झापामा लागूऔषध ओसारपोसारमा वृद्धि



उत्तम नेपाल, भद्रपुर ।

झापामा लागूऔषधका घट्नमा वृद्धि भएको छ । जिल्ला प्रहरी कार्यालय झापाको तथ्याङ्क हेर्दा गत आर्थिक बर्ष २०७६.७७ भन्दा चालु आर्थिक वर्ष २०७७.७८ को माघ मसान्त सम्म लागूऔषध कारोबार गर्ने घटना बढेको देखिन्छ । अघिल्लो आर्थिक वर्ष २०७.६७७ मा ११ महिला र १८० जना पुरुष लागूऔषधसहित पक्राउ परेका थिए । चालु आर्थिक वर्षको माघ मसान्तसम्म ६ महिला र १६६ जना पुरुष पक्राउ परिसकेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिनुभयो ।

चालु आर्थिक वर्षको ७ महिनामै १७२ जना पक्राउ परिसकेको छ । अघिल्लो एक वर्षमा १९१ जना पक्राउ परेका थिए । फागुन महिनाको तथ्याङ्क जोड्ने हो भने १८० जना नाघिसकेको प्रहरीले जनाएको छ । प्रहरीले अघिल्लो आर्थिक वर्षमा १ किलो ५९५ ग्राम ५०५ मिलिग्राम ब्राउनसुगर बरामद गरेको थियो भने, चालु आर्थिक वर्षको माघ सम्ममा १ किलो ५२६ ग्राम ३६३ मिलिग्राम ब्राउन सुगर बरामद गरिसकेको डिएसपी थापाले बताउँनुभयो । बरामद गरिएको ब्राउन सुगरको नेपाली बजार मूल्य ९० लाख बढी पर्छ ।लागूऔषध डाईजापाम, लुपिजेसिक, फेनारगन, नाइट्रोजन, गाँजा, सिरप पनि बरामद भइरहेको छ । तर, अन्य लागूऔषधको तुलनामा ब्राउन सुगर बढी बरामद भएको डिएसपी थापाको भनाइ छ । अन्य लागूऔषध प्रयोग गर्दागर्दै बढी मात्रामा नशालु पदार्थ चाहिने भएकाले पनि ब्राउनसुगरतर्फ युवावर्ग बढी लागेको अनुसन्धानले देखाएको उहाँले बताउँनुभयो ।

प्रहरीको तथ्याङ्कलाइ हेर्दा पछिल्लो समयमा झापाका सीमावर्ती नेपाली बजारमा प्रतिबन्धित लागूऔषधको अवैध कारोबार फस्टाएको छ ।
डिएसपी थापाका अनुसार लागूऔषधमा पक्राउ परेका आरोपीको बयानको आधारमा गिरोहका अन्य व्यक्तिहरूलाई प्रहरीले धमाधम पक्राउ गरिरहेको बताउँनुभयो । ब्राउन सुगरको खरिदबिक्री गर्दा सुन भन्दा बढी फाइदा हुने गरेको पाइएको छ । पाउडर जस्तो धुलो पदार्थको ब्राउन सुगर बोक्दा पनि कसैले थाहा नपाउने, बिक्री गर्दा किनेको भन्दा तेब्बर फाइदा हुने भएपछि पछिल्लो समयमा यसको अवैध कारोबार फस्टाएको छ । नेपालमा प्रतिबन्धित लागूऔषध भारतबाट भित्रिन्छ ।कारोबारीले भारतका सीमावर्ती विभिन्न सहरबाट खरिद गर्ने र लुकाई छिपाई नेपाली बजारमा ल्याउने गरेका छन् । राजधानी लगायत नेपालका अन्य सहरसम्म पुग्ने गरेको छ ।

लागूऔषध नियन्त्रण ऐन २०३३ को परिच्छेद ३ दण्ड सजाय ९१० दफा ४ को खण्ड (ज) मा अफिम, कोका र सोबाट बनेको लागूऔषधको सेवन र खेती गर्ने कार्य बाहेक अन्य निषेधित कार्य गर्ने व्यक्तिलाई यस्तो कानुनी सजायको व्यवस्था गरिएको छ । २५ ग्रामसम्मको कारोबार गर्नेलाई ५ बर्षदेखि १० वर्षसम्म कैद र ५ हजारदेखि २५ हजारसम्म जरिवाना, २५ ग्रामदेखि एक सय ग्रामसम्मको कारोबार गर्नेलाई १० वर्षदेखि १५ वर्षसम्म कैद र ७५ हजारदेखि २ लाखसम्म जरिवाना र एक सय ग्रामदेखि माथि जतिसुकै परिमाणको कारोबार गर्नेलाई १५ वर्षदेखि जन्म कैद र ५ लाख रुपैयाँदेखि २५ लाखसम्म जरिवाना तोक्ने व्यवस्था छ ।लागूऔषध गाँजा उत्पादन, तयारी, खरिद, बिक्री वितरण, निकासी वा पैठारी, ओसारपसार गर्ने व्यक्तिलाई न्यूनतम तीन महिनादेखि अधिकतम १० वर्षसम्म र पाँच हजारदेखि एक लाख रुपैयाँ सम्म जरिवाना तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्