कफीमा साङ्लो मिसिने गरेको दाबी



नयाँदिल्ली, (एजेन्सी) । 

बिहान सबेरै कफी नपिइकन दिनको शुरूवात नगर्नेहरूलाई अलि दुःखको खबर बाहिरिएको छ । सूचनामुलक भिडियोमार्फत टिकटकमा लाखौं दर्शक बनाउन सफल डा. करण राजले पहिले नै पिसिएको कफी प्रयोग नगर्न सल्लाह दिएका छन् । करिब १५ लाखभन्दा बढी दर्शकले हेरिसकेको भिडियो क्लिपमा उनले पिनिएको कफीमा कफीसँगै पिनिएको साङलोको अवशेष हुन सक्ने ठूलो सम्भावना रहेको बताएका छन् ।

उनले भनेका छन्, – ‘तपाईंले अधिकांश स्टोरहरूबाट किन्ने धुलो कफीमा साङ्लो पनि मिसिएको हुन सक्छ । किनभने कफीको दानामा साङ्लो र अन्य किरा फटेंग्रा लाग्ने गर्दछन् । प्रायशः तिनीहरूलाई राम्ररी केलाइँदैनन् । र कफीको दाना सँगसँगै तिनीहरू पनि पिसिन्छन् । अधिकांश खाद्यान्न निकायहरूले समेत हाम्रो खानामा केही निश्चित प्रतिशत किराको अवशेषलाई अनुमति प्रदान गर्ने गरेका छन् ।’यसैगरी, उनले यस्तो कफीको पनि अलिकति समर्थन गर्दै भनेका छन्, – ‘साङलोमा निकै प्रोटिन हुन्छ । तर, तपाईंलाई साङलोको एलर्जी छ भने पिनेको कफीबाट टाढै रहनुहोस् ।

सन् २००९ मा अमेरिकामा त्रुटिवश कफीमा १० प्रतिशतसम्म साङ्लोलगायत अन्य किरा मिसिए पनि छुट दिने नीति लिइएको थियो ।’ उनको यस विवादास्पद भिडियोमा दर्शकहरूले मिश्रित प्रतिक्रिया दिएका छन् । अहिलेको आधुनिक जमानामा आर्थिक दृष्टिकोणले अलि हुनेखाने माझ चियाभन्दा कफी पिउने र पिलाउने प्रचलन शानदार शौखको रूपमा विकसित हुँदै गइरहेको समाज शास्त्रीहरू बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्