यात्रा स्वभिमानको, इतिहास एकीकरणको पद यात्रा सुभारम्भ

देवी स्थानमा पृथ्वीनारायण शाहको शालिक अनावरण



  • भगवती तिमल्सिना/मोतीराम तिमल्सिना

काभ्रे ।

पर्यटकीय नगर धुलिखेल आज बिहानै देखि दुलही झै सिगारियो । बाजागाजा सहित धुलिखेल नगरपालिकामा रहेको नेपाली सेनाको कालीजंग गण धुलिखेलबाट प्रधान सेनापति पूर्णचन्द्र थापाले रिबन काटेर शुरु गर्नुभयो । पदयात्रामा सयौको संख्यामा सरकारी तथा गैह्र सरकारी निकायका व्यक्तिहरु समेतको सहभागीता रहेको छ । धुलिखेलबाट शुरु भएको पदयात्रा पनौति नगरपालिकामा पुगी समापन हुने छ ।

शनिवार बिहान शुरु भएको पदयात्रामा स्थानिय विभिन्न झाँकी, बाजागाजा सहित स्थान परिचय, हुँदै कोटको देबीस्थान मन्दीर परिसरमा पुगी धुलिखेल नगरपालिकाद्धारा निर्मित पृथ्वीनारायण शाहको पूर्णकदको शालिक प्रधानसेनापति पूर्णचन्द्र थापा र धुलिखेल नगरपालिकाका मेयर अशोक व्याञ्जुले संयुक्त रुपमा अनावरण गर्नुभयो । सोही अवसरमा नेपालको झण्डाको समेत झण्डोतोलन गरिएको थियो ।

धार्मिक पर्यटकीय देबी स्थानको स्वरुपलाई व्यवस्थित र मर्यादित बनाउने क्रममा धुलिखेल नगरपालिकाले २ करोड लगानीमा पृथ्वीनारायण शाहको शालीक निमार्ण स्थललाई व्यवस्थीत गरेको र अझै ७ करोड बजेट छुट्याईसकेको मेयर ब्याञ्जुले बताउँनुभयो । बिहान ८ बजे कालिजंगगण धुलिखेलबाट शुरु भएको यात्रा देबीस्थान, बलभद्र कुँवर पार्क, बतासे, शारादाकोट, इन्द्रेश्वर मन्दीर,पनौति हुँदै पनौति बसपार्कमा पुगी दिउसो ४ बजे समापन सभामा परिणत हुँदैछ ।

यो ‘यात्रा स्वभिमानको, इतिहास एकिकरणको’ भन्ने अभियान बोकेर नेपाली सेना कालीजंग गण धुलिखेलले शुरु गरेको एकिकरण पदयात्रा हो । यो कार्यक्रम एकबर्ष अघि फागुन २४ गते पर्यटन बर्षलाई लक्षित गरि तय गरिएको भएपनि कोरोना संक्रमणका कारण स्थगित भएको थियो ।नेपाली सेनाको तत्कालिन विष्णु दल गणले काभ्रेपलाञ्चोक जिल्लामा विक्रम सम्वत १८०३ देखि १८२० सम्म पृथ्वीनारायण शाहले काभ्रेपलाञ्चोक जिल्ला र काठमाडौ उपत्यकामा विजय हासिल गर्न प्रयोग गरेका पदमार्गहरुलाई नेपाली सेनाले एकिकरण पदमार्गका रुपमा पहिचान, संरक्षण, सम्र्वद्धन र सैनिक इतिहासलाई प्रवद्र्धन गर्ने गरी ६ वटा पदमार्ग पहिचान गरेको थियो ।

तत्कालिन समयमा विष्णु दल गणमा गणपति एवं प्रमुख सेनानी सुबास खड्का हुनुुहन्थ्यो । विष्णु दल गण रसुवा जिल्लामा सरुवा भई रसुवा जिल्लाबाट कालिजंग गण धुलिखेलमा आए लगत्तै गणपति एवं प्रमुख सेनानी मिलन थापाले समन्वयात्मक बैठक आयोजना गरी पदमार्ग र पदयात्राका बारेमा जानकारी गराउनु भएको थियो ।

