उपभोक्ता अधिकारको मुलभुत आधार सचेतना



भक्तपुर,फागुन २५ गते ।

उपभोक्ता अधिकारको मुलभुत आधार सचेतना रहेकोमा सारोकारवालाले जोड दिएका छन् । सुर्यबिनायक नगरपालिकाको आयोजना गरेको उपभोक्ता सचेतना कार्यक्रममा बोल्दै नगरपालिकाका उपप्रमुख जुना बस्नेतले गुणस्तरीय बस्तु र सेवाको उपभोगमा उपभोक्ता आफै पनि सचेत हुनुपर्ने बताउनुभयो ।

नगरपालिकाका बजार अनुगमन शाखा संयोजक समेत रहनुभएका उपप्रमुख बस्नेतले उपभोक्ताका गुनासालाई सम्बोधन गर्न नगरपालिका हरदम तयार रहेको बताउँदै उत्पादित वस्तु उपभोग गर्दा उत्पादन मिति, उपभोग्य मिति र मुल्य आदि हेरेर गुणस्तरीय वस्तुको उपभोगमा सबै सचेत एवं विवेकशील हुनु पर्ने बताउनुभयो उहाँले नगरपालिकालाई नै ब्यबसाय दर्ताको केन्द्र बनाउनुपर्नेमा जोड दिंदै ब्यबसायीलाई ब्यबसाय संचालनका लागि चौतर्फी रुपमा नचाउन नहुने बताउनुभयो ।कार्यक्रममा जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रशासकीय अधिकृत यज्ञराज जोशीले उपभोक्ताको हक सुनिश्चित गर्न वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभाग,प्रदेश सरकार,जिल्ला प्रशासन कार्यालय र स्थानीय सरकारले बजार अनुगमन र उपभोक्ता सचेतना अभियान संचालन गर्दै आएको बताउनुभयो ।

घरेलु तथा साना उद्योग कार्यालय भक्तपुरका प्रमुख उमेशकुमार दाहालले बागमति प्रदेशको उपभोक्ता संरक्षण तथा उद्योग तथा बाणिज्य दर्ता प्रकृयामाथि प्रकाश पार्दै बजारले उपभोक्तालाई सम्मान गर्नुपर्नेमा जोड दिनुभयो ।उपभोक्ता मञ्चका अध्यक्ष मनोज थापाले ब्यबसायीले कर्मचारीको तलब कटाएर १५ देखि २५ प्रतिशत मात्र नाफा कमाउनुपर्ने नियम रहे पनि रातारात धनी बन्ने ब्यबसायीको सोचले उपभोक्तामैत्री बजार संचालन हुन नसकेको बताउनुभयो ।नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकीले उपभोक्ता जागरण र स्वच्छ बजार संचालनका लागि पत्रकारहरुले उपभोक्तालाई सचेत तथा सरकार,सरोकारवाला र ब्यवसायीलाई जिम्मेवार बनाउन खबरदारी गर्दै आएको बताउनुभयो ।

नगरपालिकाका बजार अनुगमन शाखाका सदस्य सचिब ,शाखा अधिकृत सुरज पौडेलले उपभोक्ता सचेतना र बजार अनुगमनलाई प्राथमिकतामा राखेर नगरपािलकाले कार्य गर्दै आएको बताउनुभयो ।कार्यक्रममा सुनपा ६ नम्बर वडाका कार्यवाहक वडाध्यक्ष राजेन्द्र तवाँतीले संविधानमा नै गुणस्तरीय वस्तु र सेवाको उपभोग गर्न पाउनु उपभोक्ताको हक हुने सुनिश्चित गरिएकोले स्थानीय सरकार त्यसतर्फ सचेत रहेको बताउनुभयो ।कार्यक्रममा जिल्ला घरेलु संघका निबर्तमान अध्यक्ष बिरेन्द्र जति लगायत उपभोक्ता,ब्यबसायी,कर्मचारीं र पत्रकारको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्