‘अफगानी रणमैदान’ को लोकार्पण



काठमाडौं, (नेस) ।

साहित्यकार केदार संकेतको नवनीतम कृति ‘अफगानी रणमैदान’ को राजधानीमा लोकार्पण गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार रोचक घिमिरे, समीक्षकहरू प्रा.डा. गोविन्दराज भट्टराई, प्रा.डा. कुमार कोइराला, डा. नेत्र एटम, वरिष्ठ पत्रकार श्रीओम श्रेष्ठ ‘रोदन’, साहित्यकार इल्या भट्टराई र कवि उत्तम कातिचले संयुक्त रूपमा कृतिको विमोचन गर्नुभएको हो ।

कार्यक्रममा वक्ताहरूले सर्जक संकेतको यो कृति युद्ध साहित्यमा रूचि राख्नेका लागि एक महत्वपूर्ण दस्तावेज भएको बताए । युद्ध साहित्यमा अहिलेसम्म महत्वपूर्ण कृति प्रकाशित नभएको भन्दै वक्ताहरूले नेपाली साहित्यमा यस कृतिको खास महत्व प्रमाणित भएको धारणा राखे । युद्धको बर्बर अवस्थाबाहेक माया, प्रेम, यौवनसहित व्यङ्ग्यका पक्षलाई बेजोडसँग समेट्न कृति सफल भएको वक्ताहरूको भनाइ थियो ।सांग्रिला बुक्सले यो पुस्तक प्रकाशित गरेको हो । आफैं जलिरहेको देश (कविता सङ्ग्रह), एथेन्सको झरी (नियात्रा), सङ्केतका कवितालगायतका कृति प्रकाशित गरिसकेका सर्जक सङ्केत विभिन्न पुरस्कारबाट पुरस्कृत भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्