स्याङ्जाको पहिलो बालमैत्री नगर बन्यो भीरकोट



अमृत अर्याल, स्याङजा ।

स्याङ्जाको भीरकोट नगरपालिकालाई बालमैत्रि नगर घोषणा गरिएको छ । गण्डकी प्रदेशका प्रमुख अमिक शेरचनले विशेष समारोहका बीच भीरकोट १ शिशौघारीमा आयोजित कार्यक्रममा नगरलाई बालमैत्रि नगर घोषणा गर्नुभएको हो । बालमैत्रि घोषणा गर्नुहुँदै प्रमुख शेरचनले बालमैत्रि कार्यक्रमले बालबालिकामाथि हुने सबै खाले अन्याय र अत्यचारको अन्त्य हुने बताउनुभयो ।

प्रमुख शेरचनले भन्नुभयो, ‘बालमैत्रि स्थानीय शासन सबै तहमा हुन आवश्यक छ यसले बालश्रम, बालविवाह जस्ता घटनालाई न्युनिकरण गर्छ ।’ हरेक तह व्यवहारिक रुपमै बालमैत्रि हुन आवश्यक रहेको भन्दै प्रमुख शेरचनले बालबालिकाको क्षेत्रमा गरिने लगानीले भविष्यमा उचित प्रतिफल मिल्ने बताउनुभयो ।

प्रमुख शेरचनले भन्नुभयो, ‘बालबालिकाको शिक्षा र स्वास्थ्यको जिम्मा राज्यले लिनुपर्छ । असल र निष्ठावान नागरिक निर्माणका लागी बालबालिकाको क्षेत्रमा लगानी गर्न आवश्यक छ ।’ भीरकोटले बालबालिकाको क्षेत्रमा लगानी गरेको प्रति प्रशंसा गर्दै उहाँले संविधानले निर्दिष्ट गरेका बालमैत्रि सम्बन्धी विषयवस्तुलाई बालमैत्रि घोषणाले कार्यान्वयनमा ल्याएको शेरचनले बताउनुभयो ।

कार्यँक्रममा नेपाली कांगे्रस गण्डकी प्रदेशका संसदीय दलका नेता कृष्णचन्द्र नेपाली, प्रदेश सांसद दिपक चर्तीमगर, प्रदेश सांसद मेखलाल श्रेष्ठ, जिल्ला समन्वय उपप्रमुख दिलिप बगाले, गलकोट नगरपालिकाका मेयर भरत गैह्रे, प्रमुख जिल्ला अधिकारी दिपकराज नेपाल, वडा नंं १ का अध्यक्ष एवं प्रवक्ता दिपेन्द्र केसी, २ का वडा अध्यक्ष कमल त्रिपाठी, बालसंजालका नगर अध्यक्ष सुदिप पौडेल लगायतले बोल्नुभएको थियो । साथै कार्यक्रममा भीरकोटले डिजिटल प्रोफाईल समेत सार्वजानिक गरेको छ ।

कार्यक्रममा नगरप्रमुख छायाराम खनालले नगरलाई बालमैत्रि नगर घोषणाका लागी गर्भावस्थादेखि नै स्वस्थ बालबालिका लक्षित कार्यक्रमहरु गरिएको भन्दै गर्भवतीलाई अण्डा वितरण, नियमित गर्भ जाँच, पुर्ण खोपको सुनिश्चिता गरिएको बताउनुभयो । खनालले भन्नुभयो, ‘हामीले बाल विवाह न्युनिकरण, बालश्रमको अन्त्यका विभिन्न कार्यक्रमहरु गरेका थियौँ र हामी आज सफल पनि भएका छौँ । बालमैत्रि नगर घोषणा भएको छ ।’

नेपालभरीका नगरपालिकामध्ये भीरकोट ७औँ, गण्डकी प्रदेशमा दोस्रो र स्याङ्जामै पहिलो बालमैत्रि नगर घोषित भएको हो । बालमैत्रि नगर घोषणाका लागी भीरकोटले २०७५ साल पौष ९ गतेदेखि नै बालमैत्रि स्थानीय शासन अवलम्बन गरी वडा तथा नगरमा बालमैत्रि स्थानीय शासन अवधारणालाई सुनिश्चित गर्दै बालमैत्रि स्थानीय शासन राष्ट्रिय रणनितिमा आधारित भई आवधिक वार्षिक योजना शुरु गरेको थियो ।

गतवर्षको चैत्रमै बालमैत्रि घोषणाको तयारीमा रहेपनि कोभिडका कारण घोषणा हुन सकेको थिएन् । घोषणाका ३९ सूचकहरु पुरा गरी बालमैत्रि नगर घोषणा गरिएको हो । ३९ सूचक मध्ये २० ओटामा १०० प्रतिशत र १९ ओटा ९९.६७ प्रतिशत नतिजा हाँसिल गरेको छ । त्यस्तै सोही अवसरमा बालबालिकाको स्थितिपत्र समेत प्रकाशन गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्