उपाधिको लागि एपीएफ र पुलिसबीच प्रतिस्पर्धा हुने



नेपाल समाचारपत्र, काठमाडौं ।

आयोजकको टिम काठमाडौं मेयर ११ लाई ७ विकेटले हराउँदै नेपाल एपीएफ क्लब जारी मेयर कप क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ ।

यो नतिजासँगै प्रतियोगिताको उपाधिको लागि एपीएफ र नेपाल पुलिस क्लबले प्रतिस्पर्धा गर्ने भएको हो । अघिल्लो दिन पुलिसले फाइनलको यात्रा तय गरेको थियो । बिहीबार भएको खेलमा एपीएफले काठमाडौं मेयरले दिएको १ सय ७८ रनको सामान्य लक्ष्य ३ विकेटको क्षतिमा ४४.१ ओभरमा प्राप्त गर्‍यो । यो जितले एपीएफ ६ अंकसहित फाइनलमा पुग्दा बागमती प्रदेशको शानदार जित सान्त्वना मात्रै साबित भयो ।

हिजै भएको खेलमा बागमतीले पारस खड्काको शतकीय इनिङको सहयोगमा आर्मीलाई १० रनले पराजित गरेको थियो । बागमतीले फाइनलमा पुग्न उच्च प्रदर्शन गरेको थियो । पहिले ब्याटिङ गरेर २ सय ६६ रन जोडेर आर्मीलाई २ सय ५६ रनमा रोकेको थियो । तर, यो खेल भइरहँदा एपीएफले जित हात पार्दै फाइनलको यात्रा तय गरिसकेको थियो । एपीएफको जितले बागमतीको फाइनल पुग्ने आशा सबै चकनाचुर भयो भने पारसको १ सय १९ रनको शतकीय आकर्षक इनिङ पनि खेर गयो । बागमतीले ४ अंक जोडेको छ भने आर्मी र काठमाडौं मेयरको २÷२ अंक मात्रै छ ।

एपीएफले पहिले बलिङमा र पछि ब्याटिङमा शानदार प्रदर्शन गरेर काठमाडौं मेयरलाई सहजै पराजित गरेको थियो । एपीएफले पहिले ब्याटिङ गरेको काठमाडौं मेयरलाई मात्र १ सय ७७ रनको योगफलमा सीमित पारेको थियो । काठमाडौं मेयरका लागि सन्दीप रजालीले सर्वाधिक ४८ रन जोडे भने यसपछि हरिशंकर शाहले ३६ रनको योगदान दिएका थिए । उनीहरुले तेस्रो विकेटका लागि ६५ रनको साझेदारी गर्नु नै एक मात्र उच्चतम साझेदारी बनेको थियो ।

ओपनर विपिन रावललाई अविनाश बोहराले बोल्ड गर्दै एपीएफले मेयर टिमलाई पहिलो झट्का दिए । विपिनले ४ रन मात्रै बनाए भने अर्का ओपनर खडक बोहरा १३ रनमा रनआउटको शिकार भएका थिए । यसपछि सन्दीप र हरिशंकरले टिमको स्कोर १ सय ९ सम्म पु¥याउँदा सन्दीपलाई कमल ऐरीले बोल्ड गरेका थिए । यो विकेट पतनसँगै मेयर टिमको ब्याटिङ धर्मरायो । दुई रन जोड्दा हरिशंकर शरद भेषवाकरको बलमा स्टम्पिङ आउट भए ।

दुवै जमेका ब्याटसम्यान आउट भएपछि बाँकि ब्याटसम्यानले पनि छिट्टै पभेलियन जान हतार गरे । बाँकि ६ विकेट मात्र ६६ रन बटुलेर पतन भएका थिए, जसमा विक्रम भुषालले २० रन, कप्तान सन्दीप लामिछानेले ११ रनको योगदान दिएका थिए । एपीएफका बलरमा अविनाश बोहरा र कमल ऐरीले सर्वाधिक ३÷३ विकेट बाँडेर लिए । यस्तै, वसन्त रेग्मी, शरद र भुवन कार्कीले १÷१ विकेट लिन सफल भएका थिए ।

सामान्य लक्ष्य पाएको एपीएफले ब्याटिङको शुरूमै झट्का बेहोर्नुपरेको थियो । अनुज चुनाराले ओपनर आसिफ शेखलाई पहिलो ओभरको अन्तिम बलमा आउट गरेका थिए । त्यसपछि शंकर राणा र कप्तान शरदले दोस्रो विकेटका लागि ४३ रनको साझेदारी गरेर ब्याटिङ उकासे । यसमा शंकरले ५ चौकासहित ३१ रन योगदान दिएका थिए । शंकरलाई अनिल खरेलले आउट गरेका थिए । त्यसपछि आएका भुवन कार्की ११ रन जोडेर सन्दीप लामिछानेको बलमा आउट भए ।

भुवन आउट हुँदा एपीएफले ३ विकेटको क्षतिमा ५७ रन जोेडेको स्थिति थियो । मेयर टिमका बलरले यतिबेलासम्म एपीएफको ब्याटिङलाई नियन्त्रणमा राखेको थियो । तर, शरदलाई साथ दिन आएका सन्दीप जोराले भने विकेट बचाउँदै रन बढाउँदै लगेका थिए । उनीहरूले चौथो विकेटका लागि नटआउट रहँदै १ सय २१ रनको शतकीय साझेदारी गरेर एपीएफको जित सुनिश्चित गरेका थिए । उनीहरूलाई आउट गर्न मेयर टिमका कप्तान सन्दीपले आफूसहित ८ जना बलर लगाएका थिए । तर, एक जनाले पनि विकेट हात पार्न सकेनन् ।

जोरा ६२ रनमा र सरद ६१ रनमा नटआउट रहेका थिए । जोराको तुलनामा सरदले धेरै बलको सामना गरेका थिए । उनले कप्तानी भुमिका राम्ररी निर्वाह गरेका थिए । उनले १ सय १८ बलको सामना गरेर ५ चौका र १ छक्का प्रहार गरेका थिए । जबकी जोराले ७९ बलको सामना गर्दा ९ चौका सामेल थिए । जोरा ‘प्लेयर अफ द म्याच’ समेत घोषित भएका थिए । मेयर टिमका बलरमा अनुज, अनिल र सन्दीपलाई एक–एक विकेटको सफलता मिलेको थियो ।

प्रतिक्रिया दिनुहोस्