प्राकृतिक प्रकोप न्यूनीकरणमा पूर्वतयारीको खाँचो



मानिसको जीवनमा आगोको ठूलो महत्व छ । तर यिनै अग्निदेवका कारण आज आगलागीका समस्या उब्जेका छन् । आगो आफंैमा शत्रु होइन, हाम्रो व्यवहार शत्रु हो । यसैले आगोको यो भयावह समस्या कसरी नियन्त्रणमा लिने भन्ने कुरा ठूलो चुनौती पनि बनेको छ ।

गर्मी तथा सुक्खा मौसममा विभिन्न जिल्लामा आगलागीका घटनाबाट ठूलो धनजनको क्षति हुने क्रम जारी छ । यसबाट जंगल, जमिन, जंगली जनावर, जल र चराचुरुंगीको बासस्थानमा समेत असर पार्नुका साथै कतिपय स्थानमा त अपूरणीय मानव क्षतिसम्म भएकोले यसलाई समाधानार्थ थप गम्भीर हुनै पर्ने अवस्था हाम्रा सामु छ ।शहरबजारमा हुने आगलागीका घटनामा विद्युतीय उपकरणको घर्षण, नांगा तारको छेकबार नगरिनु र चट्याङले धेरै प्रतिशत ओगटेको पाइएला । गाउँघरमा हुने आगलागी मानवीय कमजोरी, असावधानी र असुरक्षित आवासका कारणले गर्दा हो । कतिपय ठाउँमा त बदलाको भावनाले पनि काम गरेको देखिन्छ । हुलदंगा हुँदा, जातीय, क्षेत्रीय, भौगोलिक, भाषिक, धार्मिक, साँस्कृतिक र साम्प्रदायिक द्वन्द्व चर्किंदा पनि आक्रोशित भीडले आवेगमा आएर आगो लगाउने गर्छन् । त्यस्ता तत्वलाई उचाल्ने काम दलहरूले गरेका भेटिन्छन् ।वनको डढेलो गाउँ पसेर पनि किनारका बस्ती सखाप पारेको भेटिन्छ । घाँस, दाउरा खोज्न र गाई, भैँसी, भेडा, बाख्रा, चराउन जाने अम्मलीले ननिभाइर्कन फालेका चुरोट र बिँडीका ठुटाले पनि ठूलै विपत निम्त्याउने गरेको छ ।

नेपाल बहुप्रकोपीय जोखिम भएको देश हो । जोखिम न्यूनीकरण तथा पूर्वतयारीमा पर्याप्त लगानी र चासो कम हुनु, जनचेतनाको अभावजस्ता कारणहरूले गर्दा विभिन्न खालका प्रकोपहरूबाट हुने आर्थिक तथा मानवीय क्षति बढिरहेको अवस्था छ । प्राकृतिक तथा मानवजन्य विपत्तिको फलस्वरूप हुने आर्थिक क्षतिका कारण देशको वार्षिक कुल गार्हस्थ्य उत्पादनमा साढे ४ प्रतिशतसम्मको नोक्सानी हुने गरेको छ ।जनसंख्याको अनुपातमा नेपालमा विपद्बाट हुने मानवीय क्षति विश्वमै उल्लेखनीय छ र दक्षिण एसियाका मुलुकहरूमध्येमा त सबैभन्दा बढी रहेको तथ्यांकले देखाउँछ । आर्थिक तथा भौतिक क्षतिका हिसाबले पनि नेपाल अग्रस्थानमै छ र यो बर्सेनि बढ्ने क्रममा पनि छ । यसरी प्रकोपजन्य घटनाका कारण हुने आर्थिक र मानवीय क्षति आफैँमा आर्थिक विकासमा ठूलो चुनौती हो । सीमित स्रोत र साधनबाट धेरै विकासका काम गर्नुपर्ने नेपालजस्तो मुलुकका लागि विपद्बाट हुने क्षति न्यूनीकरणमा ध्यान दिन सकिएन भने यो विकास प्रक्रियामै ठूलो बाधकका रूपमा खडा हुनेछ ।मौसमजन्य, भौगर्भिक, जैविक तथा जलवायु परिवर्तनको जोखिमको दृष्टिकोणबाट निकै संकटापन्न अवस्थामा रहेको नेपालमा पछिल्ला वर्षहरू प्राकृतिक विपद्का दृष्टिले निकै भयावह साबित भएका छन् । हजारौँको ज्यान लिने भूकम्प, गाउँ नै पुर्ने पहिरो, बाढी, डढेलो, खडेरीजस्ता प्राकृतिक विपत्तिहरूले एकपछि अर्को गर्दै नेपाललाई पिरोलिरहेका छन्, जसका कारण ठूलो जनधन तथा पर्यावरणीय र भौतिक क्षतिको सामना गरिरहनुपरेको छ देशले ।

