दुवै मिर्गौला फेल भएपछि उपचारमा समस्या



वासुदेव शर्मा, जाजरकोट ।

दुवै मिर्गौला फेल भएपछि जीवनमरणको दोसाँधमा अस्पतालको बेडमा एक युवक छटपटाइरहेका छन् । भेरी नगरपालिका–११ जगतीपुरका २२ वर्षीय पूर्ण परियारका दुई मिर्गौला फेल भएपछि आर्थिक अभावले अस्पतालको बेडमा जीवनसँग संघर्ष गर्दै आएका छन् ।

गत असोजमा बिरामी परेका उनलाई उपचारका लागि परिवारले काठमाडौं लगेको थियो । शिक्षण अस्पताल काठमाडौंले दुवै मिर्गौला फेल भएको पत्ता लगाएपछि उनको उपचार काठमाडौंमै परिवारले गराइरहेका थिए । उपचारमा लाग्ने खर्च परिवारले जुटाउन नसक्दा तीन महिनापछि कोहलपुर मेडिकल कलेजमा ल्याएका हुन् ।

विपन्न गरिब परिवारका उनको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ । हप्तामा दुईपटक डाइलोसिस गर्नुपर्छ । आफन्तले मिर्गौला दिने तयारी गरेपनि आर्थिक अभावले मिर्गौला प्रत्यारोपण गर्न मुस्किल पर्ने दिदी कल्पना परियारले बताउनुभयो । भाइलाई बचाउनकालागि सबैसँग सहयोगको याचना गरेका छौं । अस्पतालले मिर्गौला प्रत्यारोपण र उपचारमा १० देखि १२ लाखसम्म खर्च लाग्ने बताएको छ ।

‘घरको आर्थिक अवस्था कमजोर छ । बुबा बोल्न सक्नुहुन्न कमाइ गर्ने कोही छैन ज्यालामजदुरी गरी कपडा सिलाइकटाइबाट बालीघरे प्रथाले जीवन निर्वाह गरिरहेका परिवारलाई खाना लगाउन मुस्किल पर्ने गरेको अवस्थामा भाइलाई जवानीमा यति ठूलो रोगले सताउला भन्ने कल्पनै गरेका थिएनौं’, उहाँले भन्नुभयो– ‘एक्कासि बिरामी पर्दा उपचारका लागि काठमाडौं शिक्षण अस्पतालले दुई मिर्गौला फेल भएको रिपोर्ट दिएपछि उनको ज्यान बचाउन मुस्किल परेको छ ।’

ज्यालामजदुरी गरी बालीघरे प्रथाबाट दैनिक छाक टारेका परिवारलाई मिर्गौला प्रत्यारोपण गर्न लाग्ने खर्च कसरी जुटाउने भन्ने चिन्ताले सताउन थालेको छ । दिदी कल्पनाले दुखेसो पोख्दै भन्नुभयो– ‘हामी भाइलाई बचाउन चाहान्छौं, परिवारमा जसको मिर्गौलाले मेल खान्छ उसको मिर्गौला दिएर भाइलाई बचाउन चाहान्छौं तर पैसा छैन साहुसँगबाट ल्याएको पैसाले भाइलाई बचायौं कसरी मिर्गौला प्रत्यारोपण रौँ?’

प्रत्येक हप्ता दुईपटक डाइलासिस, दुई महिनाको एकपटक रगत दिनुपर्छ आफूसँग पैसा छैन सहयोगीमनहरुलाई सहयोग गरी भाइको जीवन बचाइदिन आग्रह गर्नुभएको छ, भाइको जीवन रक्षाका लागि सहयोगको याचना गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्