युभेन्ट्स अन्तिम १६ बाटै बाहिरियो



लन्डन, एजेन्सी

पोर्चुगीज क्लब एफसी पोर्टोसँग पराजित भएपछि इटालियन सिरी ए क्लब युभेन्ट्स युरोपियन च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ बाटै बाहिरिएको छ ।
प्रतियोगिता अन्तर्गत मंगलबार राति भएको अन्तिम १६ को दोस्रो लेगको निर्णायक खेलमा पोर्चुगिज क्लब पोर्टोले युभेन्ट्सलाई समग्रमा अवे गोलमा पछि पार्दै क्वार्टफाइनलबाट विदा गरिदिएको हो । पहिलो र दोस्रो लेगका खेल सकिँदा नतिजा समग्रमा ४–४ को बराबरी भए पनि बढी अवे गोलका आधारमा पोर्टोले युभेन्ट्सलाई पछि पार्न सफल भयो । दोस्रो लेग युभेन्ट्सले आफ्नो घरेलु मैदानमा ३–२ ले जिते पनि पहिलो लेग २–१ ले हारेका कारण जारी सिजनको च्याम्पियन्स लिग यात्रा टुङ्गिएको हो ।

युभेन्ट्सको घरेलु मैदानमा पोर्टोले दुई गोल गरेपछि युभेन्ट्स संकटमा परेको थियो । खेल निर्धारित ९० मिनेटमा ३–३ को बराबरी भएपछि ३० मिनेट थप गरिएको थियो, जहाँ पाहुना टोलीले गोल गर्दै नतिजा आफ्नो पक्षमा निकाल्यो । पोर्टो खेलको ५४औं मिनेटमै १० खेलाडीमा सीमित भएको थियो । ९० मिनेटपछि खेल थप समयमा जाँदा युभेन्ट्सलाई खेल जित्न गोल नबेहोरी एक गोेल गरे पुग्ने अवस्था थियो । तर, एक गोल बेहोरेपछि युभेन्ट्सलाई खेल जित्न दुई गोल आवश्यक बन्यो । युभेन्ट्सले ११७औं मिनेटमा एक गोल त फर्कायो । तर, थप अर्को गोल गर्न नसक्दा खेल समग्रमा ४–४ को बराबरीमा सकियो । दुई अवे गोल गरेका कारण पोर्टोले बाजी मार्न सफल भयो ।खेलको ११५औं मिनेटमा फ्रि किकमार्फत् गोल खाएपछि युभेन्ट्स संकटमा परेको थियो । युभेन्ट्सका लागि युवा खेलाडी फेडरिको किइजाले दुई र आड्रन राबिओटले एक गोल गरे पनि टिमको यात्रालाई लम्ब्याउन सकेन । पोर्टोले खेलको १९औं मिनेटमा सर्जियो ओलिभेराको पेनाल्टी गोलमार्फत् अग्रता बनाएको थियो । त्यसपछि युभेन्टसलाई खेल बराबरी गर्न दुई गोल आवश्यक थियो, जुन किइजाले गरे । दोस्रो हाफ सुरु हुनासाथ ४९औं मिनेटमा क्रिस्टियानो रोनाल्डोको पासमा किइजाले सुन्दर गोल गरेपछि टिमको आशा जगाएका थिए । त्यसपछि खेलको ६३औं मिनेटमा किइजाले नै व्यक्तिगत दोस्रो गोल गरेपछि युभेन्ट्सले खेलमा २–१ को अग्रता लियो र समग्रमा खेल ३–३ को बराबरी भयो ।

यो स्थितिमा दुवै टिमको होम एन्ड अवे समेत गरी गोल बराबरी भएकाले खेल पनि बराबरी अवस्थामा थियो । यो स्थितिमा युभेन्ट्सलाई खेल जित्न एक गोल पुग्ने थियो । तर, निर्धारित ९० मिनेटमा दुवै टिमले गोल गर्न नसकेपछि खेलमा ३० मिनेट थप भयो, जहाँ घरेलु टोली स्तब्ध बन्यो । ३० मिनेटको पहिलो हाफमा पनि कुनै गोल भएन । तर, ११५औं मिनेटमा पोर्टोका ओलिभेराले नै फ्रि किकमार्फत् गोल गरे । उनले मानव पर्खाल मुनिबाट बार च्याप्दै हानेको सटले जाली चुमेको थियो ।
सो गोलपछि खेल जित्न युभेन्ट्सलाई बाँकी पांच मिनेटमा दुई गोल आवश्यक थियो । खेलको ११७औं मिनेटमा राबिओटले फ्रि हेडरमा गोल गरेर आशा जगाएका थिए । योसँगै युभेन्ट्स लगातार तेस्रो वर्ष च्याम्पियन्स लिगबाट आउट भयो । च्याम्पियन्स लिगका सर्वाधिक सफल खेलाडी रोनाल्डो युभेन्ट्समा अनुबन्ध भएपछि टिम च्याम्पियन्स लिगको सेमिफाइनलसमेत पुग्न सकेको छैन ।

त्यस्तै, मंगलवार राति नै भएको अर्को खेलमा युवा स्टार अर्लिङ हल्यान्डको दुई गोलको मदतमा जर्मन क्लब बोरुसिया डर्टमन्ड समग्रमा जित निकाल्दै युरोपियन च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । अन्तिम १६ अन्तर्गत दोस्रो लेगको खेलमा डर्टमन्डले आफ्नो घरेलु मैदानमा पाहुना टोली स्पेनिस क्लब सेभियासँग २–२ को बराबरी खेलेपनि पहिलो र अवे लेग जितेकाले डर्टमन्ड समग्रमा ५–४ को नतिजाका साथ क्वार्टरफाइनल प्रवेश गरेको हो । दोस्रो लेगको निर्णायक खेलमा डर्टमन्डलाई २–२ को बराबरीमा सिमित राख्न २० वर्षका नर्वेजियन फरवार्ड हल्यान्डले एक पेनाल्टीसहित दुई गोल गरे । डर्टमन्डका लागि खेलको ३५औं मिनेटमा हल्यान्डले पहिलो गोल गरेका थिए । उनले डीबक्स भित्रबाट मार्को रेउसको पासमा सहजै गोल गरेका थिए । त्यसपछि अर्को गोल खेलको ५४औं मिनेटमा हल्यान्डले नै पेनाल्टीमार्फत गरेका थिए ।

हल्यान्डले पहिलो पेनाल्टी प्रहार सेभियाको गोलकिपरले रोकिदिएका थिए । तर, पेनाल्टी नियमसंगत नभएपछि रेफ्रीले दोस्रोपटक पेनाल्टी हान्न दिएका थिए, जसमा हल्यान्डले गोल गरेर खेल २–० बनाए । तर, खेलको ६८औं मिनेटमा सेभियाका युसेफ इन–नेश्रीले पेनाल्टीमार्फत् गोल गरेर खेल २–१ बनाए । त्यसपछि ९० मिनेटपछि थप समयको छैटौं मिनेटमा नेश्रीले नै अर्को गोल गरेपछि दोस्रो लेग २–२ मा सकियो । यसअघि सेभियालाई उसैको घरेलु मैदानमा ३–२ ले हराएकाले डर्टमन्ड समग्रमा ५–४ को नतिजाका साथ क्वार्टरफाइनल प्रवेश गर्न सफल भयो ।

प्रतिक्रिया दिनुहोस्