टिकटक र कविता वाचनले निराशा हटायो



काठमाडौं, (नेस) ।

नेपाल क्यान्सर सहयोग समूहकी संयोजक स्वरुपा श्रेष्ठले टिकटक तथा कविता लेखन तथा वाचन प्रतियोगिताले कोरोना महामारीले समाजमा ल्याइदिएको निराशापनलाई र निरसतालाई निकै हदसम्म कम गरेको कुरा दाबी गर्नुभएको छ ।उहाँले सो कुरा नेपाल क्यान्सर सहयोग समूहको आयोजना तथा नेपाल क्यान्सर अस्पताल एन्ड रिसर्च सेन्टर हरिसिद्धि र उपचारका लागि सहयोगी हातहरुको सहयोगमा आयोजित ‘सुदिप्त क्यान्सर सर्भाइभर मिट–२१’ कार्यक्रममा विजयी महिलाहरुलाई पुरस्कार वितरण तथा सम्मान गर्दै बताउनुभएको हो ।

टिकटक र कविता लेखन तथा वाचन प्रतियोगिताका विजयी क्यान्सर जितेका महिलाहरुलाई १११औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर सोमबार ललितपुरको झम्सिखेलमा एक कार्यक्रमको आयोजना गरी पुरस्कृत एवम् सम्मानित गरिएको थियो ।श्रेष्ठले कविता प्रतियोगिताकी निर्णायक मण्डलका सदस्य कवयित्री शान्ति शर्मा तथा कविता र टिकटक प्रतियोेगिताका निर्णायक मण्डलका अर्का सदस्य कवि दीपक यात्रीलाई पनि सम्मान गर्नुभयो ।यसैगरी सेलिबे्रटी क्यान्सर विजेता डली गुरुङले आपूुले नेपाल क्यान्सर हस्पिटलको प्रांगणमा एउटा विजयी घण्टी सौजन्य स्वरुप दिएको र हरेक क्यान्सर बिरामीको उपचारपछि उहाँहरुले उक्त बिजयी घण्टी बजाई आफु क्यान्सरमुक्त भएको उद्घोष गर्दै उपचाररत अरु क्यान्सर विरामीको हौसला बढाईदिन पनि अनुरोध गर्नुभयो ।

क्यान्सर विजेता इन्दिरा प्रधानाङ्गले नृत्य गर्नुका साथै योगा प्रशिक्षक सिमन न्यौपानेले हौसला र हाँसोको महत्वको बारेमा बोलेको सो कार्यक्रममा क्यान्सर विजेता बबि शाक्य, तारा अमात्य र सुनिता तुलाधरले आआफ्नो अनुभव सुनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्