समर्थन फिर्ता लिने विषयमा माओवादी केन्द्र अनिर्णित



कठमाडौं, (नेस) ।

सरकारलाई दिएको समर्थन फिर्ता लिने विषयमा छलफल गर्न पार्टी ब्युँतिएपछि पहिलोपटक बसेको नेकपा माओवादी केन्द्रको बैठक अनिर्णित बनेको छ । माओवादीले सरकार र सदन सञ्चालनबारे प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टी नेपालसँग छलफल गर्ने भएको छ ।

बैठकले सरकार गठनका लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई दिएको समर्थन फिर्ता गर्ने निर्णय तत्काल नगर्ने भएको छ ।
मंगलबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकको निर्णयबारे जानकारी दिँदै माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले नयाँ परिस्थितिबारे नेकपा एमालेसँग पनि छलफल जारी राखिने बताउनुभयो । उहाँले अहिले नै समर्थन फिर्ता लिनेबारे भने कुनै निर्णय नभएको जानकारी दिनुभयो ।

‘एमालेसँग पनि छलफल जारी राखेका छौं । तर, अहिले मुख्य जोड नेपाली कांग्रेस र जसपासँगको छलफल गर्ने निष्कर्ष निकालेका छांैं।’ –प्रवक्ता श्रेष्ठले भन्नुभयो । बैठकले फागुन २९ गते केन्द्रीय कमिटी बैठक तथा चैत १ गते प्रशिक्षण भेला बोलाउने पनि निर्णय गरेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्