कोरनाविरुद्ध खोप लगाउन वृद्धवृद्धा उत्साही



न्युज अफ नेपाल, काभ्रे ।

कोभिड १९ विरुद्ध खोप अभियान अन्तर्गत अहिले ६५ वर्ष माथिका वृद्धवृद्धालाई खोप लगाउने कार्य भैरहेको छ । यो खोप लगाउन वृद्धवृद्धा उत्साहका साथ सहभागि पनि भैरहेका छन् ।

अभियान अन्तर्गत काभ्रे जिल्लाको पनौती नगरपालिका अन्तर्गत सबै वडा क्षेत्रमा खोप अभियान सञ्चालन गरिएको छ । नगरपालिकाको ११ वटा वडामध्य अब वडा नं ७ का वृद्धवृद्धालाई मात्र खोप लगाउन बाकि छ । यो वडामा पनि शुक्रवार र शनिवार खोप लगाउन इन्द्रेश्वर उच्च माविमा केन्द्र तोकिएको छ ।

विहिवार वडा नं ८ र वडा नं ४ का बासिनदालाई खोप लगाइएको छ । यो खोप लगाउन धेरै जसो वृद्धवृद्धा एक्लै आएका थिए भने केहि वृद्धवृद्धालाई घरपरिवारका सदस्यले खोप केन्द्र सम्म ल्याएका थिए । खोप सञ्चालन गर्न खोप केन्द्रमा एकजना डाक्टर सहित स्वास्थ्यकर्मीहरु खटिएका छन् । टौखाल हेल्थपोष्टका इन्चार्ज बाबुराम सुवेदीका अनुसार खोप लगाउन प्रत्यक वडामा ९५ प्रतिशत भन्दा बढी वृद्धवृद्धा आउने गरेका छन् ।

खोप लगाइसके पछि खोप लगाएको ठाउमा दुख्ने, रातो तातो हुने, कडा हुने, सुन्निने, चिलाउने, ज्वरो आउने, जाडो हुने, टाउको दुख्ने, माशपेशीको पिडा हुने, जोर्नी दुख्ने तथा वाकवाकी लाग्ने जस्ता समस्या आउन सक्ने भएकोले यसबाट नआत्तिन स्वास्थ्यकर्मीहरुले अनुरोध गरेका छन् ।

कतिपय वृद्धवृद्धा खोप लगाएपछि ज्वरो आउछ भन्दै खोप लगाउन नआउने गरेको पाइएको महिला स्वयंसेवी सिता थापा बताउछिन् । खोप लगाएपछि सम्भावित समस्यालाई ध्यानमा राख्दै केही समस्या आएमा सिटामोल खान सल्लाह दिएका छन् । पनौती नगरपालिका क्षेत्र भित्र ६५ वर्ष माथिका वृद्धवृद्धाको संख्या करिब ३ हजार रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्