स्याङ्जा प्रहरीको नौलो सिर्जनात्मक कार्य, अवकाशसँंगै सीप



भूपराज बस्याल, स्याङ्जा  ।

अवकाशपछि प्रहरीले के काम गर्छन्? उत्तर सहज छ, स्वदेश अथवा विदेशमा कुनै कार्यालय वा घरको सुरक्षाका खातिर सुरक्षागार्ड बस्छन् ।
तर स्याङ्जाका प्रहरीहरूले भने अवकाशपछि विद्युत्सम्बन्धी काम गर्ने भएका छन् । स्याङ्जा घरेलु तथा साना उद्योग कार्यालयको आर्थिक तथा प्राविधिक सहयोगमा स्याङ्जाका प्रहरीहरूलाई विद्युत्सम्बन्धी तालिम दिन शुरु गरिएको छ ।

जिल्ला प्रहरी कार्यालयको हलमा सञ्चालन गरिएको उक्त तालिममा हाल २० जना बहालवाला र २ जना अवकाश प्राप्त गरी २२ जना प्रहरीको सहभागिता रहेको छ ।प्रहरीमा नयाँ अभ्यासका रूपमा अगाडि सारिएको यो कार्यक्रमले प्रहरीलाई अवकाशपछिको जीवन सहज बनाउनका लागि सीप प्रदान गर्नेछ भने प्रहरी कार्यालयभित्रै पनि विद्युत्सम्बन्धी सानातिना कामका लागि पनि बाहिरका इलेक्ट्रिसियन डाक्नुपर्ने अवस्थाको अन्त्य हुनेछ ।२० वर्षसम्म परिवारसँग अलग रहेर राष्ट्रसेवकका रुपमा खटिने प्रहरीहरु अवकाशपछि भने अरु सीप नभएको कारण जीविकोर्पाजनका लागि समस्यामा पर्ने गरेका छन् । सेवा निवृत्तिभरणले भरणपोषण नहुने भएपछि घर परिवारमा रमाएर बस्ने समयमा उनीहरू पुनः परिवारबाट अलग भएर स्वदेश वा विदेशमा सुरक्षागार्डको काम गर्न बाध्य हुने गरेका छन् ।

यही बाध्यतालाई चिर्न स्याङ्जाका प्रहरी प्रमुख होविन्द्र बोगटीले नयाँ कार्यक्रम अघि सार्नुभएको हो । महानगरीय अपराध अनुसन्धान महाशाखा तथा काठमाडांै प्रहरी परिसर हनुमानढोकामा काम गरेको राम्रो अनुभव बटुलेका बोगटीले स्याङ्जाको जिम्मेवारी सम्हालेदेखि नै जिल्लाको सुरक्षादेखि प्रहरी कर्मचारीको पारिवारिक व्यवस्थापनसम्म जुट्नुभएको हो ।प्रहरीको पारिवारिक अवस्था राम्रो भयो भने मात्र प्रहरीले उच्च मनोबलका साथ काम गर्न सक्छ र उच्च मनोबलले मात्र समाजमा राम्रो सन्देश प्रवाह गर्न सकिन्छ भन्ने विचार राख्ने बोगटीले यसअघि ‘आई लभ यु बूढी गुट नाइट’ कार्यक्रम ल्याएर निकै चर्चामा आउनुभएको थियो । देशमै नमुना कार्य गर्न सफल बोगटीले पुनः नयाँ कार्यक्रम ल्याउनुभएको हो ।

प्रतिक्रिया दिनुहोस्