वाग्मतीको अवस्था देख्दा दुःख लाग्छ



मानव मृत्यु संस्कार आ–आफ्नो धर्म, परम्पराअनुसार गरिन्छ । अधिकांश हिन्दुहरुले शवको दाह संस्कार गरेपछि भष्मलाई नदीमा बगाउने चलन छ । पशुपति आर्यघाटमा प्रदूषित लेदो पानीमा यस्तो खरानी सेलाउँदा हामी हिन्दु अनुयायीलाई गौरव होइन, हीनताबोध हुने गर्छ । त्यसैले पशुपति आर्यघाटदेखि तल बाँधसम्म बग्ने नदीमा सेना र पुलिसका पानी ट्यांकर प्रयोग गरी स्वच्छ पानी बग्ने व्यवस्था बनाउन नितान्त आवश्यक छ । हरेक हप्ता वाग्मती सफाइ गर्ने अभियानले स्वच्छ वाग्मतीमा स्वच्छ पानी पार्न नसक्नु दुःखको कुरा हो ।

मृत्युपश्चात् दाह संस्कार गरेपछिको खरानी वाग्मतीको जस्तो लेदो पानीमा सेलाउनु क्षम्य हुँदैन कि ? बरु यस्तो खरानीलाई स्वच्छ, शुद्ध स्थानमा वाग्मतीछेउमा माटोमुनि सेलाउन विधानले दिने भए उपयुक्त हुने थियो ? विद्वत् वर्गले यतातर्फ सोच्नुपर्ने देखिन्छ । धर्म, परम्परालाई पनि जोगाउने गरी विकल्पको खोजी हुनुपर्ने बेला आएको छ ।जबसम्म ढल मिसिएको क्षेत्रमा पानी प्रशोधन उपकरणको जडान हुँदैन, तबसम्म वाग्मती सफा हुने छाँटकाँट देखिँदैन ।

कि त ढल मिसाउनेलाई कानुनीरुपमा अत्यधिक दण्डको व्यवस्था कायम गर्नुपर्दछ । यस्तो हिन्दु धर्म विपरीत कार्य गर्नेलाई कडा सजाय दिनु जरुरी छ । पशुपति क्षेत्रमा धेरै वर्ष बिताएको नाताले पनि वाग्मतीको पहिलेको स्वरुप कस्तो थियो भन्ने कल्पना गर्न पुगिन्छ । तर वाग्मतीको अहिलेको अवस्था देखेर दुःख लाग्छ ।
– डा. सुमनकुमार रेग्मी,

प्रतिक्रिया दिनुहोस्