स्वास्थ्य बिमा कार्ड दूरुपयोग गरी रकम असुल्दै औषधि पसल



न्युज अफ नेपाल, भद्रपुर ।

झापाको एउटा औषधि पसलले एउटाको विमा कार्डबाट दोस्रो व्यत्ति लाइ उपचार गराउँदै रकम असुल्ने गरेको पाइएको छ । उपचारका लागि मेची अञ्चल अस्पताल पुगेकी भद्रपुर ८ की २२ वर्षिया गर्भवती महिला ममता विक खडकालाइ अस्पताल परिसरमा सञ्चालित शुष्मा मेडिकल हलले उपचार गराएवापत रकम असुल गरेको पीडित महिलाको आरोप छ ।

गर्भवती महिलालाइ मेडिकलका दाताराम र गोमा सिटौलाले भद्रपुर ८ की दीपिका राजवंशीको स्वास्थ्य बिमा कार्ड प्रयोग गरी विकको उपचार गराएका थिए । उनीहरुले दीपिकालाइ पनि परिवारमा राखेर बिमा कार्ड बनाएका थिए । उपचार पश्चात मेडिकलले २२ सय रुपैयाँ लिएको पीडितका श्रीमान प्रकाश खडकाले बताउँनुभयो । उपचार गराएवापत कुनैपनि पुर्जा विरामीलाइ नदिएको उहाँको भनाइ छ ।

उपचारको क्रममा उनीहरुले डेलिभरीका लागि ६० हजार रुपैयाँ जति खर्च हुने बिरामीलाइ भनेका थिए । धेरै रकम लाग्ने भएपछि खर्च जोहो गर्ने क्रममा उनीहरुले भद्रपुर ८ मा रहेको लभकुश आश्रमकी अध्यक्ष रञ्जु शर्मालाइ भने उनीहरु शर्माकै घरमा भाडा तिरेर बस्दै आइरहेका थिए । रञ्जुले थाहा पाएपछि विरामीका परिवारलाइ लिएर उनीहरु शुष्मा मेडिकल पुगेपछि घटना सार्वजनिक भएको थियो । अस्पतालको पुर्जामा राजवंशीको उमेर १७ वर्ष उल्लेख गरि डेलिभरी(अल्ट्रा साउण्ड) लगायतको चेकजाँच गरिएको छ ।

अस्पतालका रेडियोलेजिष्ट सञ्जय गुप्ताले चेकजाँच गरेको पुर्जामा उल्लेख छ । पटक– पटक सोही नामबाट चेकजाँच गराइएको छ । अन्तिम पटक जनवरी २८ मा दीपिकाको विमा नम्बर ०६८८३१७११ बाट २ हजार ४ सय रुपैयाँ खर्च देखिएको छ । ज्याला मजदुरीबाट जीविकोपार्जन गर्दै आएका यस्ता गरिबबाट रकम असुल्नु गम्भिर त्रुटी भएको शर्माको भनाइ छ । मेची अञ्चल अस्पतालमा बिमा सम्बन्धी काम अव्यवस्थित भएको स्वास्थ्य बिमा बोर्ड झापाकी प्रमुख लक्ष्मी कणेलले बताउँनुभयो । अस्पतालको चरम लापारबाही भएको उहाँको भनाइ छ ।

यस विषयमा अस्पतालका मेडिकल सुपरीटेण्डेन्ट पिताम्बर ठाकुरले औषधि बिक्रेतालाइ सोधिने आश्वासन दिनुभयो । मानविय अवस्थालाइ हेरेर बिमा कार्ड प्रयोग गरिएको मेडिकल हलकी गोमा सिटौलाले बताउँनुभयो । बिरामीबाट रकमको लेनदेन नभएको उहाँले ठोकुवा गर्नुभयो । विरामीकी आमा चिनजान भएकोले कार्ड दिएर सहयोग मात्र गरेको उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्