खलंगा मेयर कप क्रिकेटमा च्याम्पियन



विनोद सिंह विष्ट, बैतडी ।
बैतडीको दशरथचन्द नगरपालिकामा सम्पन्न चौथो संस्करणको मेयर कप टि ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि वडा नं ४ खलंगाले हात पारेको छ ।
मंगलबार भएको फाइनल भिडन्तमा खलंगाले वडा नं ५ दशरथचन्दलाई ४ रनले स्तब्ध पार्यो । उपाधिसँगै खलंगाले ७५ हजार हात पारेको छ भने दशरथचन्दले ५० हजार चित्त बुझाएको छ ।
खलंगाले दिएको १ सय ३० रनको लक्ष्य पाएको दशरथचन्दले २० ओभर ६ विकेटको क्षतिमा १ सय २५ रन मात्रै बनाउन सक्यो । टिमका जगदीश चन्दले ३५ रनको योगदान गरे पनि उपाधि हात पार्न असफल रह्यो । खलंगाका गोपी नाथले २ विकेट हात पारे ।
त्यसअघि, दशरथचन्द खेलमैदानमा पहिला ब्याटिंग गरेको खलंगाले विक्रम चन्दको ६२ रनको मद्दतमा १ सय २९ रन बनायो । दशरथचन्दका भोज चन्दले ३ विकेट लिए । खलंगाका विक्रम चन्द ‘म्यान अफ द फाइनल’ चुनिए ।
यस्तै, प्रतियोगिताभर १ सय १८ रन र ४ विकेट लिएका वडा नं १० बाराकोटका प्रकाश बुडाल ‘म्यान अफ द सिरिज’ भए । खलंगाका लागि प्रतियोगिताभर १ सय ४० बनाएका राजु भाट बेस्ट ब्याट्सम्यान भए भने वडा नं ३ दुर्गाभवानीका लागि ९ विकेट लिएका जय रावत बेस्ट बलर चुनिए ।

प्रतिक्रिया दिनुहोस्