महिला शान्ति र सुरक्षा कार्यक्रमबारे छलफल



घोराही (नेस) ।

नेपाल महिला सामुदायिक सेवा केन्द्र दाङ र नागरिक आवाज ललितपुरको सहकार्यमा दाङ जिल्लामा सञ्चालन भएको महिला शान्ति सुरक्षा कार्यक्रमबारे अभिमुखीकरण कार्यक्रम आइतबार घोराहीमा सम्पन्न भएको छ । द्वन्दपिडीत महिलाहरूका लागि सञ्चालित ‘महिला शान्ति र सुरक्षा’ कार्यक्रमबारे जिल्लाका सरोकारवालाहरूसँग अभिमुखीकरण गरिएको हो ।

नेपाल महिला सामुदायिक सेवा केन्द्रका अध्यक्ष कल्पना न्यौपानेको अध्यक्षता एवं जिल्ला समन्वयव समितिका संयोजक जितेन्द्रमान नेपालीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नेपाल महिला सामुदायिक सेवा केन्द्रको परिचय र संस्थागत क्रियाकलापबारे संस्थाका मुख्य व्यवस्थापक पवन योगीले जानकारी गराउनुभएको थियो ।कार्यक्रममा सन् २०२० मा गरिएका क्रियाकलापकहरूको समीक्षा गरिएको थियो भने सन् २०२१ र २०२२ मा हुने क्रियाकलापबारे महिला शान्ति र सुरक्षा कार्यक्रम प्रमुख रमेश केसीले जानकारी गराउनुभएको थियो ।कार्यक्रम अन्तरगत घोराहीमा शान्ति केन्द्र स्थापना गरेर द्वन्दपिडीत एवं अन्य महिलाहरूलाई नियमीत मनोविमर्श सेवा प्रदान गरिएको कार्यक्रममा जानकारी गराइएको थियो ।

सन् २०२० मा दाङमा २५ जना द्वन्दपिडीत महिलाहरू कार्यक्रममा आबद्ध भएको र उनीहरूलाई नियमीत मनोविमर्श सेवाका साथै मानसिक र शारिरिक उपचारमा सहयोग गरिएको छ । नियमित पीस सर्कलमा सहभागी भएर महिलाहरूले आफ्नो कथा अनुभव आदान–प्रदानसँगै मनोसामाजिक सेवाबाट उनीहरूको सोचाई, व्यवहार, धारणा र शारिरिक प्रतिक्रीयामा परिवर्तन आएको कार्यक्रम प्रमुख केसीले जानकारी दिनुभयो ।यस्तै, १५ जनालाई मानसिक रोग विशषज्ञबाट चेकजाँच गरि औषधि उपचारमा सहयोग र ४ जना महिलाहरूलाई प्रजनन स्वास्थ्यमा सहयोग गरिएको छ । उपचारपश्चात् केही पूर्णरूपमा सञ्चो भएको र अन्यको अवस्था सुधारोन्मुख रहेको उहयाँले जानकारी दिनुभयो ।गत वर्ष दाङका २२ जना महिलाहरूलाई विभिन्न व्यवसायीक तालिमहरू प्रदान गरिएको र उनीहरूमध्य धेरैले व्यवसाय सुरु गरिसकेको कार्यक्रममा जानकारी गराइएको थियो ।

कार्यक्रमले लक्षित गरेका महिलाहरूको ७ जना बालबालिकाहरूको शिक्षामा सहयोग गरिएको र दुई जना महिलाहरूको घर निर्माणमा आर्थिक सहयोग गरिएको छ । यसैगरी एक वर्षको अवधिमा शारिरिक समस्या जस्तै मानसिक समस्याबारे सबै जानकार हुन आवश्यक रहेकाले मनोसामाजिक सचेतना कार्यक्रमहरू सञ्चालन गरिएको कार्यक्रमका मनोसामाजिक मनोविमर्शकर्ता लक्ष्मी ढकालले जानकारी दिनुभयो ।कार्यक्रममा बोल्ने वक्ताहरूले द्वन्दको समयमा महिलाहरूले पुरुषहरूको भन्दा धेरै पीडा भोगेको र सोही पीडाका कारण अझै पनि मानसिक समस्या भोगिरहेकाले उनीहरूको स्वास्थ्यमा केन्द्रित यो कार्यक्रमले महिलाहरूको स्वास्थ्य र आर्थिक सशक्तीकरणमा उल्लेख्य काम गरेकाले यसलाई निरन्तरता दिन अनुरोध गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका संयोजक सजतेन्द्रमान नेपालीले राज्य र संस्था मिलेर द्वन्दपीडीतहरूको समस्या समाधानका लागि लाग्नुपर्ने बताउनुभयो । नितिमा धेरै कानुन बनेपछि त्यसको कार्यान्वयनका लागि सबै गम्भीर बनेर लाग्नुपर्ने बताउनुभयो ।राज्यलाई समृद्ध नेपाल बनाउन द्वन्द्वपीडीत महिलाहरूलाई मल्हमपट्टि लगाउनका लागि स्थानीय सरकार र गैरसरकारी संस्थाहरू हातेमालो गरेर अगाडि बढ्न आवश्यक रहेको उहाँको भनाइ थियो ।
घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले सरकारलाई सहयोग पुग्नेगरी महिला शान्ति र सुरक्षा कार्यक्रमले काम गरिरहेको बताउनुभयो । साथै,महिलाहरूको जीविकोपार्जनका लागि उदाहरणीय कार्य नेपाल महिला सामुदायिक सेवा केन्द्रले गरिरहेकोमा प्रशंसा व्यक्त गर्नुभयो ।

दंगीशरण गाँउँपालिकाका अध्यक्ष भागिराम चौधरीले द्वन्द्वपीडीतहरूका तथ्यांक लिएर कार्ययोजना तयार गरी काम गर्ने तयारीमा रहेको बताउनुभयो । शान्तिको क्षेत्रमा काम गर्ने संघसंस्थाहरूसँगको समन्वयमा काम गर्ने उयाँले जानकारी गराउनुभयो ।जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मुकुन्दप्रसाद रिजालले महिलाहरूको सुरक्षाको क्षेत्र आइपर्ने समस्या समाधानका लागि नेपाल प्रहरी सधैँ तयार रहेको बताउनुभयो । सुरक्षा र न्यायको विषयमा सहकार्य गरेर अगाडि बढ्न उहाँले अनुरोध पनि गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्