सेती जलाशययुक्त आयोजनाले करिब ९ सय घर डुबाउने



विमल विष्ट, डोटी

जिल्लाको बोगटान फुड्सिल गाउँपालिमा निर्माण गर्ने भनिएको सेतीनदी–६ जलाशययुक्त आयोजनाले डोटी र अछामका गरी करिब ८८४ घरधुरीमा असर पर्ने बताइएको छ । विद्युत् विकास विभागले सो गाउँपालिकामा गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा सो कुराको जानकारी दिइएको हो ।

उक्त आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन अध्ययनका लागि भएको सार्वजनिक सुनुवाई कार्यक्रममा सो जानकारी दिइएको हो । ३०८ मेगावाट विद्युत् उत्पादन हुने अनुमान गरिएको उक्त आयोजना पूर्ण रूपमा सम्पन्न गर्नको लागि ९१ अर्ब रुपियाँ लगानी अनुमान गरिएको छ । आयोजनाबाट सबैभन्दा बढी डोटीकोे बोगटान फुड्सिल गाउँपालिकामा क्षती हुने वातावरण परामर्शदाता डा ज्योतिप्रसाद गजुरेलले जानकारी दिनुभयो ।उक्त आयोजना निर्माणका क्रममा ८८४ घरधुरीमा असर पर्ने अध्ययनले देखाएको छ । जसमा डोटीका मात्रै ६५६ घर छन् भने बाँकी २२८ घर अछाम जिल्लाका रहेका छन्। ४०० मिटर अग्लो बाँधले अछामकोे मंगलसेन नगरपालिकाका वडा नं ३, ५, र ७, चौरपाटी गाउँपालिकाका वडा नं १ र २, डोटीको बोगटान फुड्सिल गाउँपालिकाका वडा नं २, ५, ६, र ७ मा प्रभाव पार्ने कार्यक्रममा बताइएको थियो । यस्तै डोटीकै केआइसिंह गाउँपालिकाका वडा नं २ र ३, दिपायल सिलगढी नगरपालिकाका वडा नं ७ र ८ पूर्वीचौकी गाउँपालिकाका वडा नं ५ र ७ मा पनि प्रभाव पर्ने बताइएको छ ।

भौतिक वातावरणमा पर्ने प्रमुख असर डुवान भएको सो कार्यक्रममा जानकारी दिइएको थियो । डुवान क्षेत्रमा पर्ने ६६४ पक्की घर, २२० कच्ची घर, ७५६ गोठ, १० झुलुङे फल, ६ वटा खानेपानी आयोजना, १२ वटा घाट, २० वटा मन्दिर, ४ वटा विद्यालय, २ वटा हेल्थ पोस्ट, ३२ हजार ७ सय ९९ बोटबिरुवा, ३ पक्की सडक, कच्ची सडक ९३५ कि।मी०, सिचाइ ५ योजना, एक पानी घट्टमा प्रभाव पर्ने कार्यक्रममा जानकारी दिइएको बोगटान फुड्सिल गाउँपालिका अध्यक्ष कमलबहादुर गड्सिलाले जानकारी दिनुभयो ।आयोजनाको लागि वन क्षेत्र १०४० दशमलव ९ हेक्टर, निजी जमिन १८७३ दशमलव ५ हेक्टर ३६ हजार ८२६ दशमलव ४९ रोपनी , १४६६ दशमलव १२४ हेक्टर सरकारी जमिन प्रयोग हुने जानकारी गराइएको छ । आयोजनाले कम्तिमा एक लाख १४ हजार ६०२ प्रजातिका बोटबिरुवा प्रभावित हुने वातावरण परामर्शदाता डा।ज्योतिप्रसाद गजुरेलले बताउनुभयो । उहाँले भन्नुभयो–‘आयोजना निर्माण भए केही क्षति हुने देखिएको छ, काम सम्पन्न भए विद्युत् क्षेत्रमा पनि उल्लेख्य उपलब्धि हुनेछ ।’

उहाँका अनुसार आयोजनाबाट कम लगानीमा बढी फाइदा हुने छ । उक्त आयोजनाले समग्र सुदूरपश्चिम प्रदेश र केन्द्रलाई नै फाइदा हुने गाउँपालिका उपाध्यक्ष भगवती बमले बताउनुभयो । उहाँले भन्नुभयो–‘विकास गर्दा केही न केही बिनास अवश्य हुन्छ, राम्रो कामका लागि केही क्षति भए पनि सहनुपर्छ, यहाँका विकासका योजनामा हाम्रो पूर्ण सहयोग रहने छ ।’

प्रतिक्रिया दिनुहोस्