ज्येष्ठ वडा सदस्य बज्राचार्यको जाँगर थपिँदै

वडास्तरीय ज्येष्ठ नागरिक समिति गठन



न्यूज अफ नेपाल, ललितपुर ।

पञ्चबज्र बज्राचार्य ललितपुर महानगरपालिकाकाकै ज्येष्ठ वडा सदस्य हुनुहुन्छ । घरघरमा पुगेर वृद्धवृद्धाहरुलाई सामाजिक सुरक्षा भत्ता दिने काममा उहाँको जाँगर अझै सेलाएको छैन, त्यसको उल्टो जाँगर अझै थपिएको बज्रचार्यले महशुस गर्नुभएको छ ।

ललितपुर महानगरपालिका– १६ वडा स्तरीय ज्येष्ठ नागरिक समिति स्थापना भएको शुक्रबार एक समारोहकाबीच घोषणा गरिएको थियो । सो कार्यक्रम ६७ वर्षीय बज्राचार्यले ज्येष्ठ नागरिकको हितमा काम गर्न आफूलाई हौस्याउने जीवनकै एउटा महत्वपूर्ण कार्यक्रम रुपमा लिनुभएको थियो । १६ वडाको सदस्यमा निर्वाचित हुनु भन्दा करिब दुई वर्षअघि देखि बज्राचार्यले घरघरमा पुगी बृद्धभत्ता बाँड्न शुरु गरेको थियो । वडासदस्य भएको चार वर्ष यता पनि सो कामलाई निरन्तरता दिँदै आउनुभएको छ ।

वृद्धभत्ता दिने घरघरमा जाँदै गर्दा प्रत्येक घरका ज्येष्ठ नागरिकहरुको सुख र दुःखसंग बज्राचार्य अछुतो रहनुभएन । त्यसले ज्येष्ठ नागरिकहरुको हितमा अरु थप कामहरु गर्दै जाने भावना उहाँको मनमा बढेर गएको थियो । ‘ त्यसको लागि म एक्लै मात्र लागेर सकिन्न । सहयोगी टिमको जरुरत महशुस भयो । यही आवश्यकताले ज्येष्ठ नागरिक समिति बनाउन घचघच्याएको हो । ’ ज्येष्ठ नागरिक समितिका संयोजक समेत रहनुभएका बज्राचार्यले नागबहालमा आयोजित समारोहमा भन्नुभयो ‘ वर्षौदेखि मनभित्र गढीरहेको सोचले साकार रुप लिँदा हर्षको सीमा नै रहेन ।’

उहाँले भन्नुभयो ‘ घरमा पुगेर वृद्ध, एकल महिला र अपांगता भत्ता दिँदै आएको समाचार विभिन्न पत्रपत्रिकामा प्रकाशित पनि थियो ।धेरैबाट स्याबासी पाएँ ।यससंगै ज्येष्ठ नागरिकहरुको म प्रतिको अपेक्षा झन् झन् बढ्दै गएको पाएको छु ।’ कोरोना संक्रमण बढीरहेको बेला ज्येष्ठ नागरिकहरुलाई थप सेवा दिनुपर्ने बोध भएको सुनाउँदै बज्राचार्यले दुःखित हुँदै भन्नुभयो ‘ यसबीचमा म आफै कोरोना संक्रमित भए । यसले समिति बनाउन ढिलाई भएको महशुस गरायो ।अहिले कोरोना जोखिम कम भएको बेला समिति गठन गर्न सक्रिय भएर लागे । यसमा वडाअध्यक्षले पनि निकै साथ दिए ।’

बज्राचार्यले आफ्नो भनाई राख्दै गर्दा उहाँको कामप्रति सबै नतमस्तक भएका थिए । बज्राचार्यको काँधमा हात राखेर ८५ वर्षीय ललितपुरका पूर्व मेयर बुद्धिराज बज्राचार्यले खुलेर भन्नुभयो ‘ जेष्ठ नागरिकको सेवामा पञ्चबज्रको दाँजोमा अरू कोही छैन । उनी जेष्ठ नागरिकको काँध बनेका छन् ।’

सो अवसरमा १६ वडाका वडाअध्यक्ष निर्मलरत्न शाक्यले बज्राचार्यको कामप्रति लगनशीलता, चिन्ता र जाँगर देखेर कहिलेकाँही आफूलाई आश्चर्य लाग्ने गरेको अनुभव सुनाउँदै समिति मार्फत अझ थप कामहरु गर्न आफू सधै सकारात्मक रहने बताउनुभयो । सार्वजनिक बिदाको दिन पनि कार्यालयमा आएर काम गर्ने बज्राचार्यको स्वभावको प्रशंसा गर्दै वडाअध्यक्ष शाक्यले यस अघि उहाँकै संयोजनमा ३ सय भन्दा बढी ज्येष्ठ नागरिकको सम्मान कार्यक्रम पनि सफलतापूर्वक सम्पन्न भएको पनि उल्लेख गर्नुभयो ।

महानगरपालिका मेयर चिरिबाबु महर्जनले ज्येष्ठ नागरिकहरुको हितमा दिवा सेवा केन्द्र, स्वास्थ्य सेवा, योग, ध्यान, प्रवचन, भजन कृतन सञ्चालनका लागि आवश्यक बजेट विनियोजित गरिदिन बज्राचार्यले माग गरेकोमा आफ्नो ध्यान गएको बताउनुभयो । यस कामको लागि आवश्यक सहयोग गर्न आफू तत्पर रहेको मेयर महर्जनको भनाई थियो ।

बज्राचार्यलाई सघाउन विभिन्न क्षेत्रमा योगदान पु¥याएका १५ जना ज्येष्ठ नागरिकहरु समिति बसेर काम गर्न तयार भएको घोषणा गरे । समितिको सहसंयोजकमा राज बज्राचार्य, सचिवमा आशारत्न शाक्य, सहसचिव प्रेमलाल श्रेष्ठ, कोषाध्यक्ष ऋषिप्रसार श्रेष्ठ रहनुभएको छ ।सदस्यहरु अशोक श्रेष्ठ, पञ्चमुनि बज्रचार्य, इन्द्रकुमारी शाक्य, र रत्न महर्जन हुनुहुन्छ । गत पुस १२ गते समिति गठन गरिएको थियो । महानगरका १ देखि २९ वडामध्ये ज्येष्ठ नागरिक समिति बनेको यो नै पहिलो वडा रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्