सरकार निजी क्षेत्रसंँग हातेमालो गर्न तयार



यमलाल भुसाल, बुटवल ।

लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष डा. ईश्वर गौतमले मुलुकको अर्थतन्तन्त्रको सुदृढीकरणको लागि सरकार निजी क्षेत्रसंँग हातेमालो गरेर अगाडि बढ्न चाहेको बताउनुभएको छ । बुटवल उद्योग बाणिज्य संघको नवनिर्वाचित कार्यसमितिको पदस्थापन कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष डा. गौतमले सो कुरा बताउनुभएको हो ।

प्रदेश सरकारले निजी क्षेत्रबाट देखिने गरी योजना अगाडि बढाएको र निकट भविष्यमा प्रतिफल प्राप्त हुन उहाँले दाबी गर्नुभयो । कार्यक्रममा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले औद्योगिक विकासको लागि निजी क्षेत्रले सुरक्षित लगानीको वातावरण खोज्नु स्वभाविक भएको बताउँदै त्यसमा प्रशासनको तर्फबाट आफूले वातावरण बिग्रिन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा नवनिर्वाचित अध्यक्ष उज्जवल कसजुले सबैलाई समेटेर कार्ययोजना तयार गरी त्यसका आधारमा संघका गतिविधिलाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

त्यस्तै निवर्तमान अध्यक्ष खिमबहादुर हमालले आफ्नो कार्यकालमा उद्योगी व्यवसायीका व्यावसायिक समस्या समाधानको लागि पहल गर्दै कृषिसहितका तीन वटा मेला, दशैं बजार सञ्चालन गर्न सफल भएको र कृषिमा आधारित बहुउद्देश्यीय व्यावसायिक भवन निर्माणको लागि बुटवल १५ मा ७ कठ्ठा जग्गा खरिद समेत गरिएको जानकारी गराउनुभयो । त्यस अवसरमा संघका पूर्वअध्यक्ष जीवनप्रसाद वझा, रामेश्वरप्रसाद श्रेष्ठ लगायतले मन्तव्य राख्नुभएको थियो भने वरिष्ठ उपाध्यक्ष दिनेशप्रसाद श्रेष्ठले धन्यवाद मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन महासचिव बिमलराज भट्टराईले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्