‘ऐतिहासिक गढी, किल्ला, एकिकरण मार्ग र कोटहरुको पहिचान, संरक्षण, सम्र्वद्धन र सैनिक इतिहासलाई प्रर्वद्धन गर्ने उदेश्यले पदमार्गको पहिचान र पदयात्रा आयोजना गरिएको हो’–प्रमुख सेनानी गणपति मिलन थापाले भन्नुभयो–‘सोहि दिन नेपाली सेनाले धुलिखेल, देविस्थान काभ्रेकोट, चौकोट, शारदाकोट, गोरखनाथ, पनौती इन्द्रेश्वर मन्दिर हुँदै पनौती गेटसम्मको १० किलोमिटर यात्रा तय गरिएको छ ।’

पृथ्वीनारायण शाहले १८०३ मा नगरकोट कब्जा गरी १८१६ मा पलाञ्चोक कब्जा गर्न प्रयोग गरिएको रुट, १८१८ असार ३० गते चौकोट विजयीको बेला प्रयोग गरिएको भमरकोट काभ्रेकोट सडक, १८१९ असोज २ गते तेमाल कब्जाको समयमा प्रयोग गरिएको सडक, १८२० कार्तिक १० गते पुनः चौकोट विजय र सोहि दिन कोटखेल हुँदै धुलिखेल विजय हुँदा प्रयोग गरिएको रुट, १८२० कार्तिक ११ गते पनौती कब्जा गर्दा प्रयोग गरिएको सडक, १८२० कार्तिक १४ गते बनेपा साँगा नाला कब्जा गर्दा प्रयोग गरिएका सडकलाई ६ वटा पदमार्ग तय गरिएको छ । फागुन २९ गते पाँचौ नम्वरको रुट धुलिखेल देखि पनौतीसम्मको पदमार्गमा पदयात्रा शुभारम्भ गरिएको हो ।

प्रमुख सेनानी सुवास खड्काले नेपाली सेनाले देशभर पदमार्गहरुको पहिचान गरिरहेको सन्दर्भमा काभ्रेपलाञ्चोक जिल्लाको ऐतिहासिक ६ वटा किल्ला कब्जाको क्रममा प्रयोग गरिएका सडकहरुलाई पदमार्गको रुपमा पहिचान गरी त्यसको संरक्षण तथा प्रर्वद्धनका लागि स्थानीय सरकारसँग समन्वय गरिरहेको बताउनु भयो ।

पनौती नगरपालिकाका प्रमुख भिम न्यौपानेका अनुसार पदयात्राका क्रममा नगरपालिकाको तर्फबाट आवश्यक झाँकी तथा अन्य तयारीमा समन्वय गरेका छौ । आगामी दिनमा आज शुरु भएको पदमार्गलाई पर्यटकिय, धार्मिक, सांस्कृतिक र ऐतिहासिक रुपमा अगाडी बढाउन आवश्यक सहयोग गर्नेछौ ।

पद यात्रामा काभे्र जिल्लाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल, जिल्ला प्रहरी प्रमुख एसपी भुपेन्द्र खत्री, जिल्ला समन्वय समितिका अध्यक्ष उद्धव केसी, काठमाडौ विश्व विद्यालयका उपकुलपति प्रा.डा.भोला थापा, श्री नं २६ बाहिनी अड्डाका बाहिनीपति, स्टाफ अधिकृत, वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र तथा अन्तर्गतका कमाण्डेण्ट, गणपति तथा प्र.सू.हरु, जिल्ला स्थिति सरकारी कार्यालयका प्रमुखहरु, जिल्लाका केन्द्रीय तथा स्थानिय जनप्रतिनिधिहरुको सहभागीता रहेको छ ।

त्यसैगरी जिल्लामा रहेका विभिन्न महासंघ, संघसस्था तथा संगठनका अध्यक्षहरु, जिल्लाका नेपाली सेनाका अधिकृतहरु, मठमन्दीर, गुम्बा र क्षेत्र विकास समिति, राजनैतिक दल, संचारकर्मीहरु, वडा अध्यक्षहरु, सुरक्षा निकायका प्रतिनिधिहरु, होटल तथा पर्यटन ब्यवसायी, उद्योग बाणिज्य संघ लगायतका संघ संस्थाका प्रतिनिधिहरु समेत झण्डै ३ सयको हाराहारीमा पत्रयात्रामा सहभागीता रहेको कालीजंग गण धुलिखेलले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्