चुनावको विकल्प छैनः उपप्रधानमन्त्री पोखरेल



कृष्णउदास खनाल, वीरगन्ज ।

उपप्रधानमन्त्री एंव नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले संसद स्वभाविक प्रकृया अनुसार नचले ताजा जनादेशमा मुलुक जाने बताउनु भएको छ । वीरगन्जमा बिहीबार आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै एमाले महासचिव पोखरेलले संसद स्वभाविक प्रकृया अनुसार चले ठिकै छ यदि त्यसो भएन भने मुलुक ताजा जनादेशमा जाने र त्यसका लागि तयार रहन पार्टीका नेता कार्यकर्ताहरुलाइ निर्देशन दिनुभयो । उहाँले सर्वोच्च अदालतको पछिल्लो निर्णय पछि नेकपा एमाले २०७५ जेठ २ गतेको अवस्थामा पुगेको र त्यही अनुसार अब अगाडि बढ्ने बताउनुभयो ।

उहाँले माओवादी केन्द्रबाट एमालेमा आएका सम्पूर्ण नेताहरुलाइ सम्मानजनक स्थान दिएर व्यवस्थापन गरिने पनि बताउनुभयो । अब सरकार र एमालेको पार्टीको एउटै उदेश्य मुलुकमा राजनीतिक स्थायीत्व प्रदान गर्ने र यसलाइ नै केन्द्रमा राखेर सरकार र एमाले अगाडि बढ्ने पोखरेलले बताउनुभयो । पुर्नजिवित एमालेले सबै बामपन्थि शक्तिहरुलाइ समेट्दै अगाडि बढ्ने पनि उहाँले बताउनुभयो ।

उपप्रधानमंत्री पोखरेलले माओवादीले गर्ने ब्यवहारका आधारमा पनि सरकारको भविष्य निर्धारण हुने र राजनीतिमा सबै संभावनाहरु रहने हुदा सरकार जो संग पनि सहकार्यमा बन्न सक्ने बताउनुभयो। फरक प्रसङगमा बोल्दै उपप्रधानमन्त्री पोखरेलले कोरोना संक्रमणका कारण बन्द गरिएका भारतसंग खुल्ला सीमा जोडिएका वीरगन्ज सहितका नाकाहरु औपचारिक रुपमा खोल्ने विषयमा सरकारले छिटटै निर्णय गर्ने जानकारी दिनुभयो । उहाँले सडक निर्माणको बिषयमा बर्तमान सरकारले कसैसंग संझौता नगर्ने भन्दै अधुरा रहेका सडकहरुले तत्काल गति लिइ चांडै निर्माण सम्पन्न हुने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्