नेवारी संस्कृतिमा महादेवको महिमा



प्रेममान डंगोल

नेवारी संस्कृति र परम्परामा महादेवको ठूलो महिमा छ । नेवारी समाजमा भएको धर्म, संस्कृति, लोक परम्परा, लोक धारणा र लोक विश्वासअनुसार धेरै नै सांस्कृतिक विशेषताले भरिएको महादेवको महिमा पनि अत्यन्तै छ । यसै सन्दर्भमा देवाधिदेव महादेव पशुपतिनाथको महत्व र महिमा नेवारी संस्कृतिमा अत्यन्तै महत्वले भरिएको देखिन्छ ।परापूर्वकालदेखि नेवारी संस्कृतिअनुसार मनाई आइरहेको शिवरात्रिको ठूलो महत्व छ । बेलको रुखमा बास बसेका व्याधालाई दर्शन दिएको कथालाई सम्झँदै महादेवको महिमा गुणगान गर्ने, त्यस्तै शिवरात्रिका दिन नेवार बालबालिकाले गाउने एउटा बाललोकगीत पनि उल्लेखनीय छ । उक्त बालगीतको एक टुक्रा भाग यस्तो छ– ‘सिलाचा च्वनेयात सिँ निका हिँ, मबिउसा खवो सिँ तये, सिलाचा पनेयात सिँ निका हिँ, महाद्यःया चिकुल, मबिइसा खवो स्वहायेका यने …..।’

यसरी बाललोकगीत गाउँदै शिवरात्रिमा केटाकेटीहरूले घरैपिच्छे दाउरा माग्न जान्छन् । त्यस समयमा काठमाडौं उपत्यकामा अहिलेको जस्तो नयाँ–नयाँ आधुनिक घरहरू थिएनन् । जता हेरे पनि पुराना घरहरू मात्रै थिए ।अनिघर–घरका मूल ढोकामा आग्लो लगाइएको हुन्थ्यो । त्यस बेलाका केटाकेटीहरूले शिवरात्रि बस्न दाउरा देऊ, दाउरा नदिए आग्लो झिकेर लान्छौं, दाउरा नदिए आग्लो नै बालिदिन्छौं भनी गीत गाउँदै दाउरा माग्ने गर्थे । महादेवलाई ‘चिकुल धायां सिँ हजि धाधां’ अर्थात् महादेवलाई जाडो भयो दाउरा देऊ भन्दै गाइने यो बाल–लोकगीत धेरै नै पुरानो हो । यसको उत्पत्ति कहिले भयो र महादेवको नाम लिँदै रातमा दाउरा बालेर जाग्राम बस्न दाउरा माग्ने चलन कहिलेदेखि शुरु भएको हो ? यो थाहा पाउन गाह्रो छ । तर यो नेवारी समाजमा परापूर्वकालदेखि चल्दै आइरहेको लोकजीवनको नैसर्गिकरूपले सुरक्षित हुँदै आइरहेको धेरै पुरानो प्रमाण हो ।अब यो गीतमा भएको ‘सिलाचा’ शब्दलाई केलाउने हो भने यसमा नेवारहरूको मातृभाषामा लोकमान्यता भएको तथ्य उजागर हुन्छ । जस्तै कि नेपालभाषामा ‘शिव’लाई ‘सि’ मात्र भन्ने गरियो । ‘शिव’ शब्दको दुईवटा शब्दको अपभ्रंश भई आएको पहिलो एउटा अक्षर ‘सि’लाई मात्र प्रयोग गरेर छोट्याइएको हो ।

त्यसरी नै सिलाचा र सिलाचःह्रे भन्दा ‘सि’को अर्थ ‘शिव’ अनि ‘ला’ को अर्थ महिना अनि ‘चःह्रे’ को अर्थ चतुर्दशी हुन्छ भने ‘चा’को अर्थ रात्रि हुन्छ । त्यस्तै महादेवको महिना माघ–फागुनलाई नेपालभाषामा सिला (सिल्ला) माघ शुक्ललाई सिल्लाथ्व, फागुन कृष्णलाई सिल्लागा भनिन्छ । यसरी नै स्वस्थानी व्रत समापन हुने पूर्णिमालाई पनि ‘सि पुन्ही’ भनिन्छ । यति मात्र होइन, महादेवको महिमा भएको पहाडको चुचुरोलाई ‘सि पुच्व’ (शिवको जलाधार भएको पहाडको चुचुरो) अर्थात् शिवपुरी डाँडा, शिवको रूप देखिने पोखरी गोसाइँकुण्डलाई ‘सिलु’ भनिन्छ भने गोसाइँकुण्ड जाने बेलामा गाउने लोकगीतलाई सिलु गीत भनिन्छ ।नेवारी लोक परम्परामा महादेवको धेरै नै प्रभाव देखिन्छ । माघ महिनामा माधव नारायण मेला जाने बेलामा पनि महादेवको नाम लिँदै, गीत गाउँदै हिँड्छन् । जस्तै कि हरि शिव शंकर, हर महादेव माधव सुमरण पाप हरे ….. ।

