टाइब्रेकरमा चम्कियो आर्मीको भाग्य



न्युज अफ नेपाल, हेटौंडा ।

हेटौंडामा जारी शहीद स्मृति फुटबल प्रतियोगितामा त्रिभुवन आर्मी क्लब शुक्रबार भाग्यमानी ठहरिएको छ । हेटौंडा–१० स्थित बनविज्ञान अध्ययन संस्थानको खेलमैदानमा जारी खेलमा दोस्रो दिन त्रिभुवन आर्मी क्लबले जावलाखेल क्लबलाई टाइब्रेकरमा ४–२ गोलअन्तरले पराजित गरेको हो ।

निर्धारित समयमा दुवै टिम गोलरहित बराबरीमा रोकिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा आर्मीका गोलरक्षक विवश चौधरीले लगातार दुई बल रोकिदिँदा आर्मी ४–२ गोलअन्तरले विजयी भएको हो । त्रिभुवन आर्मी सेमिफाइनल प्रवेश गरेका छन् ।

शुक्रबारको खेलमा म्यान अफ दी म्याच त्रिभुवन आर्मी क्लबका गोलरक्षक चौधरी भए । उनले दश हजार पुरस्कार प्राप्त गरे । शनिबार नेपाल पुलिस क्लब र संकटा क्लबबीच खेल हुने आयोजकले जानकारी दिएको छ ।

प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले रोयल इन्फिल्ड बुलेट बाइक पुरस्कार पाउनेछन् । हेटौंडा स्कुल अफ म्यानेजमेन्टले उक्त पुरस्कार सौजन्य गर्ने भएको हो । व्यक्तिगत् विधातर्फ उत्कृष्ट हुनेहरुले जनही २५ हजार प्राप्त गर्नेछन् । प्रत्येक खेलको म्यान अफ दी म्याचलाई १० हजार पुरस्कार व्यबस्था गरिएको मकवानपुर जिल्ला फुटबल संघ अध्यक्ष टीका लामाले बताए ।

प्रतियोगितामा लिग च्याम्पियन मच्छिन्द्रसहित ६ वटा ‘ए’ डिभिजन क्लबले सहभागिता जनाएका छन् । एक विदेशी, आयोजक र दुई मोफसलका टोली सहभागी रहेको प्रतियोगिता संयोजक बिष्टले बताए । विभागीय टोलीहरु नेपाल आर्मी, एपीएफ, नेपाल पुलिस क्लब, ‘ए’ डिभिजन क्लबहरु जावलाखेल युथ क्लब र संकटा क्लब हेटौंडामा खेल्नेछन् ।

आयोजक हेटौंडा रिगल रिसोर्ट, बागमती युवा क्लब सर्लाही, नवजनजागृति युवा क्लब सिमरा र विदेशी टोली अफ्रिकन रुट्स एसोसिएसनले गोल्डकपमा भाग लिएका छन् ।

यस संस्करण ४ हजार दर्शक क्षमताको फलामे प्यारापिट राखिएको छ भने मैदानमा बसेर हेर्न मिल्ने व्यबस्था मिलाइएको छ । ‘स्थानीय तह शहीद स्मृति मकवानपुर गोल्डकप’ नाम दिइएको राष्ट्रिय फुटबल प्रतियोगिताको यो तेस्रो संस्करण हो । दश वर्षअघि हेटौंडामा प्रारम्भ भएको शहीद स्मृति गोल्डकप प्रतियोगिता यही हो । २०६२/ ०६३ को जनआन्दोलनका शहीदको स्मृतिमा हेटौंडामा पहिलोपटक गोल्डकप गरिएको थियो ।

विभिन्न प्रायोजकको नाममा सञ्चालन हुँदै आएको प्रतियोगिताका लागि यस वर्षबाट जिल्लाका १० स्थानीय निकायले सहयोग गरेका छन् । सबभन्दा धेरै हेटौंडा उपमहानगरपालिकाले १५ लाख रुपियाँ सहयोग गरेको छ ।

प्रतियोगिता कोरोना भाइरस संक्रमण कारण स्थगित भएको थियो । जिल्ला फुटबल संघको आयोजनामा २०६४ सालमा राष्ट्रिय फुटबल प्रतियोगिताको पहिलो संस्करण आयोजना गरिएको थियो । पहिलो संस्करणको उपाधि थ्रीस्टार क्लबले जितेको थियो भने २०७५ मा दोस्रो संस्करणको उपाधि घरेलु टोली मकवानपुरले जितेको थियो । प्रतियोगिता फाइनल चैत ७ गते शनिबार हुनेछ ।

प्रतिक्रिया दिनुहोस्