जीडीपी सय अर्ब डलर पुर्‍याउने महासंघको लक्ष्य



नेपाल समाचारपत्र, काठमाडौं  ।

नेपाल उद्योग वाणिज्य महासंघले आगामी १० वर्षभित्र देशको कुल गार्हस्थ्य उत्पादन जीडीपी सय अर्ब डलर पुर्‍याउने लक्ष्यका साथ कार्ययोजना अगाडि बढाएको छ । महासंघको नयाँ नेतृत्व आएको सय दिनका अवसरमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष शेखर गोल्छाले सो जानकारी दिनुभएको हो ।

अध्यक्ष गोल्छाका अनुसार महासंघले भिजन पेपर तयार गरिरहेको छ । सो भिजन पेपरमा सन् २०३० सम्म कुन–कुन क्षेत्रमा कति लगानी वृद्धि बढाउने, कति रोजगारी सिर्जना हुन्छ र कुल गार्हस्थ्य उत्पादन जीडीपी सय अर्ब डलर पुग्छ भन्ने विषय समेटिएको उहाँले बताउनुभयो । महासंघको महत्वाकांक्षी योजनाका रुपमा रहेको भिजन पेपर तयार गर्न विभिन्न क्षेत्रको अध्ययन भइरहेको र छिट्टै त्यसलाई सार्वजनिक गरिने बताउनुभयो । उहाँले भिजन पेपर कार्यान्वयनका लागि छुट्टै युनिट स्थापना गरिनेसमेत जानकारी दिनुभयो । महासंघले आफ्नो क्षमता विस्तारका लागि विभिन्न क्षेत्रका विज्ञहरूको समूह गठन गरी सो समूहको सुझावका आधारमा आफ्नो कार्ययोजना बनाउने गोल्छाको भनाइ ।
महासंघको आगामी कार्ययोजनाहरू मध्ये ५० जना नवउद्यमीलाई शुरू पुँजीसहित उद्यम गर्न सहयोग गर्ने विषय अन्तिमचरण रहेको र त्यसलाई दुई साताभित्रै सार्वजनिक गरिने उहाँको भनाइ छ । त्यसबाहेक निजी क्षेत्रका उद्योग व्यवसायको तथ्यांक राख्ने र सो अनुसार काम पनि महासंघको योजना रहेको छ ।

त्यस्तै निजी क्षेत्रका अन्य छाता संगठनहरूसँग कार्यगत एकता लागि प्रयास गरिने समेत अध्यक्ष गोल्छाले जानकारी दिनुभयो । महासंघको नयाँ नेतृत्व चयन भएको सय दिनको अवधिमा आफूले प्रतिबद्धता जनाएका कामको थालनी भएको उल्लेख गर्दै यसबीचमा विभिन्नसमितिहरूको विस्तार गरिएको ती समितिको हरेक छ महिनामा कार्य सम्पादन मूल्यांकन पनि गरिने भएको छ ।यसैगरी सदस्य सेवा केन्द्रको स्थापना, सर्वोच्च अदालतको गाइड लाइन अनुसार सदस्य उद्यमी व्यवसायीको सहजताका निम्ति सहज केन्द्रको थालनी, साना उद्यमीहरूलाई ऋण सहजीकरणका लागि नेपाल बैंकर एसोसिएसनसँग सहकार्य गर्ने सम्झौता, उद्योग विभागसँगको सहकार्यमा उद्योगहरूको गुणत्मक विश्लेषणसहित अध्ययन गर्ने सहमतिलगायत महासंघको सचिवालयको पूर्वाधार विकास गर्ने कार्यको थालनीजस्ता विषय नयाँ नेतृत्वको सय दिनको उपलधिका रूपमा रहेको अध्यक्ष गोल्छाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्