नेवार जातको कपाली, दर्शनधारी वा जोगीहरूले पनि जामा पहिरिएर, हारमाला, रुद्राक्ष माला लगाएर, शरीरमा विभूति खरानी घसेर, देब्रे हातमा त्रिशूल लिएर, दाहिने हातले डमरु बजाउँदै महादेवको भेष लिएर घर–घरमै भिक्षा माग्न जान्छन् । यसलाई स्वस्थानीको कथामा वर्णित गोमालाई महादेवले डमरु बजाउँदै भिक्षाटन गर्न जाँदा तुरुन्तै भिक्षा नदिएकाले सराप दिएको सन्दर्भलाई लिएर पनि हेर्ने गरिन्छ । यसैले महादेवका रूपधारण गरेर भिक्षाटन गर्ने जोगीलाई अलिकति पनि नपर्खाई तुरुन्तै भिक्षा दिएर पठाउने चलन रहेको हो । यसरी नेवार जोगी (संन्यासी) ले महादेवको रूप लिई भिक्षाटन गर्दैै हिँडेको प्रसंगलाई महादेवले वृन्दाको घरमा गई भिक्षा मागेको सन्दर्भलाई पनि लिने गरिन्छ ।
रोपाईंको बेलामा पनि वर्षा नभई हाहाकार भयो भने किसानहरूले महादेवको शिरमा गंगा नै बसिरहेको र भगीरथ राजाको कथाको सन्दर्भ सम्झेर यताउता घुम्दै पानी माग्न जाने बेलामा संयुक्तरूपमा यसरी लोकगीत गाउने गरिन्छ– ‘हरहर महाद्यः वा वये द्यः ।’ अर्थात् हरहर महादेव पानी पार्ने देवता….।’

नेवारी समाजमा महादेवको अर्को चर्चित नाम लुकुमहाद्यः पनि हो । वर्षमा एकपटक पाहाँचह्रे (पिशाच चतुर्दशी) का दिन टोल–टोलका चोकमा वा दोबाटोमा खाल्डोमा पुरी राखेका महादेव (शिवलिंग) लाई माटो र ढुंगा झिकेर शिवलिंग देख्नेबित्तिकै पूजा गर्दछन् । यसरी लुकुमहाद्यःको पूजा गर्दा चाँदीको पूmल र सुनको पूmल भनेर सेतो र पहेँलो पूmल राखी समय्बजिसँगै जाँडरक्सी पनि चढाउने गरिन्छ । यसरी पूmल चढाउँदा सुनको फूल भनेर तोरीको पूmल र चाँदीको फूल भनेर मूलाको फूल चढाइने हो । लुकुमहादेवको पूजा गर्दा दियो बालेर सिन्हःम्वय् (गाजल पार्ने साधन) मा गाजल पारिन्छ । उक्त गाजल लगाउनाले वर्ष दिनसम्म आँखा दुख्दैन भन्ने जनविश्वास छ । यसरी नेवारहरूले लुकुमहादेवलाई पूजा गर्दा शनिले छोला भनेर लुकिरहेका महादेवलाई पूजा गरिने हो । यसरी नेवारी लोक परम्परा र रीतिथितिअनुसार संस्कृति चल्दै आइरहेको देखिन्छ ।

त्यस्तै नेवारी समाजमा महादेवको अर्को चर्चित रूप छ, त्यो हो नासद्यः नाट्येश्वर । महादेवले नाट्येश्वरको रूप लिएर सबैभन्दा पहिला प्रकट हुनुभएको स्थान कविलास हो । कविलास पहाडको भीरमा भएका नाट्येश्वरलाई नै सबैभन्दा पहिला गल्को पाखामा तानेर ल्याइएको हो भनिन्छ । त्यसपछि ठँहिटी, बांगेमुढा र जोशी देवलका विभिन्न स्थानमा नाट्येश्वर स्थापना गरिएको हो भनिन्छ । काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न स्थानमा रहेका नाट्येश्वरहरू कविलासबाटै साधना गरी तानेर ल्याइएका हुन् भनिन्छ ।एउटा भनाइअनुसार नाट्येश्वरले गीत सिकाउँदा भीमसेन रिसाएकाले नाट्येश्वर डराई भाग्दै जाँदा एक ठाउँमा भित्ताको प्वालमा पसेर लुकेकाले त्यही भित्ताको प्वालमा नाट्येश्वरको पूजा गर्दै आइरहेको हो भनिन्छ । नाट्येश्वरलाई नृत्यनाथ पनि भन्ने गरिन्छ । गीत, वाद्य, संगीत, नाच, शिल्पकला आदि सिक्न र सिकाउन नेवारहरूले नाट्येश्वरलाई समय्बजि, जाँडरक्सीका साथै बोका वा राँगाको बलि दिएर पूजा गर्ने गर्छन् । महादेव नाट्येश्वरको रूपमा नेवारी संस्कृतिमा जीवन्त भई आएको छ ।

संगीत, वाद्यवादन, गीत, नाच सिक्न वा सिकाउन वा सांस्कृतिक कार्यक्रम सञ्चालन गर्नुपरेमा पनि नेवारहरूले सबैभन्दा पहिला नाट्येश्वरको पूजा गर्छन् । अनि नाट्येश्वरको गीत मंगलाचरणको रूपमा यसरी गीत गाउने गरिन्छ– ‘जय नृत्यनाथ शंकर जय त्रिभुवननाथ, वसया चरणस शरण बियो जितः बिहु ने नवरस ज्ञान, जय जय नृत्यनाथ देवः ।’परापूर्वकालदेखि यसरी नेवारी धर्म, संस्कृति र परम्परामा महादेवको महिमा चल्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्