आयोजकको विजयी शुरुआत



हेटौंडा, (नेस) ।

‘शहीद स्मृति गोल्डकप प्रतियोगिता’ को तेस्रो संस्करणको पहिलो खेलमा आयोजक मकवानपुरले नवजनजागृित युवा क्लब सिमरालाई ४–१ गोलअन्तरले हराएर सेमिफाइनल प्रवेश गरेको छ ।

हेटौंडा–१० स्थित वनविज्ञान खेलमैदानमा बिहीबार उद्घाटन खेलमा आयोजकका तर्फबाट विमल रानाले २७औं मिनेटमा गोलको खाता खोलेका थिए । सिमराका गोलरक्षक प्रकाश लामा अघि बढेको मौकाको फाइदा उठाउँदै उनले गोल गरेका हुन् । नवजनजागृतिका तर्फबाट त्यसको करिब चार मिनेटमा मोहित गुरुङले जवाफी गोल फर्काएका थिए । उनले मध्यभागबाट प्रहार गरेको बल सोझै गोल भएको थियो ।

सिमराले पटक–पटक लय गुमाउँदा थप तीन गोल खान पुग्यो । ५७औं मिनेटमा गोल गरेका हेटौंडेली स्टार रञ्जन विष्टले ६६औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेपछि नवजनजागृति निराश बनेको थियो । विश्व अधिकारीको पासलाई सही सदुपयोग गर्दै उनले जाली चुमाएका थिए । अमिर श्रेष्ठले ७७औं मिनेटमा गोल थपेपछि आयोजक टिमले विजयी शुरुआत गरेको हो

प्रतिक्रिया दिनुहोस्