा), विष्णु सापकोटा (हर्केहल्दार), चेतन सापकोटा, राजेन्द्र खड्गी, निता ढुंगाना, लक्ष्मण शेषलगायत कलाकार सम्मानित हुनेछन् भने निष्पक्ष पत्रकारितामा रहेको १२ पत्रकार पनि सम्मानित हुनेछन् ।

सिआन पुनस्र्थापना केन्द्र प्रमुख सौजन डीसीले भने–असल समाज निर्माण गर्न युवाको हात छ । तर, युवाहरु लागुऔषध दुव्र्यसनमा फसेका छन् । यस विषयमा जानकारी गराउने उद्धेश्यले सेमिनार पनि गर्नेछौं । कार्यक्रममा तीन क्षेत्रका विधाहरु सम्मानित हुने जनाइएको छ । मकवानपुरमा करिब ५ सय भन्दा बढी कलाकार छन् । उनीहरु अघि बढिरहेको परिप्रेक्ष्यमा कार्यक्रमले कलाकारमा प्रोत्साहन मिल्ने आयोजकको भनाइ छ ।

कार्यक्रमले युवा कलाकार वृद्धि गर्ने, हालको जटिल समस्याका रुपमा रहेको लागुऔषध दुव्र्यसनका सवालहरु प्रत्यक्षरुपमा उठाउन मद्धत गर्ने, राष्ट्रिय कलाकारसँग सहजता भेटघाटको अवसर मिल्ने, ख्यातिप्राप्त कलाकारसँगको समन्वयले ओझेलमा परेका कलाकारको हित हुनसक्ने कुराको विकास हुनसक्ने आयोजकले अपेक्षा राखेको छ ।

कार्यक्रम थाहा नगरपालिकाको पालुङ जेसिज हलमा हुनेछ । कार्यक्रमको अनुमानित लागत ११ लाख हुने कार्यक्रम संयोजक भुपेन्द्र रानामगरले जानकारी दिए । अवार्ड बितरण कार्यक्रम तयारीका लागि थाहा कलाकेन्द्रका आजीवन सदस्य रानामगरको संयोजकत्वमा १ सय १ सदस्यीय मूल आयोजक समिति तथा उपसमितिहरु गठन गरिएका छन् ।

प्रतिक्रिया दिनुहोस्