जलवायु परिवर्तनका हिसाबले चौथो, भूकम्पीय हिसाबले विश्वको ११ औँ तथा बाढीपहिरोलगायतका प्रकोपका हिसाबले ३० औँ जोखिमपूर्ण स्थानमा रहेको भनिएको नेपालमा घटित यावत् घटनाक्रमहरूलाई दृष्टिगत गर्दा हाम्रो जोखिमपूर्ण प्रकोपको अवस्थालाई प्रस्ट पार्छ । हिमालय क्षेत्रको कमजोर भौगोलिक बनावट, भारतीय तथा तिब्बतीयन प्लेटको बीचमा पर्ने भूकम्पीय दृष्टिले निकै जोखिमपूर्ण भौगर्भिक संरचनालगायतका कारणले नेपाल प्रकोपको उच्च जोखिममा रहेको हो । नेपालमा प्रकोप संकटापन्न पक्ष आफैँमा संवेदनशील छ, तर त्योभन्दा भयानक विषय भनेको विपद्को कारण हुने क्षतिको दर निकै उच्च हुनु हो ।प्राकृतिक प्रकोपहरू स्वचालित घटनाक्रम हुनुका नाताले यिनलाई रोक्न नसकिने भए पनि यसबाट हुने क्षति घटाउन सकिन्छ । त्यस्तै, मानवजन्य प्रकोपहरूको नियन्त्रण मानिसकै हातमा हुन्छ । विकास प्रक्रियामा विपद् व्यवस्थापनको विषयलाई आबद्ध गर्ने, विपद् व्यवस्थापनको विषयलाई गरिबी निवारण र सामुदायिक सशक्तीकरणसँग जोड्ने, वातावरण संरक्षण तथा स्रोतको दिगो उपयोगजस्ता विषयमा जनचेतना वृद्धि गर्ने र राहत तथा उद्धारमुखीभन्दा पनि प्रकोप सुरक्षा र पूर्वतयारीका विषयमा राज्यका निकायहरू केन्द्रित हुने हो भने विपद्बाट हुने क्षति घटाउन सकिन्छ ।

हामी प्राकृतिक प्रकोपको उच्च जोखिममा रहे पनि जोखिमबाट बच्ने र क्षतिलाई न्यूनीकरण गर्ने उपायका बारेमा अनभिज्ञ छौँ । त्यसैले, प्रकृतिको खेल भनी प्रकोप सहनु हाम्रो बाध्यता बनिरहेको छ । हामीले प्राकृतिक प्रकोपलाई पूर्णरूपमा रोक्न नसके पनि पूर्वतयारी र सावधानी अपनाउने हो भने क्षति न्यूनीकरण गर्न सक्छौँ । जनचेतना जगाउने हो भने मानवीय कारणले गर्दा हुने प्राकृतिक विपत्तिको दर पनि कम गर्न सकिन्छ । यसका लागि सम्बन्धित निकायले विपत्तिपछि राहत बाँड्न दौडिनेभन्दा प्रकोपको जोखिम कम गर्ने, क्षति घटाउनेलगायतका पूर्वतयारीका उपायमा ध्यान केन्द्रित गर्नुपर्छ ।
– सीताराम बोगटी, 

प्रतिक्रिया दिनुहोस्