महाशिवरात्रिमा डोलेश्वरदेखि कैलाशपतिसम्म घुइँचो



भक्तपुर । महाशिवरात्रि पर्वका अवसरमा यहाँका प्रसिद्ध शिवालय केदारनाथको शिर डोलेश्वर, आशापुरीदेखि साँगाको अग्लो कैलाशनाथ महादेवसम्ममा दर्शनार्थीको भीड लागेको छ । शिवरात्रि पर्वका लागि मात्रै मन्दिरको चारै ढोका खुला रहने सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित डोलेश्वर महादेव मन्दिरमा आज दर्शनार्थीको बिहान ४ः०० बजेदेखि नै भीड लागेको डोलेश्वर महादेव मन्दिर व्यवस्थापन समितिका सञ्चार संयोजक मोहन बल्लले जानकारी दिनुभयो ।

मध्यराति मन्दिरमा विशेष प्ूजा गरेपछि बिहान ४ः०० बजेदेखि दर्शनका लागि मन्दिरको ढोका खुला गरिएको र बिहानैदेखि लामबद्ध दर्शनार्थीका लागि सहज पूजा एवं दर्शन गर्ने व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो । आजका लागि मन्दिरको पूर्व, पश्चिम र दक्षिण गरी चारवटै ढोका खोलेर मन्दिरभित्र प्रवेश गरी दर्शन गर्ने व्यवस्था गरिएको छ । भक्तजनलाई विषेश पूजा, हवन र रुद्धाभिषेक गरी पञ्चस्नान गराउने व्यवस्था गरेको समितिका दिलीप केसीले जानकारी दिनुभयो ।

मन्दिरमा हुने भिडभाडको व्यवस्थापनका लागि महानगरीय प्रहरी वृत्त जगातीका प्रहरी, ट्राफिक प्रहरी र स्वयंसेवक परिचालन गरेको छ । मन्दिर परिसरमा स्वस्थ्य परीक्षणका लागि स्वयंसेवकका रुपमा नेपाली सेना इन्द्र बक्स दल गण सूर्यविनायकका चिकित्सकको टोलीले स्वास्थ्य शिविर सञ्चालन गरेको छ । डोलेश्वर आउने साधुसन्त एवं नागा बाबालाई समितिले एक/एक थान धोती र कम्बल तथा तहअनुसार रु एक हजार १००, रु एक हजार ३०० र रु एक हजार ५०० का दरले भेटी दिएर भोली समितिले बिदाइ गर्ने भएको छ ।

यता सिपाडोलकै प्रसिद्ध आशापुरी महादेव मन्दिरमा पनि आज दर्शनार्थीको भीड लागेको छ । मनले चिताएको आशा पूरा गर्ने जनविश्वास रहेको आशापुरी महादेवमा दर्शनार्थीको भीड लागेको हो ।

त्यस्तै सूर्यविनायक नगरपालिका– १० चित्तपोलमा रहेको साँगास्थित अग्लो महादेवका रुपमा चिनिएको कैलाशपति महादेव मन्दिरमा पनि बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ । दर्शनार्थीलाई सहज दर्शन गर्ने व्यवस्था गरिएको र त्यसका लागि सुरक्षाकर्मीदेखि स्वयंसेवक परिचालन भएको मन्दिरका व्यवस्थापक कमल जैनले जानकारी दिनुभयो । त्यसैगरी सूर्यविनायक नगरपालिकाभित्र रहेका गुप्तेश्वर, सोमलिङ्गेश्वर, चरखण्डेश्वर, अनन्तलिङ्गेश्वर महादेव मन्दिरमा पनि दर्शनार्थीको भीड लागेको छ । ९तस्विर छ०

प्रतिक्रिया दिनुहोस्