गाउँपालिका अध्यक्षको घर तोडफोड



सर्लाही, (नेस)  ।

चन्द्रनगर गाउँपालिकाको कार्यालय चन्द्रनगर नाढीमन ताल परिसरबाट बबरगन्जमा सार्न खोजेको भन्दै स्थानीयले चन्द्रनगर गाउँपालिकाका अध्यक्षको घरमा तोडफोड गरेका छन्। आक्रोशित स्थानीयले बुधबार दिउँसो बबरगन्जमा रहेको गाउँपालिका अध्यक्ष महेन्द्र महतोको घर तोडफोड गरेको स्थानीय भाग्यनारायण साहले जानकारी दिनुभयो।

साविक चन्द्रनगर नाढी ताल परिसरमा रहेको कार्यालयलाई गाँउपालिका अध्यक्षले विशेष गाउँसभाबाट अनुमोदन गरेर घरनजिकै बबरगन्जमा सार्न खोजेपछि त्यसको विरोधमा स्थानीयले गएको शुक्रबारदेखि आन्दोलन गर्दै आएका छन्। गाउँपालिकाका अध्यक्ष महतोले चन्द्रनगरमा केन्द्र रहेको कार्यालयलाई बबरगन्जमा सार्ने विभिन्न षड्यन्त्र गरेको भन्दै कामत, चन्द्रनगर, खड्काटोललगायतका स्थानीयले गत शुक्रबारदेखि नै गाउँपालिकामा तालाबन्दीसहित लगातार धर्ना दिइरहेका नेपाली कांग्रेसका पूर्वजिल्ला सभापति सत्यदेव सिंह दनुवारले बताउनुभयो। घर घेराउ गर्दै तोडफोड हुनथालेपछि त्यस क्षेत्रमा सुरक्षाकर्मीको संख्या बढाइएको सर्लाही प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्