बंगलादेशी मल वीरगन्ज आइपुग्यो



वीरगन्ज, (नेस) । 

नेपाल सरकारले बंगलादेशबाट ल्याउने भनिएको युरिया मलको पहिलो खेप नेपाल भित्रिएको छ । बिनामध्यस्थकर्ता सरकारले सरकारसँगै खरिद गर्ने प्रक्रिया अर्थात् जी टु जी प्रक्रियाबाट सरकारले बंगलादेशसँग खरिद गरेको ५० हजार मेट्रिक टन युरिया मलमध्ये पहिलो चरणमा २ हजार ५ सय मेट्रिक टन मल वीरगन्जको सुख्खा बन्दरगाहमा आइपुगेको हो ।

कृषि सामग्री संस्थान वीरगन्जका प्रमुख गोरखनाथ केसीले बंगलादेशको कर्णाफुल्लीबाट लिफ्टिङ २२ हजार ५ सय मेट्रिकटन मल नेपालको लागि पठाइसकिएको जानकारी दिँदै बाँकी मल पनि छिट्टै ल्याउने तयारी भएको बताउनुभयो । गत सिजनमा भएको रासायनिक मलको अभावलाई मध्यनजर गरी यस वर्ष कृषि सामग्री कम्पनीले थप १ लाख २० हजार मेट्रिकटन युरिया मल पनि चैतभित्रमा नै नेपाल ल्याइपु¥याउने गरी खरिद गरिसकेको छ ।

गत फागुनमा प्रधानमन्त्री केपी ओली र बंगलादेशका प्रधानमन्त्री शेख हसिनाबीच टेलिफोन वार्ता भएयता विभिन्न चरणमा छलफल भई गत मंसिरमा मन्त्रिपरिष्दले बंगलादेशसँग ५० हजार मेट्रिकटन युरिया मल जी टु जी प्रक्रियाबाट खरिद गर्ने निर्णय गरेको हो । सोही निर्णयअनुसार गत पुस २ गते कृषि सामग्री र बंगलादेशी कम्पनी बंगलादेश केमिकल इन्डस्ट्रिज प्राइभेट लिमिटेडसँग मल खरिद बिक्रीसम्बन्धी सम्झौता भएको हो ।यसैगरी चीनबाट ५० हजार मेट्रिक टन डीएपी मल पनि भित्रिसकेको छ । यसपालि खेतीको मौसममा किसानले पोहोरको जस्तै मलको अभाव बेहोर्नुनपर्ने सरकारी अधिकारीहरूको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्